वीरगञ्जमा नवप्रवेशीको टिकट पक्का, पुराना लबिइङमा
वीरगञ्ज महानगरपालिकाको मेयरका लागि नयाँ प्रवेश गरेका नेताले टिकट पक्का गरेका छन् भने पुराना नेता लबिइङमा लागेका छन्।
जनता समाजवादी पार्टी (जसपा) नेपाल त्यागेर नेकपा (एमाले) मा प्रवेश गरेका विजय सरावगीले मेयरको टिकट पाउने भएका छन्। एमाले महानगर कमिटीले उनको नाम सिफारिश गरिसकेको छ। उनी वीरगञ्जका मेयर हुन्। केही महीनाअघि मात्रै एमालेमा प्रवेश गरेका थिए।
वीरगञ्जमा जित हासिल गर्न तालमेलको प्रयास भइरहेको सरावगीले बताए। स्थानीय स्तरमा लोकतान्त्रिक समाजवादी (लोसपा) र राप्रपा नेपालसँग चुनावी तालमेलका लागि गृहकार्य भइरहेको उनको भनाइ छ।
अन्य दलसँग तालमेल नभए पनि आफूले चुनाव जित्ने उनको दाबी छ। “पहिलो कार्यकालमा विकास निर्माणका काम गरेको छु। मैले गरेका काम र भावी योजना लिएर जनतामा जान्छु,” सरावगीले हिमालखबरसँग भने, “जनताले विकास रोज्छन् भन्ने विश्वास छ।”
त्यस्तै, जसपाबाट राजेशमान सिंह उम्मेदवार बन्ने भएका छन्। सरावगी एमालेमा प्रवेश गरेपछि जसपाले उनलाई भित्र्याएको थियो। उनी गत निर्वाचनमा तत्कालीन राजपाबाट मेयरको उम्मेदवार बनेका थिए।
उनलाई मेयरको उम्मेदवार बनाउने तयारी सहित जसपामा ल्याइएको थियो। जसपा अध्यक्ष उपेन्द्र यादव र मधेश प्रदेशका मुख्य मन्त्री लालबाबु राउतले सार्वजनिक कार्यक्रममा सिंह नै मेयरको उम्मेदवार भएको बताउँदै आएका छन्।
सिंहले मेयर सरावगी विरुद्ध अभियान नै चलाएका छन्। मेयर सरावगीले भ्रष्टचार गरेको उनको आरोप छ। “म मेयरमा निर्वाचत भएमा सरावगीलाई भ्रष्टाचारको मुद्दामा जेल हाल्छु,” उनले हिमालखबरसँग भने, “वीरगञ्ज महानगरमा पाँच वर्षमा भएको भ्रष्टाचारको मुद्दा बोकेरै चुनावी अभियानमा लागेको छु।”
सिंह जसपामा गएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अवस्था कमजोर देखिएको छ। अन्य दलसँग गठबन्धन नभएमा पुरुषोत्तम झालाई मेयरको उम्मेदवार बनाउने लोसपाको तयारी छ। एमालेसँग तालमेल भएमा रम्भा मिश्रलाई उपमेयरमा उम्मेदवार बनाउने लोसपा नेताहरू बताउँछन्।
लोसपाका नगर अध्यक्ष ओमप्रकाश सराफले पनि सत्तारूढ दलको निर्णयलाई पर्खिरहेको बताए। सत्तारूढ दलसँग सहमति नभए एमालेसँग तालमेल गर्ने लोसपाको तयारी छ।
नेपाली कांग्रेसबाट वीरगञ्जको मेयरका लागि राजेन्द्रबाबु अमात्य र अजय द्विवेदी दाबेदार रहेका छन्। कांग्रेस पर्साका नेताहरू गठनबन्धन गर्न नहुने पक्षमा देखिएका छन्। गठबन्धन गर्दा जसपालाई मेयर दिनुपर्ने भएकाले एक्लै लड्नुपर्ने पक्षमा छन्।
कांग्रेसका पर्सा सभापति जर्नादनसिंह क्षेत्रीले केन्द्रलाई गठबन्धन नगर्न सुझाएको बताए। वीरगञ्जमा कांग्रेसलाई गठबन्धनको आवश्यकता नरहेको उनको भनाइ छ । “जनताको बीचमा गएर कांग्रेसले के के काम गर्न सक्छ, वीरगञ्जको विकासको मोडेलको विषयमा जानकारी गराउँछौं,” उनले भने, “जनताले विकास चाहेका छन्, त्यस कारण कांग्रेसलाई रुचाउँछन्।”
नेकपा (माओवादी केन्द्र) ले उम्मेदवारको टुङ्गो लगाएको छैन। माओवादीभित्र आन्तरिक विवाद बढेको छ। गत निर्वाचनमा मेयरको उम्मेदवार बनेका रहबर अन्सारीलाई माओवादी जिल्ला कमिटीले निष्कासन गरेको छ।
वीरगञ्जमा एक लाख २४ हजार ६४७ मतदाता छन्। जसमा पुरुष ७० हजार ८१०, महिला ५३ हजार ८३३ र अन्य चार जना छन्।
गत निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालका उम्मेदवार सरावगी १९ हजार ३९३ मत लिएर विजयी भएका थिए। दोस्रो नम्बरमा रहेका कांग्रेसका उम्मेदवार अजयकुमार द्विवेदीले १७ हजार १९७ मत पाएका थिए।
त्यस्तै, तत्कालीन राजपा नेपालका उम्मेदवार राजेशमान सिंहले १२ हजार १६५, नेपाल लोकतान्त्रिक फोरमका विमल श्रीवास्तवले आठ हजार ७०१ मत पाएका थिए।
गत निर्वाचनका आधारमा कांग्रेस र जसपा हाराहारीमा छन्। जसपाले मेयर सहित १२ वडाध्यक्ष तथा कांग्रेसले उपमेयर सहित १० वडाध्यक्ष जितेको थियो। उपमेयरमा निर्वाचित कांग्रेसकी शान्ति कार्कीले मेयरको भन्दा बढी मत पाएकी थिइन्। उनले १९ हजार ६०७ मत प्राप्त गरेकी थिइन्।