सगरमाथा चढ्दै ३१ देशका २५० आरोही
वसन्त याममा ३१ देशका २५० आरोहीले सगरमाथा आरोहण गर्ने भएका छन्। उनीहरू अनुमति लिएर काठमाडौंबाट सगरमाथातिर लागेका छन्।
हरेक वर्ष यस याममा सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मिटर) सहितका हिमाल आरोहणका लागि उल्लेख्य सङ्ख्यामा स्वदेशी तथा विदेशी आरोही आउँछन्। कोभिड–१९ महामारीपछि बिस्तारै पर्यटन क्षेत्र तङ्ग्रिने क्रममा छ। पर्यटनको महत्त्वपूर्ण पाटोका रूपमा रहेको पर्वतारोहणमा पनि केही उत्साह देखिएको छ।
पर्यटन विभागका अनुसार, सगरमाथा सहितका विभिन्न १९ हिमाल आरोहणका लागि नेपाल सहित ६५ देशका आरोही अनुमति लिएर गन्तव्यतिर गएका छन्। तीमध्ये सगरमाथा आरोहणका लागि मात्रै ४५ देशका ५६ पुरुष र १९४ महिला आरोहीले अनुमति लिएका छन्। यसबाट ३१ करोडभन्दा बढी रोयल्टी सङ्कलन भएको छ।
गत वर्ष सन् २०२१ को वसन्त याममा ४३ आरोही समूहले आरोहण अनुमति लिएका थिए। कोभिड–१९ पछि पर्यटन क्षेत्र चलायमान बनिरहेको र पर्वतारोहणका लागि अनुकूल मौसम भएकाले यो वर्ष पनि आरोही बढ्न सक्ने पर्यटन विभागको अनुमान छ।
यसले हिमाल आरोहण क्षेत्रमा निकै उत्साह ल्याएको व्यवसायीको भनाइ छ। नेपाल पर्वतारोहण सङ्घका पूर्व अध्यक्ष एवं वरिष्ठ पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले कोभिड–१९ को कहरपछि बिस्तारै पर्यटनका अन्य क्षेत्र जस्तै पर्वतारोहणमा पनि केही उत्साह थपिएको बताए। “अघिल्ला वर्षहरूको तुलनामा त आरोहीको सङ्ख्या कमै देखिएको छ, तर विदेशी आरोहीको मोह बढ्नु नेपालको पर्यटनका लागि सुखद पक्ष हो। पर्वतारोही बिस्तारै बढिरहेका छन्,” शर्पाले भने।
विभागको पर्वतारोहण शाखाको तथ्याङ्कमा १३ अप्रिलसम्म ८४ आरोहण दलका ६८९ आरोहीलाई अनुमति जारी भएको छ। हिमाल आरोहणबाट हालसम्म ३७ करोड ३८ लाख ५१ हजार ४२१ रोयल्टी उठेको छ।
वसन्त आरोहणका लागि मेसम्म नै पर्वतारोही आउने भएकाले आरोहीको सङ्ख्या बढ्न सक्ने विभागको अनुमान छ। अप्रिल पहिलो सातादेखि मेको अन्तिमसम्म सगरमाथा आरोहण हुन्छ। व्यवसायी शेर्पाका अनुसार, विगतको तुलनामा सगरमाथा आरोहणमा आरोहीको सङ्ख्या घटेको छ।
सन् २०२१ मा ४१२ विदेशी आरोही सगरमाथाको चुचुरोमा पुगेका थिए। अहिलेसम्म करीब आठ हजार आरोहीले सगरमाथा आरोहण गरिसकेका छन्।
सगरमाथापछि माउन्ट ल्होत्से (८५१६ मिटर) आरोहणका लागि नौ समूहका ६४ आरोहीले अनुमति लिएका छन्। अमाडब्लम (६८१४ मिटर) आरोहणका लागि ६ समूहका ६५ आरोहीले अनुमति पाएका छन्। कञ्चनजङ्घा (८५८६ मिटर) आरोहणका लागि पाँच समूहका ६१ आरोहीले अनुमति लिएका छन् भने नुप्से (७८५५ मिटर) आरोहणका लागि पाँच समूहका ३८ आरोहीले अनुमति पाएका छन्।
त्यस्तै, अन्नपूर्ण (८०९१ मिटर) आरोहणका लागि चार समूहका २६, धौलागिरि (८१६७ मिटर) आरोहणका लागि दुई आरोही समूहले अनुमति लिएका छन्। मिलुङ्ग चुलीका लागि दुई, भेम्दोङ्ग, गङ्गापूर्ण र थापा पिकका लागि तीन आरोही समूहले आरोहण अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जनाएको छ। (रासस)