नापतौलमा ठग्ने काठमाडौंका दुई हजार व्यापारी कारबाहीमा
नापतौल गर्ने यन्त्र बिगारेर उपभोक्ता ठग्ने दुई हजार ४४९ जना व्यापारीलाई नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले कारबाही गरेको छ ।
तौलमा घटी बढी गरेर सामान बिक्री वितरण गर्ने व्यापारीलाई कारबाही गरिएको कार्यालय राकेशकुमार झाले बताए ।
उनका अनुसार हरेक वर्ष नापतौलका सामग्री जाँच गराइ नवीकरण गर्नुपर्ने हुन्छ । तर ती व्यापारीले चालू आर्थिक वर्षको हालसम्म यन्त्र जाँच तथा नवीकरण गराएका थिएनन् ।
“त्यसैले नापतौल कार्यालयको मापदण्ड विपरीत काम गर्ने व्यापारीलाई कारबाही गरेका हौं”, उनले भने ।
नेपाल गुणस्तर तथा नापतौल कार्यालय, काठमाडौका अनुसार चालू आर्थिक वर्षमा एक हजार ४३ व्यापारीले नाप्ने तथा तौलने यन्त्रका लागि अनुमतिपत्र प्राप्त गरेका छन् भने ४५ व्यापारीको इजाजतपत्र नवीकरण गरिएको छ ।
तीन हजार ७३४ व्यापारीले नाप्ने तथा तौलने यन्त्र, ४६२ पटक पेट्रोलियम पदार्थ वितरण गर्र्ने पेट्रोल पम्प र ३० पटक पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करलाई जाँच गरेको कार्यालयले जनाएको छ ।
कार्यालयले चालू आवमा नापतौल यन्त्र दर्ता, नवीकरण तथा पेट्रोलपम्प जाँचबाट रु ९२ लाख ७१ हजार ३०३ राजश्व सङ्कलन गरेको छ ।