घोराही उपमहानगरको मेयरमा तीन पार्टीका चार दाबेदार
दाङको घोराही उपमहानगरपालिकाको मेयरका लागि नेकपा (एमाले) बाट दुई जनाको नाम सिफारिश भएको छ भने सत्तारुढ गठबन्धनमा पनि दुई जना दाबेदार देखिएका छन्।
एमाले घोराही नगर कमिटीका अध्यक्ष भुवन चौधरीका अनुसार, मेयरमा पोलिटब्यूरो सदस्य नरुलाल चौधरी र सीता सिग्देल न्यौपानेको नाम सिफारिश गरिएको छ। चौधरी अहिले मेयर छन् भने न्यौपाने उपमेयर हुन्। मेयरमा सिफारिश गरिएका चौधरी एमालेका दाङ इन्चार्ज हुन् भने न्यौपाने केन्द्रीय सदस्य तथा दाङ सहइन्चार्ज हुन्।
आफ्नो कार्यकालमा राम्रो काम गरेकाले जनस्तरबाट पुनः मेयरमा दोहोरिनुपर्ने मत जाहेर भएपछि आफू मेयर बन्न खोजेको उनको भनाइ छ। उपमेयर न्यौपानेले पनि एक कार्यकाल उपमेयर भएर काम गरेकाले अब स्वाभाविक रूपमा मेयरमा दाबी रहेको बताइन्।
त्यस्तै, एमालेले उपमेयरमा पनि दुई जनाको नाम सिफारिश गरेको छ। उपमहानगर कमिटीले हिरा पुन र हुमा डिसीको नाम सिफारिश गरेको हो। पुन एमाले दाङका उपसचिव हुन् भने डिसी लुम्बिनी प्रदेश कमिटी सदस्य एवं अखिल महिला संघ दाङकी अध्यक्ष हुन्।
सत्तारूढ गठबन्धनले पनि उपमहानगरमा मेयरका लागि उम्मेदवार छनोट गर्ने तयारी थालेको छ। अहिले नेपाली कांग्रेसका भूपबहादुर डाँगी र नेकपा (माओवादी केन्द्र) का जीवन गौतमको नाम चर्चामा छ।
गत स्थानीय तहको निर्वाचनमा दोस्रो भएकाले आफ्नो पार्टीले मेयर पाउनुपर्ने कांग्रेसको दाबी छ। डाँगी कांग्रेसबाट सर्वसम्मत उम्मेदवार भइसकेका छन्। उनी २०७४ को चुनावमा पनि उम्मेदवार थिए।
आफू गठबन्धनबाट पनि सर्वसम्मत हुने उनको दाबी छ। “हाम्रो पार्टीबाट म मेयरमा सर्वसम्मत भइसकेको छु,” डाँगीले हिमालखबरसँग भने, “अब माओवादीलाई उपमेयर दिएर गठबन्धन मिलाउने तयारीमा छौं।”
माओवादीले पनि घोराहीको मेयर पाउनुपर्ने दाबी गरिरहेको छ। माओवादी गत निर्वाचनमा तेस्रो भएको थियो। अहिले मेयरका लागि उम्मेदवार सिफारिश भएका गौतम माओवादी दाङका इन्चार्ज हुन्।