सम्यक् खुशीको खोजी
सुख चाहनाको बेहोशीमा दुःखतिरै लम्किरहेका आधुनिक समयका मानिसले इन्द्रियसुख र सम्यक् खुशीको विज्ञान पहिचानबाटै दिगो शान्ति भेट्न सक्छन्।
बेलायती विद्वान् रिचर्ड विल्किन्सनको एक अनुसन्धानले कुनै समुदायभित्र सापेक्षिक गरीबी अर्थात् धनी र गरीबबीचको खाडलले त्यस समुदायको स्वास्थ्य सूचकाङ्कमा नकारात्मक असर पार्ने देखायो। उदार बजार अर्थतन्त्र पक्षधर पश्चिमा विद्वान्ले त्यो अनुसन्धानलाई वामपन्थी सोचबाट प्रभावित भनेर बेवास्ता गर्न खोजे।
तर, त्यसपछि धेरै देशमा दक्षिणपन्थी भनेर चिनिएका अनुसन्धाता लगायतले विभिन्न तरीका अपनाएर गरेका दर्जनौं अनुसन्धानले पनि उही नतीजा देखाएपछि भने सापेक्षिक गरीबीको असरबारे गम्भीर हुन सबैलाई कर लाग्यो।
२५ वर्ष जति अघि विल्किन्सनले केही नेपाली गाउँ समेत घुम्न भ्याएछन्। फर्कने वेला उनलाई लिएर स्वास्थ्य अधिकारका अभियन्ता अमेरिकी चिकित्सक स्टेफेन बेज्रुच्का हामी बसेको डेरामा आए। जनस्वास्थ्यमा चासो राख्ने केही चिकित्सक साथीहरू सँगै बसेर उनका कुरा सुन्न थाल्यौं। नेपालका गाउँ र खास गरी ती गाउँमा बस्ने मानिसका व्यवहारबाट आफू साह्रै प्रभावित भएको उनले बताए।
“कति सहृदयी मानिसहरू! कस्तो खुलापन र उदारता! ‘म आउँछु है’ भन्नु पनि नपर्ने, ढोका ढकढक्याउनसम्म नपर्ने, छिमेकीको दैलो घरक्क उघार्यो, भित्र पसेर अँगेना छेउमा टुसुक्क बस्यो, अनि कुनै भूमिका विना गफ गर्न थाल्यो। भित्र बस्नेले पनि कुनै औपचारिकता निर्वाह गर्नु नपर्ने, खाने-पिउने कुरा जे छ त्यही दिने। न ‘धन्यवाद’ चाहिएको छ, न ‘स्वागत छ’ भन्नुपरेको छ,” रौसिँदै उनले सुनाए।
विल्किन्सनको वर्णन शहरमा बसेका हाम्रा निम्ति रमाइलो र केही नौलो नै थियो। अनि आफ्नो अनुसन्धानबाट प्राप्त तथ्यमा पस्दै उनले भने, “मैले पनि सोच्दै नसोचेको परिणाम निस्केको थियो। धनी-गरीबबीचको खाडल ठूलो हुँदा, त्यही एउटा कारणले नै स्वास्थ्यका सूचकाङ्कमा किन त्यति उल्लेख्य फरक पार्छ, अहिलेसम्म पनि मैले बुझ्न सकेको छैन। निरपेक्ष गरीबीकै रेखामुनि हुने मानिसलाई त यो सापेक्ष गरीबीको खासै मतलब के होला र! तर, खुशी र सुस्वास्थ्यको अन्योन्याश्रित सम्बन्ध हुने भएकाले त्यही खुशी हुन सक्ने क्षमताले गर्दा पनि नेपालीको स्वास्थ्यमा सकारात्मक असर पारेको छ कि?”
आफू खुशी हुन नसक्ने मानिस अरूको खुशीमा सघाउन सक्दैन र अरूलाई खुशी देख्न नचाहने मानिस कहिल्यै खुशी हुन सक्दैन।
खुशी के हो?
‘खुशी’ लाई धेरैले समृद्धिका रूपमा बुझिने भौतिक संसाधन र सुविधासँग जोडेर हेर्ने गर्छन्। तर, ती साधन र सुविधाले मात्र खुशी निर्धारण गर्ने होइन रहेछ, यसका अन्य महत्त्वपूर्ण आयाम हुँदा रहेछन् भनेर बिस्तारै पुनःस्थापित हुँदै छ।
खासमा हजारौं वर्षदेखि प्रायः सबै प्रमुख दार्शनिक परम्परामा स्थापित भइसकेको सत्य हो यो। पूर्वीय दर्शनहरूमा त झन् दुःख र सुखका स्रोत, सुखको प्राप्ति र दुःखबाट मुक्तिका उपाय आदिबारे उहिल्यैदेखि प्राथमिकता पाउँदै आएका छन्।
सुख-दुःखका कुराले यसरी प्राथमिकता पाउनु निश्चय नै अकारण छैन। जन्मेदेखि मृत्यु हुने वेलासम्मका मानिसका हरेक क्षण र गतिविधिलाई नियालेर हेर्ने हो भने सबै एउटै दिशातर्फ उन्मुख भइरहेका देखिन्छन्- सुखको खोजी र दुःखबाट मुक्ति। मानिसका निम्ति जीवनको एउटै उद्देश्य हुन्छ- खुशी हुनु र अरूलाई खुशी हुन सघाउनु। आफू खुशी हुन नसक्ने मानिस अरूको खुशीमा सघाउन सक्दैन र अरूलाई खुशी देख्न नचाहने मानिस कहिल्यै खुशी हुन सक्दैन।
तर, खुशी हो चाहिं के?
मानिसले बोल्ने जुनसुकै भाषामा केही शब्द यस्ता हुन्छन्, जुन उच्चरित हुने बित्तिकै सबैले बुझे जस्तो ठान्छन्। तर, त्यसको अर्थ स्पष्ट रूपमा परिभाषित गर्न त्यति सजिलो हुँदैन। हामीले प्रयोग गरिरहने त्यस्ता केही शब्द हुन्- प्रेम, स्वास्थ्य, जनता, लोकतन्त्र, राम्रो, नराम्रो ... आदि। खुशी पनि यही लाममा पर्ने अर्को शब्द हो, जो सहजै अनुभूति त हुन्छ, तर त्यत्तिकै सहजताका साथ परिभाषित गर्न भने सकिन्न।
व्यावहारिक प्रयोगका लागि चाहिं- कसैलाई तत्क्षणको अनुभूति प्रिय लागिरहेको छ र आफू अवस्थित परिस्थितिबाट तत्कालै निस्किहाल्नुपर्ने हतारो भइरहेको छैन भने त्यो अनुभूति नै खुशी हो भन्न सकिन्छ। खुशीको त्यो क्षण कति लामो वा छोटो हुन्छ, त्यो तृष्णाको कारण बन्छ कि तृप्तिको, मनलाई उद्वेलित गराउँछ कि शान्त भन्ने आधारमा त्यो खुशीको वर्गीकरण सम्भव हुन्छ।
सम्यक् खुशी लामो समय रहन्छ, इन्द्रियसुख छोटो। सम्यक् खुशी अवर्णनीय हुन्छ, इन्द्रियसुख शारीरिक।
खुशीको वर्गीकरण
खुशीको सैद्धान्तिक परिभाषामा धेरै माथापच्ची नगरी यसको व्यावहारिक पक्षका मात्रै कुरा गर्दा दुई अवधारणाको सहारा लिनुपर्ने हुन्छ। खुशीको सापेक्षिकता र खुशीका प्रकार। हरेक व्यक्तिका निम्ति खुशीका कारण वा खुशीका मुहान फरक हुन सक्छन्। एउटै परिस्थितिले हरेक व्यक्तिलाई दिने खुशीको मात्रा पनि फरक हुन सक्छ। सापेक्षिकतामा नै रहेर हेर्दा खुशी धेरै प्रकारका हुन्छन्। तर, खुशीलाई सामान्यतया दुई प्रमुख वर्गमा बाँड्ने गरिन्छ- ‘हेडोनिक’ (वासनाप्रधान) र ‘युडेमोनिक’ (सम्यक् खुशी)।
भौतिक संसाधनको प्राचुर्य र इन्द्रियसुखमा आधारित, अरूसँगको प्रतिस्पर्धा र तुलनामा आकलन हुने, अहङ्कारको तुष्टि गर्ने किसिमको खुशी वासनाप्रधान हो भने करुणा, प्रेम, सिर्जना, कसैसँग तुलना नगरी वा प्रतिस्पर्धा नगरी आफैंभित्र सिर्जना र अनुभूति हुने खुशी सम्यक् खुशी हो। वासनाप्रधान खुशी कुनै न कुनै रूपमा इन्द्रियसुख (‘प्लेजर’) मा आधारित हुने हुनाले इन्द्रियसुखलाई वासनाप्रधानता (हेडोनिया) कै पर्यायका रूपमा लिन पनि सकिन्छ।
डा. रबर्ट लस्टिगले इन्द्रियसुख र सम्यक् खुशीलाई तुलना गर्दा सात भिन्नता औंल्याएका छन्। सम्यक् खुशी लामो समय रहन्छ, इन्द्रियसुख छोटो। सम्यक् खुशी अवर्णनीय हुन्छ, इन्द्रियसुख शारीरिक। सम्यक् खुशी दिनुमा प्राप्त हुन्छ, इन्द्रियसुख लिनुमा। सम्यक् खुसी कुनै बाहिरी व्यसनबाट प्राप्त हुँदैन, इन्द्रियसुख दुर्व्यसनबाट क्षणिक रूपमा प्राप्त हुन सक्छ। इन्द्रियसुख एक्लैलाई हुन्छ, सम्यक् खुशी समूहमा अनुभूति र विस्तारित हुन्छ। इन्द्रियसुख धेरै हुँदा दुर्व्यसनमा परिणत हुन सक्छ, तर सम्यक् खुशी जतिसुकै भए पनि दुर्व्यसन बन्दैन। इन्द्रियसुख डोपामिन रसायनसँग जोडिएको हुन्छ भने सम्यक् खुशी सेरोटोनिनसँग।
खुशीको विज्ञान
डोपामिन, सेरोटोनिन लगायत न्यूरोट्रान्समिटरबारे केही थाहा नभए पनि सहस्राब्दियौंदेखि बुद्धका शिक्षा मानेर उनैका पदचाप पछ्याउँदै हिंडेका बौद्ध गुरुले आफ्नै किसिमले दुःख-सुखको मनोविज्ञानलाई अत्यन्त गहिराइमा बुझेका थिए। आर्य शान्तिदेवले लेखेका छन्-
दुःखमेवाभिधावन्ति दुःखनिस्सरणाशयाः
सुखेचछ्यैव सम्मोहात् स्वसुखं घ्नन्ति शत्रुवत्।।
अर्थात्, दुःखबाट छुटकारा वा सुख पाउन भनेर मानिस दुःखतिरै दौडिरहेका हुन्छन्, सुख चाहनाको बेहोशीमा आफ्नै सुखलाई शत्रुलाई झैं नष्ट गरिरहेका हुन्छन्। वासनाजन्य खुशी वा इन्द्रियसुखसँग जोडिएको डोपामिनले ठ्याक्कै यही गराउँछ। डा. लस्टिगले आफ्नो पुस्तक द ह्याकिङ अफ दी अमेरिकन माइन्डमा विस्तारमा बताएका छन्, कसरी डोपामिनले न्यूरोन (स्नायुकोषिका) हरूलाई उद्वेलित गराएर तात्कालिक सुखानुभूति सिर्जना गर्छ, अनि त्यो उद्वेलनको कुप्रभावबाट जोगिन स्नायुकोषिकाहरूले आफ्नो खोलमा भएका ‘रिसेप्टर’ निभाउन थाल्छन् भनेर। यो प्रक्रिया लगभग ‘नेपाल बन्द’ का बेला ढुङ्गामुढा हुन थालेपछि पसलेहरूले हत्तपत्त झ्याल-ढोका बन्द गरे जस्तो हुन्छ।
धनाढ्यको धनमोह, नेताहरूको सत्तामोह, संस्थाका हाकिमहरूको कुर्सीमोह, सेलेब्रिटीको तस्वीरमोह मात्र हैन, सामाजिक सञ्जालमा रमाउन थालेपछि हुने ‘लाइक’ र ‘फलोअर’ मोह पनि राम्रोसँग हेर्ने हो भने दुर्व्यसनकै विभिन्न प्रकार जस्ता देखिन्छन्।
उद्वेलनको सङ्केत मस्तिष्कको ‘स्याबासी केन्द्र’ मा पुगेपछि भने इन्द्रियसुखको माग तत्कालै बढ्छ, तर त्यति नै ‘मज्जा’ प्राप्त गर्न अझ धेरै डोपामिनको उद्वेलन चाहिन्छ। स्नायुकोषिकाहरू आफ्नो ‘झ्यालढोका’ बन्द गर्दै जाने, ‘स्याबासी केन्द्र’ मा भने ‘मस्ती’ को माग बढ्दै जाने, अनि डोपामिनको उत्सर्जन र गतिविधि झनै बढ्ने यो कुचक्र अन्ततः उद्वेलित स्नायुकोषिकाको मृत्युमा टुङ्गिन सक्छ। जति धेरै स्नायुकोषिका मर्छन्, मानिस चिन्ता र विषाद (डिप्रेशन) को अँध्यारो खाडलमा खस्ने सम्भावना उत्तिकै बढ्छ।
विभिन्न पदार्थको दुर्व्यसन पनि ठ्याक्कै यस्तै हुन्छ- तिर्खाएका वेला नुनपानी खाए जस्तो। धनाढ्यको धनमोह, नेताहरूको सत्तामोह, संस्थाका हाकिमहरूको कुर्सीमोह, सेलेब्रिटीको तस्वीरमोह मात्र हैन, सामाजिक सञ्जालमा रमाउन थालेपछि हुने ‘लाइक’ र ‘फलोअर’ मोह पनि राम्रोसँग हेर्ने हो भने दुर्व्यसनकै विभिन्न प्रकार जस्ता देखिन्छन्। यी सबैले तत्क्षणका लागि ‘सुखानुभूति’ गराए पनि मानिसलाई उही ‘दुःखमेवाभिधावन्ति’ अर्थात् दुःखको दलदलतिर डोर्याउने काम गर्छन्।
करुणा, प्रेम, सिर्जना, इमानदारी, शीलपालन, उत्तरदायित्वबोध, कृतज्ञता जस्ता सद्गुणबाट उत्सर्जित र सक्रिय हुने सेरोटोनिनले भने फरक किसिमले काम गर्छ। यसले स्नायुकोषिकाहरूलाई उद्वेलित हैन, शान्त गराउँछ। फलतः ‘आहा, कस्तो राम्रो! म तृप्त भएँ’ जस्तो भाव उत्पन्न हुन्छ। यो हो सम्यक् खुशी- तिर्खा मेट्ने सफा स्वच्छ पानी पिए जस्तो। यस्तो खुशी जति धेरै भए पनि डोपामिनले गराए जस्तो ‘अरू चाहियो! अझै चाहियो! अहिल्यै चाहियो!’ भन्ने भाव उत्पन्न हुँदैन।
डोपामिन निर्देशित इन्द्रियसुखमा रमाउने मानिसले सेरोटोनिनको गतिविधि जगाउने काम पनि सँगसँगै गरिरहने हो भने इन्द्रियसुखबाट हुने कुप्रभावबाट केही सुरक्षा प्राप्त हुन सक्छ। बौद्ध शब्दावलीमा निकै प्रयोग हुने एउटा शब्द छ, ‘मिश्रितकर्म’। हामी अधिकांश मानिस सुकर्म र दुष्कर्म सँगसँगै गरिरहेका हुन्छौं। सानातिना दुष्कर्मलाई पूरै हटाउन नसके पनि सुकर्मलाई बढाउँदै लाने र दुष्कर्म हटाउँदै जाँदा निर्वाणको बाटोमा अघि बढ्न सकिन्छ भनिन्छ।
यसलाई अहिलेको विज्ञानका भाषामा भन्दा जीवनशैलीलाई क्रमशः डोपामिन नियन्त्रित वासनाजन्य खुशी घटाउँदै सेरोटोनिन नियन्त्रित सम्यक् खुशी बढाउने दिशामा डोर्याउने हो भने बढी स्वस्थ, सार्थक र साँच्चैको खुशी जीवन बिताउन सकिन्छ। धेरै अनुसन्धानले पनि देखाउँदै छन्- करुणा, प्रेम, दान, सम्यक् सिर्जना, जगतको भलो गरूँ भन्ने स्वस्फूर्त चाहना आदिले आनुवंशिकीमै प्रभाव पारेर विभिन्न रोग जन्माउने शारीरिक क्रिया रोकिरहेका हुन्छन् र दिगो सुस्वास्थ्य, खुशीको सम्भावना बढाइरहेका हुन्छन्।
जुन देशका नागरिक विपरिणाम दुःखता र संस्कारधर्म दुःखता जस्ता मिहिन दुःखसँग जुध्न सक्छन्, त्यो देश सम्यक् खुशीको देश हुन्छ।
नागरिकका खुशी र राजनीति
बौद्ध मान्यतामा दुःखका तीन प्रकार छन्। एक हो, ‘दुःख दुःखता’। सबभन्दा स्थूल प्रकारको यो दुःखलाई दुःखका रूपमा चिन्न जोकोहीले सक्छ। जस्तै, भोक, तिर्खा, अभाव, शारीरिक पीडा, रोगव्याधि, हिंसामा पर्नु आदि। योभन्दा अलि सूक्ष्म रूपको दुःख हो, ‘विपरिणाम दुःख’। हरेक कुराको अनित्यता र अनिश्चितताका कारण हुने यस किसिमको दुःख कहिले देखिन्छ, कहिले नदेखिन, नचिनिन पनि सक्छ।
योभन्दा अझ सूक्ष्म प्रकृतिको दुःखलाई ‘संस्कारधर्म दुःखता’ भनिन्छ। मानिसको नैसर्गिक प्रवृत्तिमै यथास्थितिप्रतिको असन्तुष्टि हुन्छ। जे पाए पनि त्योभन्दा राम्रो कुराको चाहना हुन्छ। वासनाप्रधान खुशी खोज्ने बानी लागेकालाई त त्यसो हुने नै भयो, सम्यक् खुशीको खोजी गर्नेलाई पनि केही नयाँ चाहिन्छ, वर्तमानप्रति असन्तोष हुन्छ। तर, यो दुःख राम्रोसँग व्यवस्थापन गर्न सक्ने हो भने सम्यक् मार्ग हुँदै तमाम क्लेशबाट स्वतन्त्रताको दिशामा अघि बढ्न सकिन्छ।
हाम्रो जस्तो गरीब देशका सामान्य नागरिकले भोक, तिर्खा, रोगव्याधि, भ्रष्टाचार जस्ता स्थूल किसिमका दुःख (दुःख दुःखता) नै झेलिरहेका छन्। उनीहरूलाई त दुःखका अरू मिहिन प्रकार चिन्नेसम्म पनि स्वतन्त्रता पनि हुँदैन। नागरिकका यस्ता दुःख निवारणका निम्ति चाहिने हो राज्य। राज्यबाट अपेक्षा राखिने यत्ति हो, उसले कमसेकम जनतालाई स्थूल-खस्रा-मोटा दुःखबाट मुक्ति दिलाओस्। तब मात्र नागरिक मिहिन प्रकृतिका दुःखलाई चिन्न सक्ने हुन्छन्, र आत्मनिर्भर भएर तीसँग आफैं जुध्न सक्छन्।
जुन देशका नागरिक विपरिणाम दुःखता र संस्कारधर्म दुःखता जस्ता मिहिन दुःखसँग जुध्न सक्छन्, त्यो देश सम्यक् खुशीको देश हुन्छ। तर, अत्यन्त स्थूल प्रकृतिका दुःखबाट समेत जनतालाई मुक्त गराउने दायित्व राज्यले लिन सकेन भने त्यहाँ सद्गुणहरूको ह्रास हुँदै जान्छ, ज्यान धान्नैका निम्ति जनता झन् झन् स्थूल किसिमका कर्ममा लागिरहनुपर्ने हुन्छ, ती कहिले सुकर्म होलान्, कहिले दुष्कर्म पनि होलान्।
कुल राष्ट्रिय उत्पादन, सरदर आयु, सामाजिक सहयोग, स्वतन्त्रता र भ्रष्टाचारको स्थितिबारे जनताको बुझाइ र मूल्याङ्कनमा आधारित भएर गरिने सर्वेक्षणको नतीजाले नेपाललाई यसपालि दक्षिणएशियाको सबभन्दा खुशी देश भनिदिएको छ। वर्ल्ड ह्यापिनेस रिपोर्टको यो नतीजाले हामीलाई खुशीसँगै अचम्म लाग्नु स्वाभाविक हो। यो सूचकाङ्क कति वैज्ञानिक छ, अनेक कोणबाट बहस गर्न सकिएला, तर खुशीको सापेक्षिकता, खुशीको वर्गीकरण र यस सूचकाङ्कका आधार हेर्ने हो र तिनलाई पूर्वीय दार्शनिक मान्यतासँग जोड्ने हो भने धेरै अचम्म मान्नुपर्ने कुरा छैन।
हामी अझै पनि अधोगति र उन्नतिको सँघारमै छौं। हाम्रो देश सबभन्दा भ्रष्ट मुलुकका रूपमा चिनिएको पनि भर्खरै हो। कल्पना गरौं न, भ्रष्टाचार मात्र रोक्न सकिने हो भने पनि खुशीको सूचकाङ्कमा हामी कति माथि पुग्ने थियौं होला! जनता स्थूल प्रकृतिको ‘दुःख दुःखता’ बाट कति माथि उठ्ने थिए होलान्! विल्किन्सनले देखेकै जनताको देश हो यो अझै। तर, अधोगामी कुचक्रमा फस्दै जाने हो भने उनले देखेको, वर्णन गरेको त्यो सुन्दर नेपाली मुहारको चित्र फेरिंदै फेरिंदै कति टीठलाग्दो चित्रमा परिणत हुन सक्छ।
जबसम्म सत्ताधारीहरू आफ्नो इन्द्रियसुखको मोहबाट मुक्त हुँदैनन्, भ्रष्टाचार हराउन त के, घट्नसम्म सक्दैन। घिनलाग्दो दलदलमा फसेका सत्ताधारीसँग रोगग्रस्त दयनीय वर्गलाई सघन अन्धकारबाट निकाल्ने के उपाय हुन सक्छ? हिंसाका आँधिबेहरीमा आधारित उपाय त काम नलाग्ने सावित भइसक्यो। नयाँ उपाय के होला त?
(अध्यात्ममा गहिरो रुचि राख्ने धिताल शल्यचिकित्सक हुन्। हिमालको २०७९ वैशाख अङ्कबाट।)