कस्तो छ ‘मुलुकको मस्तिष्क’ मानिएको शहर?
कुनै वेला ‘मुलुकको मस्तिष्क’ मानिएको शहर विराटनगर पछिल्लो केही वर्षयता भने ओरालो लाग्दै गएको छ।
मुलुकलाई ६ जना प्रधानमन्त्री दिएको विराटनगर देशकै पुरानो शहरमध्ये एक हो। वरपरका धेरै ठाउँमा बसोबास शुरू हुनुअघि नै आवादीयुक्त शहर बनिसकेको विराटनगरलाई अहिले भने विकास र पूर्वाधारमा नयाँ शहरहरूले उछिनेका छन्।
प्रदेश १ को राजधानी समेत रहेको विराटनगरले थुप्रै ऐतिहासिक उपलब्धि र घटनाको साक्षी बनेको छ। मुलुककै पुरानो शहरमध्ये भए पनि भौतिक पूर्वाधार र विकासका हिसाबले भने भर्खरै स्थापना भएका नयाँ शहर जस्तै देखिन्छ।
अहिले विराटनगरको चमक हराउँदै गएको छ। जसले गर्दा छिमेकी इटहरी, धरान, दमक, बिर्तामोड लगायत शहरले पनि उछिन्न थालिसकेका छन्। अझ भरतपुर र पोखराले उछिनिसकेका छन्।
२००३ सालको मजदूर आन्दोलनबाट राणाशासन विरुद्धको क्रान्तिको नेतृत्व गरेको थियो, विराटनगरले। कुनै समय राजनीतिक र आर्थिक रूपमा मुलुककै नेतृत्व गरेको थियो।
एक समय भन्ने गरिन्थ्यो– विराटनगरले आज जे सोच्छ, भोलि नेपालमा त्यही हुन्छ। त्यसैले विराटनगरलाई मुलुकको ‘ब्रेन’ मानिन्थ्यो। देशको दिमाग मानिएको शहरले अहिले भने सन्तुलित गतिमा यात्रा गर्न सकेको छैन। सुस्ताउँदै गएको छ।
पछिल्ला पाँच वर्ष नियाल्दा पनि नजिककै इटहरी, धरान, दमक लगायत शहर अगाडि बढिरहेका छन्। विराटनगरमो गति भने धिमा छ। अझ पुरानै साख पनि जोगाउन सकेको छैन।
स्थानीय ८४ वर्षीय तोरेन्द्रमानसिंह प्रधान विराटनगरले बदलिंदो समयको गतिलाई पछ्याउन नसकेको बताउँछन्। “विराटनगर पछिल्ला दिनमा विकासमा सुस्ताएको छ,” प्रधान भन्छन्, “समय बदलिएको छ, विराटनगर प्रदेशको राजधानी भएको छ। तर, विराटनगर अगाडि बढ्न सकेको छैन, सधैं अधोगति बेहोर्दै आएको छ।”
६ जना प्रधानमन्त्री जन्माएको शहर
विराटनगरले मुलुकलाई ६ जना प्रधानमन्त्री दिइसकेको छ। बीपी कोइराला, मातृकाप्रसाद कोइराला, नगेन्द्रप्रसाद रिजाल, सूर्यबहादुर थापा, मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइराला। उनीहरूको राजनीतिले विराटनगरबाटै उचाइ लिएको थियो।
विराटनगरस्थित कोइराला निवासले मात्र तीन प्रधानमन्त्री दियो, मुलुकलाई। कृष्णप्रसाद कोइरालाका तीन छोराहरू मातृका, बीपी र गिरिजा देशका प्रधानमन्त्री बने।
त्यति वेला भन्ने गरिन्थ्यो– आज विराटनगरले जे सोच्छ, भोलि नेपालमा त्यही हुन्छ। उनीहरू मुलुकको राजकीय नेतृत्वमा छँदा पनि विराटनगरले सोचे अनुरूप विकासमा फड्को मार्न नसकेको स्थानीय बासिन्दाको गुनासो छ। झन् पछिल्लो समयमा त विकासको गति धिमा हुँदै गएको छ।
त्यो विराटनगर र यो विराटनगर
शिखरनाथ भाष्यको यात्रा वर्णन अनुसार, १९७१ सालमा बडाहाकिम जीतबहादुर खत्रीले आधुनिक विराटनगरको जग बसाएका थिए। कर्णेल खत्रीले नै रंगेलीबाट गोश्वारा, मालपोत, अमिन, वनजाँच, हुलाक, अडिटर, जेल र अस्पताल विराटनगर सारेका थिए।
त्यससँगै २२ किलोमिटर पूर्वको रंगेलीबाट मोरङको सदरमुकाम विराटनगर बन्यो। दक्षिणी सीमावर्ती भारतको शहर जोगबनीसम्म रेल सेवा सञ्चालन भएको र भारतसँग व्यापार व्यवसाय गर्न सजिलो हुने भएकाले रंगेलीबाट सदरमुकाम विराटनगर सारिएको हो।
रंगेलीबाट विराटनगर सार्न त्यति वेला कृष्णप्रसाद कोइराला, सुब्बा गुञ्जमान, डिट्ठा कृष्णराज, हनुमानदास श्रेष्ठ, सुब्बा कालिदास, सुवेदार अनन्तराम लगायतको महत्त्वपूर्ण योगदान थियो।
विराटनगर नामकरण भने १९७६ सालमा शिकार खेल्न मोरङ आएका केशरशमशेर राणाले गरेका हुन्। विराटनगर नामकरण हुनुअघि यो ठाउँलाई गोग्राहा भनिन्थ्यो। त्यसअघि पनि दुई पटक नाम फेरिएको इतिहास छ। शुरूआतमा चन्द्रगञ्ज र त्यसपछि नेपालगञ्ज हुँदै गोग्राहा बनाइएको थियो।
पहिले गाउँ पञ्चायत रहेको विराटनगर २००८ सालमा नगरपालिका घोषणा भयो। मोरङको बुधनगरस्थित भेडियारीमा राजा विराटको दरबार रहेकाले यसको नाम विराटनगर राखिएको भनाइ छ।
त्यसयता १०७ वर्षमा विराटनगरले मुलुकको राजनीतिमा ठूला उतारचढाव ल्यायो। आफू भने सधैं उस्ताको उस्तै रह्यो।
वडाहाकिम खत्रीपछि कर्णेल शिवप्रतापशमशेर थापाले पनि विराटनगर निर्माणमा योगदान दिए। कृष्णप्रसाद कोइरालाले भारतीय मारवाडी बोलाएर व्यापारिक वातावरण तयार पारे।
बस्ती विस्तारसँगै कोइरालाकै सक्रियतामा १९९६ सालमा नेपालकै दोस्रो शिक्षालयका रूपमा आदर्श विद्यालय स्थापना भयो। त्यति वेला विराटनगरस्थित आदर्श विद्यालय भवन मात्र पक्की थियो।
राणा शासन विरुद्धको क्रान्तिको नेतृत्व विराटनगरले नै गर्यो। त्यस्तै, मुलुकको औद्योगिक विकासको जग पनि विराटनगरबाट बसेको हो।
राजधानीमा बिजुली बत्ती बाल्न फर्पिङ जलविद्युत् आयोजना निर्माण भयो। त्यसपछि मोरङका वारंगी र सिंहदेवीबीचको चिसाङ खोलामा विद्युत्गृह निर्माण भएर मुलुककै दोस्रो जलविद्युत् आयोजना तयार भयो। मोरङ हाइड्रो इलेक्ट्रिक कम्पनीको नामबाट चिनिने जलविद्युत् आयोजनाको विद्युत्गृह २०२३ सालमा बाढीले बगाएपछि अस्तित्व नै मेटियो।
२००९ सालमा त्रिभुवन स्मारक अस्पताल खुल्यो, विराटनगरमा। त्यस लगत्तै रत्नराज्यलक्ष्मी मातृ सेवा सदन सञ्चालनमा आयो। सरकारी स्तरको कोशी अस्पताल लगायत निजी क्षेत्रका केही स्वास्थ्य संस्थाले भने यसको पहिचान कायम राखेका छन्।
जेठो औद्योगिक शहर
मुलुकको औद्योगिकीकरणको शुरूआत विराटनगरबाटै भएको हो। लामो समय यसले मुलुकको आर्थिक राजधानीको उपमा पनि पायो। १९९० सालमा देशकै जेठो उद्योगका रूपमा विराटनगर जुट मिल पहिलो नम्बरमा दर्ता भएको हो।
विराटनगरमा औद्योगिकीकरण हुनुअघि १९८० सालतिर राइस मिलहरू थिए। जसले नेपालमा उत्पादन भएका चामल तथा धान भारत निर्यात गर्ने गर्थे। तोरी, पाट आदि पनि निर्यात हुने गरेको थियो।
पुराना दस्तावेजहरूका अनुसार, देशकै पहिलो चामल उद्योग गुह्येश्वरी राइस मिल, पहिलो कपडा कारखाना मोरङ कटन मिल, त्यस्तै पहिलो चिनी काराखाना मोरङ सुगर मिल २००० सालपछि स्थापना भएका थिए। हिमालय जुट प्रेस, हुलास मेटल क्राफ्ट, द जुद्ध म्याच फ्याक्ट्री पनि विराटनगरमै खुलेका थिए। तर, पछिल्ला दिनमा विराटनगरको परिचय वीरगञ्ज, हेटौंडा, रत्ननगर लगायत नयाँ औद्योगिक शहरले खोसिसकेका छन्।
विराटनगरले १९९० देखि २०२० सालसम्म राजनीतिक, शैक्षिक र औद्योगिक क्रान्ति गरेको थियो। १९९३ असारमा स्थापित मुलुककै पहिलो उद्योग विराटनगर जुट मिलमा २००४ सालमा शुरू भएको मजदूर आन्दोलनले २००७ सालको परिवर्तन ल्यायो।
भारतको अलाहाबाद एक्सप्रेस रेल सेवा मार्फत २००० सालमा जोगबनी जोडिएको हो, जुन विराटनगरका लागि वरदान सावित भएको थियो। नेपालको निकासी व्यापारको शुरूआत यही जुट मिलबाट भएको हो, जसबाट उत्पादित तयारी वस्तु तेस्रो मुलुकसम्म निर्यात हुन्थे। तर, अहिले मुलुककै जेठो जुट मिल बन्द छ।
मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि विराटनगर सारिएको जोगबनीको हिमालय टाकिज पनि अहिले बन्द छ। कुनै समय जोगबनीस्थित यो हलमा मातृका टिकट जाँचकी र उनका भाइ तारिणीप्रसाद कोइराला गेटकिपर थिए।
मलेरिया नियन्त्रण भएपछि २०१९ सालदेखि विराटनगरलाई बस्नयोग्य शहर मानियो। र, पूर्वी पहाडी भेगका मानिसको घुइँचो नै लाग्यो।
भारतको कोलकाताका राधाकृष्ण चमरियाले १६ लाख भारतीय रुपैयाँमा जुट मिल खोले। त्यसमा मातृका, गिरिजा र मनमोहन अधिकारी पनि मजदूरका रुपमा कार्यरत रहेको स्थानीय बासिन्दा बताउँछन्।
त्यसपछि कटन मिल, मोरङ सुगर मिल, जुद्ध म्याच फ्याक्ट्री र रघुपति जुट मिल खुलेका थिए। तीमध्ये रघुपति जुट मिल मात्र अहिले सञ्चालनमा छ। २०५८ सालसम्म यस औद्योगिक करिडोर क्षेत्रमा निर्यातमुखी ठूला उद्योगको सङ्ख्या १५० थियो। अहिले ५० मात्रै छन्। पछिल्लो २० वर्षमा बन्द भएका १०० उद्योगमा करीब १५ अर्ब लगानी थियो।
बीपी प्रधानमन्त्री भएको समयमा विराटनगर आसपासका क्षेत्रमा धमाधम उद्योग खुलेका थिए। १९९३ देखि २०३० सालसम्मको अवधिलाई विराटनगरको स्वर्ण युग मान्छन् उद्योगी।
विस्तारै व्यापारिक कारोबार काठमाडौं केन्द्रित हुँदै गयो। एक समयमा विराटनगरलाई नै कर्मथलो बनाएका गोल्छा, मुन्दडा, दुगड जस्ता व्यापारिक घराना पनि काठमाडौं लगायत अन्य शहरतिरै केन्द्रित भए। अहिले व्यापारिक घरानाको रोजाइमा विराटनगरभन्दा वीरगञ्ज, हेटौंडा, सिमरा, भैरहवा, बुटवल परेका छन्।
विकासमा सुस्तता
स्थानीय निर्वाचनपछि प्रदेश १ को एक्लो महानगर बनेको विराटनगरको आर्थिक सामर्थ्य विस्तारका लागि महत्त्वपूर्ण मानिएका ठूला आयोजनाको गति सुस्त छ। ती आयोजना समयमै सम्पन्न नहुँदा पनि महानगरले आत्मविश्वास गुमाउँदै गएको देखिन्छ।
लामो समयदेखि चर्चाको विषय बनेको ४२ किलोमिटरको विराटनगर चक्रपथ निर्माण २३ वर्ष पुग्न लाग्दा पनि अलपत्र छ। अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीस्थल, भौतिक पूर्वधार व्यवस्था सहितको औद्योगिक क्षेत्र निर्माण गर्ने योजना पनि अलपत्र छ। त्यसै गरी सुनसरीको अमरवामा क्रस बोडर औद्योगिक क्षेत्र निर्माण गर्ने योजना अलपत्र छ।
विराटनगर विमानस्थललाई विस्तार गरी क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थल बनाउने योजना पनि अघि बढ्न सकेको छैन। भारतको बथनाहादेखि मोरङको कटहरी जोड्ने रेलमार्ग पनि लामो समयदेखि मुआब्जा विवादका कारण रोकिन पुगेको छ। विराटनगरका मुख्य सडक क्षेत्रमा बनाइने भनिएका आकाशे पुल निर्माणको काम पनि शुरू हुन सकेको छैन।
उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले रानीमा एकीकृत भन्सार चौकी (आईसीपी) निर्माण भए पनि पूर्ण रूपमा अहिलेसम्म सञ्चालनमा आउन नसकेको बताउँछन्। बथनाहाबाट आईसीपीको रल्वे स्टेशनसम्म अहिले पनि कार्गो रेल सेवा शुरू हुन नसकेको अध्यक्ष प्याकुरेलले बताए।
उनका अनुसार, आईसीपीसम्म कार्गो रेल ल्याउन सकेको खण्डमा कोलकता र विशाखापट्टनमबाट सीधै रेल मार्फत तेस्रो मुलकका मालसामान विराटनगर भित्र्याउन सकिन्छ। तर, त्यसमा सरकारले खासै चासो नदिएको अध्यक्ष प्याकुरेलले गुनासो गरे।
एशियाली विकास ब्यांक, नेपाल सरकार र महानगरको संयुक्त प्रयासमा नगर क्षेत्रमा ढल निर्माणाधीन छ। ती आयोजनालाई समयमै सम्पन्न गर्न लागिपरेको महानगरका मेयर भीम पराजुलीको बताउँछन्।
भारत–नेपाल–चीन जोड्ने जोगबनी–किमाथांका सडक, अरुण तेस्रो जलविद्युत् परियोजना, भुटान र बाङ्लादेशसम्म व्यापार विस्तार, पूर्वाञ्चल एकीकृत पर्यटन विकास, रेल्वे लाइन विस्तार जस्ता परियोजनाको निर्माणको गति पनि निकै सुस्त छ।
भारतको कोलकाताबाट वीरगञ्जभन्दा २२५ किलोमिटर नजिक पर्छ, विराटनगर। कोलकाता–वीरगञ्ज ७७७ र विराटनगर–कोलकाता ५५२ किलोमिटर दूरीमा पर्छन्। तर, त्यसबाट विराटनगरले फाइदा लिन सकेको छैन।
जोगबनी–किमाथांका सडक निर्माण भए तिब्बतको ल्हासा सिन्धुपाल्चोकको तातोपानी नाकाभन्दा नजिक पर्नेछ। यो सडक बन्नेमा आशावादी रहेको उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं प्रदेश १ सरकारका मुख्य मन्त्रीका आर्थिक सल्लाहकार राजेन्द्र राउत बताउँछन्।
विराटनगर २०४६ सालमा उपमहानगरपालिका बनेको थियो। र, परिवर्तित व्यवस्था अनुसार अहिले महानगरमा स्तरोन्नति भएको हो। मोरङको १९.७७ प्रतिशत जनसङ्ख्याको बसोबास विराटनगरमै छ।
पूर्व अर्थ सचिव रामेश्वर खनाल पछिल्ला दिनमा विराटनगरको स्थिति विभिन्न सूचकको आधारमा मुलुकका अन्य शहरको तुलनामा मात्रै नभएर प्रदेश १ कै अरू शहरको तुलनामा पनि खस्किएको बताउँछन्। उनी भन्छन्, “कुनै समय कुल गार्हस्थ्य उत्पादनमा ठूलो हिस्सा ओगटेको विराटनगर हाल आन्तरिक राजस्वमा योगदानको हिसाबले भरतपुर, भैरहवा, कावासोती, सिमराको भन्दा पनि कम छ।”