नेपालगञ्जको मेयरमा सात दलका २३ जना दाबेदार
आगामी स्थानीय तहको निर्वाचनका लागि नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा सात दलका २३ जनाले दाबी गरेका छन्।
गत निर्वाचनमा नेपालगञ्जको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट धवलशम्शेर राणाले जितेका थिए। राप्रपा महामन्त्री समेत रहेका राणाले मेयरमा नदोहोरिने बताएपछि राप्रपा नगर समितिले मोहम्मद सफिक बेहनालाई उम्मेदवार बनाउन सिफारिश गरेको छ।
२०७४ को निर्वाचनमा कांग्रेसले मेयरमा हारेको थियो भने उपमेयरमा उमा थापा मगर निर्वाचित भएकी थिइन्। यस पटक भने उपमेयर थापा मगरसँगै १४ जनाले मेयरका लागि दाबी गरेका छन्।
कांग्रेस नगर समितिले १४ जनाकै नाम सिफारिश गरेर जिल्लामा पठाएको छ। जसमा रमेशकुमार गुप्ता, प्रशान्त विष्ट, सुनील राणा, निरञ्जनसिंह सिजापति, डा. सुरेन्द्रकुमार कनोडिया, माया पुन, अजितकुमार शर्मा, रवीन्द्रमान श्रेष्ठ, वीरेन्द्रबहादुर शाह, अच्युतप्रसाद प्रसाईं, ललित रौनियार, मो. कादिर जोताहा र दिवाकर खनाल रहेका छन्।
जिल्ला कार्यसमितिले एक-दुई दिनमा टुङ्गो लगाएर प्रदेश र केन्द्रमा सिफारिश गर्ने सभापति नारायणप्रसाद गौडेलले बताए। उनले भने, “पार्टीले निरन्तरता, सक्षम, लोकप्रियता लगायत आधारमा नीतिगत रूपमै उम्मेदवार छनोट गर्छ। अन्य ठाउँमा जस्तै नेपालगञ्जमा पनि छनोट हुन्छ।”
नेकपा (एमाले) मा मेयरका लागि दुई जनाले दाबी गरेका छन्। एमालेबाट पशुपति दयाल मिश्र र दत्तप्रसाद आचार्य उम्मेदवारका दाबेदार छन्।
त्यस्तै, नेकपा (माओवादी केन्द्र) बाट तीन जनाले मेयरको दाबी गरेका छन्। माओवादीबाट नवीन शर्मा, नन्दलाल वैश्य र आदेश अग्रवाल दाबेदार छन्।
माओवादी बाँकेका संयोजक डम्बर विकले वडाका उम्मेदवारको टुङ्गो लगाएको र गाउँपालिका तथा नगरपालिका उम्मेदवारको २ वैशाखमा टुङ्गो लाग्ने बताए। केन्द्रमा हुने सहमतिका आधारमा उम्मेदवार तय गरिने उनले बताए। “नेपालगञ्जको मेयरमा दाबी गर्न केन्द्रीय तहमा भनिरहेका छौं,” उनले भने।
जनता समाजवादी पार्टी (जसपा) ले भने नेपालगञ्ज सहित बाँकेका चार वटै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ। नेपालगञ्जको मेयरमा कामरुद्दीन राई र उपमेयरमा रमारानी वैश्यलाई उम्मेदवार बनाउने निर्णय भएको जसपाका जिल्ला सचिव राजेन्द्र विश्वकर्माले बताए। “नेपालगञ्ज हाम्रो पार्टीको प्रभाव रहेको क्षेत्र हो, त्यसैले उम्मेदवार छनोट गरेका छौं,” उनले भने।
त्यस्तै, राप्रपा नेपालले पनि उम्मेदवारको टुङ्गो लगाएको छ। राप्रपा नेपालले अभयकुमार बस्नेतलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ।