मैले शुरू गरेका योजना पूरा गर्न फेरि मेयरमा उठ्छु: चिरिबाबु महर्जन
आगामी स्थानीय तहको निर्वाचनमा फेरि मेयरको उम्मेदवार बन्ने ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले बताएका छन्।
पहिलो कार्यकालमा शुरूआत गरेका केही योजना सम्पन्न गर्न फेरि मेयरमा उठ्ने तयारी गरेको महर्जनले बताए। यसमा नेपाली कांग्रेसका स्थानीय र नेता-कार्यकर्ता पनि सकारात्मक रहेको उनको भनाइ छ।
त्यस्तै, कांग्रेस केन्द्रले पनि चुनावी तयारीमा जुट्न सङ्केत गरिसकेको उनले बताए। “टिकट घोषणा गर्न मात्रै बाँकी छ, जिल्ला र केन्द्रबाट सहमति भइसक्यो,” महर्जनले हिमालखबरसँग भने।
पाँचवर्षे कार्यकालमा केही ‘मेगा प्रोजेक्ट’ को काम सम्पन्न हुन बाँकी रहेकाले आफू मेयरमा दोहोरिन लागेको उनको भनाइ छ। लगनखेलमा नेपाली सेनाले भोगचलन गरेको ३० रोपनी जग्गा फिर्ता गरेर राजकुलो स्थापना गरी कमलको फूल फुलाउने उनको योजना छ।
त्यस्तै, ललितपुरका मुख्य शहरमा ‘स्मार्ट स्ट्रिट लाइट’ राख्ने काम अन्तिम चरणमा पुगेको उनले बताए। चक्रपथ सडकखण्ड अन्तर्गत नौ किलोमिटर सडकका दायाँ-बायाँ साइकल लेन र स्ट्रिट लाइट राख्ने काम चलिरहेको छ।
“पाँचवर्षे कार्यकालमा शुरू गरेका धेरै काम सम्पन्न भए, केही बाँकी छन्,” महर्जनले भने, “ती काम सक्न पनि मलाई थप एक कार्यकालको आवश्यकता छ।”
सत्तारूढ गठबन्धनले तालमेल गरेर चुनाव लड्ने सहमति गरिसकेको छ। महानगर र उपमहानगरको मेयरको उम्मेदवार पनि केन्द्रबाट तय गरिने भएको छ।
नेकपा (एमाले) ललितपुर महानगर कमिटीले उम्मेदवारको सिफारिश गरिसकेको छ। एमाले केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकारलाई मेयरमा र मञ्जरी श्रेष्ठलाई उपमेयरमा सिफारिश गरेको छ। एमालेको पनि महानगर र उपमहानगरका उम्मेदवारको टुङ्गो भने केन्द्रीय कमिटीले नै लगाउनेछ।