बिस्केटमय भक्तपुर
जात्रा तथा पर्वमा रमाइरहने भक्तपुर यति वेला भने बिस्केट जात्राको उल्लासमा छ।
स्थानीय भाषामा बिस्का भनिने बिस्केट जात्रा भक्तपुरको एउटा महत्त्वपूर्ण जात्रा हो। आठ रात र नौ दिनसम्म मनाइने जात्रा अवधिभर भक्तपुर नगर पूरै उत्सवमय हुने गर्छ।
जात्रा नयाँ वर्ष लाग्नुभन्दा चार दिनअघि नै शुरू हुन्छ। पहिलो दिन पाँचतले मन्दिर अगाडिको टौमढी चोकमा बनाइएको भैरवनाथको रथ तानिन्छ। यो ३० फिट अग्लो प्यागोडा शैलीको तीनतले हुन्छ।
भक्तपुरको पाँचतले मन्दिर क्षेत्रलाई नगरको बीच मानेर सो ठाउँमा बनेको रथलाई नगरको माथ्लो भाग ‘थने’ र नगरको तल्लो भाग ‘क्वने’ मा लाने गरिन्छ।
पहिलो दिन देवता तल सवारी हुने द्यो क्वाविज्याइगु दिन हो। पहिलो दिनको जात्रामा रथलाई टौमढीको एक सय मिटर तलको गहिटीमा लगिन्छ।
बिस्का जात्राको मुख्य आर्कषण भनेको चैत मसान्तको दिन भेलुखेल ‘ल्योसिंखेल’ मा ५५ हात लामो लिङ्गो उठाउनु हो। यस दिन बिहान भक्तपुरको तालक्वोमा सानो हात नभएको लिङ्गो ‘ल्योसिंद्या’ उठाइन्छ। यसमा स्थानीय टोलबासी सहभागी हुन्छन्। सानो भएकाले यो उठाउन खास समय लाग्दैन भने ५५ हात लामो ‘ल्योसिंद्यो’ उठाउन समय लाग्ने गर्छ।
बिस्का जात्राको अर्को आकर्षण नव वर्षको पहिलो दिन ‘ल्योसिंद्यो’ ढाल्नु हो। अघिल्लो दिन उठाइएको ल्योसिंद्यो भोलिपल्ट साँझमा ढालिन्छ। ल्योसिंद्यो हेर्न आउनेको दिनभरि नै मेला लाग्छ।
भक्तपुरका स्थानीय टोलबासी बाजागाजा सहित ल्योसिंद्यो जात्रामा सहभागी हुन्छन्। यस दिन काठमाडौं, ललितपुर र उपत्यका नजिकका मानिस जात्रामा सहभागी हुन्छन्।
बिस्का जात्राको अर्को आकर्षणको दिन हो, देवतालाई सगुन चढाउने ‘द्यो स्वगंवियगु’। यो वर्ष सगुन चढाउने दिन ४ वैशाखमा परेको छ।
यस दिन महिलाहरू सगुन चढाउन हाकुपटासीमा सजिएर नगरका देवस्थलमा पुग्छन्। सगुनमा रक्सी, अण्डा, माछा, मासु, मिठाइका परिकार हुने गर्छन्। यो दिन नगरभरि चहलपहल र बाजागाजा गुन्जायमान हुने गर्छ।
बिस्का जात्राको अन्तिम दिन गहिटीमा रहेको भैरवको रथलाई माथ्लो टोलमा लगिन्छ। र, दिउँसो रथलाई पाँचतले मन्दिर अगाडि पुर्याएपछि जात्रा सम्पन्न हुन्छ।
बिस्का जात्रा अवधिमा टोल टोलमा अन्य जात्रा पनि मनाइन्छन्। यो अवधिमा भक्तपुरमा मनाइने जात्रामा ब्रम्हायणीको खट जुधाउने जात्रा, चोछेंको छुमा गणेश जात्रा, महाकाली महालक्ष्मी जात्रा, बाराही जात्रा लगायत छन्।
यो जात्रासँग एउटा किंवदन्ती जोडिएको छ। परापूर्वकालमा भक्तपुरमा बस्ने एक प्रतापी राजाको सुन्दरी राजकुमारी थिइन्। राजाले ती राजकुमारीसँग बिहे गर्नेलाई राजगद्दी सुम्पने बताए। राजगद्दी पाउने आशमा धेरै कुमार अघि सरे।
राजकुमारीले जोसँग बिहे गरे पनि पहिलो रातमै राजकुमार मृत्युवरण गर्न पुग्थे। एक पटकका राजकुमारले राजकुमारी निदाउन्जेल ढुकेर बसे। राजकुमारी निदाएपछि उनको नाकका पोराबाट दुई वटा नागनागिनी निस्के। तिनीहरूले अजिङ्गरको रूपधारण गरी राजकुमारलाई डस्न खोजे। राजकुमारले तिनीहरूलाई खड्ग प्रहार गरी टुक्रा-टुक्रा पारिदिए।
ती नागनागिनीले प्राण त्याग्ने वेला ‘हामीले प्राण त्यागेपछि हाम्रो पुरुषार्थ देखाउन सबैले देख्ने गरी जात्रा चलाइदिनू’ भने।
भोलिपल्ट अघिल्ला घटना झैं गुठियार राजकुमारको शव लिन जाँदा त उनलाई जिउँदै देखेर चकित भए। अनि नागनागिनी मरेको देखेर सबै खुशी भए। त्यसपछि राजाले छोरीलाई धनसम्पत्ति दाइजो दिई राजकुमारको राजतिलक गरिदिए।
अजिङ्गरका रूप धारण गर्ने नागनागिनी मारिएको खुशियालीमा मनाउन थालिएको बिस्केट जात्रामा त्यसैको स्मरणस्वरूप ५५ हात लामो सल्लाको रूखको लिङ्गो ल्योसिंखेलमा ठड्याउने गरिन्छ।