भरतपुर महानगरपालिकाको मुख्य निर्वाचन अधिकृत हेरफेर
निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि भरतपुर महानगरपालिकामा निर्वाचन अधिकृत हेरफेर गरेको छ।
आयोगले मतदान हुन एक महीना बाँकी छँदा जिल्ला न्यायाधीश हेमन्त रावललाई मुख्य निर्वाचन अधिकृतबाट हटाएको हो। त्यहाँ, अर्का जिल्ला न्यायाधीश प्रकाशकुमार अधिकारीलाई खटाइएको आयोगले जनाएको छ।
रावल चितवन जिल्ला अदालतका सबैभन्दा वरिष्ठ न्यायाधीश हुन् भने अधिकारी चौथो वरीयतामा छन्।
भरतपुरमा नेकपा (एमाले) ले विजयी सुवेदीलाई उम्मेदवार बनाउने भएको छ। सत्ता गठबन्धनबाट नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) दुवैले मेयरमा दाबी गर्दै आएका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नी छोरीलाई पुनः भरतपुरको मेयर बनाउन जोड दिंदै आएका छन्।