प्रसारण लाइन निर्माणमा अवरोधले दुई आयोजनाको बिजुली खेर
प्रसारण लाइन नबन्दा रामेछापमा हिमालय ऊर्जा विकास कम्पनीले निर्माण गरेको १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको उपल्लो खिम्ती दोस्रो जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली खेर गएको छ।
गर्ज्याङ–नयाँ खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन लाइन निर्माणको व्यवधानले आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न नसकिएको हो। प्रसारण लाइन अभावमा विद्युत् खेर जाने अवस्था आएपछि निर्माणमा भइरहेको अवरोध खुलाउन नेपाल विद्युत् प्राधिकरणले पहल शुरू गरेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ लगायतको टोलीले आयोजना निर्माणस्थलको निरीक्षण भ्रमण गरी अवरोध हटाउन प्रमुख जिल्ला अधिकारी, गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरूसँग छलफल गरेको छ। घिसिङले भने, “प्रसारण लाइन अभावमा १९ मेगावाट विद्युत् जोड्न सकिएको छैन, यसबाट आयोजनाका लगानीकर्तालाई मात्र नभएर देशलाई नै घाटा भइरहेको छ।”
खिम्ती र लिखु नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माणाधीन गर्ज्याङ–नयाँ खिम्ती १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काममा अवरोधै अवरोध छ। प्रसारण लाइनको मार्गाधिकारमा पर्ने जग्गाधनीले शतप्रतिशत मुआब्जाको माग गर्दै रामेछापको गोकुलगंगा गाउँपालिकास्थित ठोसे, धारापानी, बेताली, नाममाडी र दोलखाको तामाकोशी गाउँपालिकाको सहरे क्षेत्रमा निर्माणमा अवरोध गरेका छन्।
केही स्थानमा मार्गाधिकारमै नपर्ने जग्गा तथा घरधनीले मुआब्जा तथा क्षतिपूर्तिको माग गर्दै प्रसारण लाइनको तार तान्न दिएका छैनन्। कानूनी व्यवस्था अनुसार प्रसारण लाइनको मार्गाधिकारमा पर्ने जग्गाको मूल्याङ्कित रकमको २० प्रतिशत क्षतिपूर्ति निर्धारण गरिएको छ।
रामेछापको गोकुलगंगा गाउँपालिकाको गर्ज्याङबाट शुरू भई दोलखाको तामाकोशी गाउँपालिका हुँदै रामेछापकै मन्थली नगरपालिका–१३ स्थित साँखे (फुलासी) स्थित नयाँ खिम्ती सबस्टेशनमा टुङ्गिने प्रसारण लाइनको लम्बाइ ३२ किलोमिटर छ। प्रसारण लाइनमा पर्ने १०५ वटा टावरमध्ये सबैको जग हालिएको छ।
१०१ वटा टावर खडा गरिएको छ भने २० किलोमिटर तार टाँगिएको छ। गर्ज्याङमा १३२/३३/११ केभी सबस्टेशन निर्माण अन्तिम चरणमा पुगेको छ। प्रसारण लाइन तथा सबस्टेशनका अधिकांश उपकरण निर्माणस्थलमा ल्याइसकिएका छन्।
आयोजनाको ठेकेदार पिङ्गाओ ग्रुप कम्पनी, चीनले निर्माणमा ढिलाइ गर्ने देखिएपछि हिमालय ऊर्जा विकास कम्पनीका प्रवर्द्धकहरू सम्बद्ध फ्रेन्डशिप इन्जिनियरिङले सबकन्ट्र्याक्टमा काम लिएको थियो। तर, कोभिड-१९ महामारी, समयमा निर्माण उपकरणहरू आयोजनास्थलमा ल्याउन समस्या र स्थानीयको अवरोधका कारण आयोजनाको निर्माण प्रभावित भएको हो।
अनुमानित लागत दुई करोड अमेरिकी डलर रहेको आयोजना नेपाल सरकारको लगानीमा निर्माण भएको हो। आयोजनाको निर्माण आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
वैकल्पिक व्यवस्था मार्फत विद्युत् जोडिंदै
स्थानीयको अवरोधका कारण गर्ज्याङ–नयाँ खिम्ती १३२ डबल सर्किट प्रसारण लाइन निर्माणमा ढिलाइ हुने देखिएपछि उपल्लो खिम्ती र उपल्लो खिम्ती दोस्रो जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् वैकल्पिक व्यवस्था गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने तयारी गरिएको छ। गर्ज्याङ सबस्टेशनबाट ३३ केभी प्रसारण लाइन मार्फत जिरी सबस्टेशनमा जोडिने तयारी गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
“वैकल्पिक व्यवस्था अनुसार आयोजनाबाट अहिले उत्पादित करीब १० मेगावाट विद्युत् प्रवाह गर्न सकिन्छ, बर्खा लागेपछि मात्रै आयोजनाहरू पूर्ण क्षमतामा चल्ने भएकाले त्यति वेलासम्म गर्ज्याङ–नयाँ खिम्ती प्रसारण लाइनको निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ,” कार्यकारी निर्देशक घिसिङले भने।