कानूनले ज्येष्ठ नागरिक मानेको उमेर समूहका आमाहरूले धानेको उद्योग
‘जब पुग्यो साठी, हातमा लाठी’ भन्ने उखानलाई चुनौती दिंदै श्रम बजारले उत्पादनशील जनशक्ति नै नमान्ने उमेर समूहका आमाहरूकै बलमा २५ वर्षदेखि नाफामा चलिरहेको छ, भक्तपुरको एउटा उद्योग।
थरथराउँदै गरेका हातका औंला, भुक्क सुन्निएका पैताला। घरीघरी आँखाका कचेरा र आँसु पुछ्नै पर्ने बुढ्यौलीपन।
श्रम बजारको परिभाषा अनुसार १५-६० वर्ष उमेर समूह मात्र उत्पादनशील जनशक्ति हो। त्यति मात्र हाेइन, ‘जब पुग्यो साठी, हातमा लाठी’ भन्ने उखानलाई चुनौती दिंदै भक्तपुरकी ६४ वर्षीया कृष्णमाया पञ्चलाई हरेक बिहान छुट्नै लागेको बस भेट्नुपर्ने हतार हुन्छ, उद्योगमा पुग्न।
सधैं बिहान १० बजे भक्तपुरकै ब्यासीस्थित इन्द्रेणी हेन्डलुम कपडा उद्योग पुगिसक्छिन्। उनकै उमेर समूहका अन्य कामदार पनि तान भर्न उद्योग पुगिसकेका हुन्छन्। अनि शुरू हुन्छ, हाकुपटासी बनाउने काम।
“यो काममा नआए त मनमा अनेक कुरा खेलेर पागल हुन्छु होला,” उनी भन्छिन्।
परम्परागत पेशाका रूपमा १३ वर्षकै उमेरदेखि उनले यो काम गर्दै आएकी छन्। झन् पछिल्ला दुई दशक त एकनासको दैनिकी बनेको छ। बिहानको घरायसी काम सकेर १० बजे कपडा उद्योगमा पुग्ने उनी साँझ मात्रै घर फर्किन्छिन्।
कामप्रतिको सन्तुष्टि र खुशी उनको मुहारमा झल्किन्छ। “मलाई त यही काममा आनन्द लाग्छ। घरमा बसिराख्दा पनि रोगले समात्छ। सबैले सक्ने काम गरेकै राम्रो नि,” कृष्णमाया भन्छिन्, “फेरि दुई-चार पैसा पनि देख्न पाइन्छ।”
आजसम्म कृष्णमायालाई पैसाका लागि कसैसँग हात फैलाउनुपरेको छैन। पाँच दशकअघि आमा रतनमाया सुवालले सिकाएको सीप उनलाई अहिले पनि काम लागिरहेको छ। “यही काम गरेर तीन छोराछोरीलाई पढाएँ। घरको खर्च टारें,” उनी सुनाउँछिन्।
१५ वर्षको उमेरमै उनको बिहे भयो। सासूआमा पनि यही काम गर्थिन्। सानै छँदा सिकेको हाकुपटासी, चोलो, पटुका लगायत कपडा बुन्ने सीप सधैंभरि प्रयोग गरिरहिन्। “छोराछोरी सानै हुँदा पनि घरमै सिलाएर बसें,” कृष्णमाया भन्छिन्, “त्यसैले पनि आजसम्म यो काम बिर्सेकी छैन।”
अहिले उनका दुई छोरा कमाउने भइसकेका छन्। एउटाको सूर्यविनायकमा मोटरसाइकल वर्कशप छ भने अर्काको कपडा पसल। छोराबुहारीले घरमै आराम गर्नुस् भने पनि आफूलाई कामै ठीक लाग्ने उनी बताउँछिन्। “घरमा बसेर के गर्नु? सक्ने जति काम गर्यो, नसके छाडदियो,” उनी भन्छिन्, “रमाइलो पनि छ, साथीहरूसँग गफगाफ गर्न पनि पाइन्छ।”
उनीसँग काम नगर्नका लागि छोराबुहारीले आग्रह मात्रै होइन, अन्य थुप्रै कारण पनि छन्। जस्तो- उच्च रक्तचाप, थाइराइड, सुगर र आँखाको समस्या। अझ एक घण्टाभन्दा बढी हिंडडुल गर्दा सास फुल्छ। तैपनि, उनी ‘साडी बनाउने काम बसीबसी गर्ने त हो’ भनी आफ्ना रोगलाई पनि बिर्सिरहेकी छन्। उनी दोहोर्याउँछिन्, “यो काममा नआए त मनमा कुरा खेलेर पागल हुन्छु होला।” आँखाले साथ दिंदासम्म काम गर्ने उनी बताउँछिन्।
चाउरी परेका गाला, बोलीमा अस्पष्टता र विस्मृत बन्दै गएका स्मृतिहरू सुन्दा लाग्छ, अब त उनले घरमा बसेर आराम पो गर्ने हो। आफ्ना भोगाइहरू नातिनातिनीलाई सुनाउने हो। “घरमा बसे पनि दिउँसो मान्छे भए पो! कसैलाई फुर्सद नै हुँदैन,” कृष्णमाया भन्छिन्, “काम पनि भयो, साथीहरूसँग रमाइलो पनि हुन्छ।”
उनले तीन वर्षअघि काम गर्न छोडेकी पनि थिइन्। काम छोडेर घरमा बस्दा डिप्रेशन भएको उनी सुनाउँछिन। “घरमा बस्दा त मनमा अनेक कुरा खेल्थे। पीर पनि लाग्थ्यो,” तनाव भएको बताउँदै उनी भन्छिन्, “अहिले औषधि पनि खाँदै छु।”
उनको कामसँग जोडिराख्ने अन्य दुई कारण पनि छन्। एक त सक्रिय भइरहँदा प्रेसर, सुगर बिस्तारै कम हुँदै गएको छ। अर्को, तानलाई सरस्वती मान्छिन्। “हामी त चाडपर्वमा पूजा पनि गर्छौं,” कृष्णमाया भन्छिन्, “यी त भगवान् हुन्। पूजा गर्न भए पनि काम गर्नुपर्छ।”
यति बोलेर उनले झोलामा राखेको चश्मा निकालिन्। बिस्तारै आँखामा मिलाउँदै हाकुपटासीमा किनारा लगाउन थालिन्।
६० वर्ष उमेर पुगेकालाई ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ ले ‘ज्येष्ठ नागरिक’ मानेको छ। तर, कृष्णमाया जस्तै यो परिभाषालाई चुनौती दिंदै त्यही छेउछाउमा ६६ वर्षीया पूर्णकेशरी सैंजू धागो उनिरहेकी छन्। उनको पनि तानमा कपडा बुन्ने अनुभव कृष्णमायाको जस्तै छ। १२ वर्षकी हुँदा आमाले कपडा बुन्न सिकाएकी थिइन्। त्यही वेलादेखि नेवारी साडी, चोलो, पटुका, ढाकाटोपी, खास्टो, धोती लगायत कपडा बुन्न पारङ्गत छिन्।
धेरैले बसेर गर्ने काम भन्छन्। तर, उनलाई भने त्यति सजिलो लाग्दैन। “गाडी चलाउनभन्दा गाह्रो हुन्छ नि,” उनी दाँज्दै भन्छिन्, “गाडी चलाउँदै जस्तै हात र खुट्टा चलाउनुपर्छ।”
उनले ६ छोराछोरीलाई यही काम गरेर हुर्काइन्। घरमै हाकुपटासीको अर्डर आउँथ्यो, घरमै कपडा बुन्थिन्। २०७२ सालको भूकम्पले घर भत्कियो। त्यसपछि भाडामा बस्दै आएको बताउँदै पूर्णकेशरी भन्छिन्, “तान राख्न पनि एउटा सिङ्गै कोठा चाहिन्छ। घर नभएपछि यहीं काम गर्न आएँ।”
यसलाई कामसँगै ‘दुःख बिसाउने ठाउँ’ मानेकी छन्, उनले। पूर्णकेशरीले पनि आराम गर्नुपर्ने वेला हो। स्वास्थ्य समस्या पनि छन्। पेट पोल्ने, हातखुट्टा दुख्ने, ढाँड दुख्ने भइरहन्छ। घरमा धुमधुम्ती बस्नुभन्दा उद्योग पुग्छिन्। “हिंडेर आउन सकुन्जेल काम गर्छु,” उनी भन्छिन्।
उनी धेरै काम पनि गर्न सक्दिनन्। दैनिक चार-पाँच घण्टा काम गर्दा महीनामा चार हजारसम्म कमाइ हुन्छ। उनकै कमाइले साँझ-बिहानको भान्सा चल्छ। पैसाभन्दा पनि काम गर्दा सक्रिय रहन काम गरेको उनी सुनाउँछिन्। “बेलुका घर पुग्दा थाक्छु, राति राम्रो निद्रा पर्छ,” पूर्णकेशरी सुनाउँछिन्।
फेरि थकित भएर निदाउँदा पनि सपनामा तानकै धागो बुनेको आउने गरेको उनी बताउँछिन्। “खुट्टाले ठ्याकठ्याक ठ्याकठ्याक पारेको सपना आउँछ,” उनी भन्छिन्, “यसरी नै सधैं काम गर्न पाइयोस्, काम गर्नमै आनन्द हुन्छ।”
उनीहरूकी सहकर्मी ६७ वर्षीया ज्ञानी बखाद्योलाई त झन् खेतबारी गर्नुभन्दा उद्योगकै काम ठीक लाग्छ। यो कपडा उद्योग उनकै हो। २५ वर्षअघि उनका श्रीमान कृष्णले खोलेका थिए। सानैदेखि यही काम गर्दै आएकी उनले अझै छोडेकी छैनन्। “घरमा त्यत्तिकै बसेर पनि केही हुँदैन,” उनी भन्छिन्, “बूढा पनि यतै काम गर्छन्। छोराछोरी आआफ्नो काममा हुन्छन्। यतै काम गर्ने साथी पनि छन्।”
उनलाई काम गर्नुपर्ने बाध्यता छैन। चार छोराछोरी चिकित्सक र वकील छन्। छोराछोरीले मनग्य कमाउँछन्। तैपनि, उनलाई कपडा उद्योगमा काम गरिराख्न मन लाग्छ। “मलाई चर्खामा धागो भर्ने काम मन लाग्छ। यो भर्दै झुकाउन, निदाउन पाइन्छ,” हाFस्दै भन्छिन्, “फेरि काम पनि बिग्रंदैन। आनन्दै पो छ त।”
उनीहरू जस्तै यो उद्योगमा ६० कटेका आठ जना महिला काम गर्छन्। उनीहरूसँगै दुई जना तन्नेरी उमेरका पनि छन्। उनीहरूले यो उमेरमा पनि राम्रोसँग काम गरेको देख्दा खुशी लाग्ने गरेको नारायणीदेवी सैंजू बताउँछिन्। “काम गरेरै होला, उहाँहरूलाई कुनै गम्भीर रोगले च्यापेको छैन,” उनी भन्छिन्।
बिहान उद्योगमा पुग्ने उनीहरू दिउँसो २ बजे खाजा खान्छन्। केही बेर थकाइ मेट्छन्। शीतलतिर बाहिर निस्कन्छन्। एकआपसमा गफिन्छन्। “आजै सक्नुपर्ने भन्ने दबाब हुँदैन,” नारायणी भन्छिन्, “कहिलेकाहीं थाकियो भने दिउँसै घर जान पनि पाउँछन्।” काम गर्दा कहिल्यै दिक्दारी नलागेको उनीहरू सुनाउँछन्।
नयाँ पुस्ताले बुनेको लुगा कमै लगाउँछन्। विदेशबाट आउने रेडिमेड लुगा लगाउने गरेका छन्। यसले काम खोसिने पो हो कि भनेर उनलाई चिन्ता लाग्छ।
उद्योग सञ्चालक कृष्ण बखाद्याे माग कम हुने समस्या नआउने बताउँछन्। उनी भन्छन्, “पछिल्लो २५ वर्षदेखि हातले बुनेका कपडाको माग घटेको छैन। यसको आफ्नै महत्त्व छ। हामीले तानहरू बढाउन सके माग छँदै छ।”
पछिल्लो समय नेवार समुदायका जात्रा तथा पर्वमा नेवारी पहिरन लगाएको पाइन्छ। त्यस्ता पहिरन इन्द्रेणी हेन्डलुमले बनाउँदै आएको छ। २५ वर्षदेखि नेवारी पहिरन बनाउँदै आएको यो उद्योगले सबैभन्दा धेरै नेवारी चोलो उत्पादन गर्छ।
यो उद्योगमा आठ जना ज्येष्ठ नागरिक आमाहरूसँगै १० जना काम गर्छन्। उनीहरूले नै परम्परागत शैली अर्थात् तानमा बुनेर कपडा बनाउँछन्। महीनामा दुईदेखि तीन हजार चोलो तयार हुन्छन्। त्यस्तै, तीन सयसम्म साडी उत्पादन हुन्छन्। अन्य कपडा पनि बन्छन्।
यो उद्योगले उत्पादन गरेका सामान धेरैजसो भक्तपुरमा नै खपत हुन्छ। त्यसपछि अमेरिका, अस्ट्रेलिया, जापान लगायत देशमा व्यक्तिकाे अर्डरमा पठाउने गरेको सञ्चालक कृष्ण बताउँछन्। “कोरोनाको बन्दाबन्दीमा झण्डै बन्द हुन लागेको थियो, जोगियो,” उनी भन्छन्, “अहिले नाफा कमाइरहेको छ।”
उद्योग नाफामा चल्नुमा उनी त्यहाँ काम गर्ने आमाहरूलाई श्रेय दिन्छन्। “आठ जना त ५० वर्षभन्दा बढी समयको अनुभव भएका छन्। उनीहरूले बुनेका कपडामा कसैले खोट लगाएको छैन,” सञ्चालक कृष्ण भन्छन्, “लामो अनुभव र मिहिनेत गर्ने भएकाले गुणस्तर राम्रो छ।”
अर्को, यो काममा धैर्य चाहिन्छ। “आमाहरूको जस्तो धैर्य युवामा हुँदैन। यो धैर्यको काम हो,” उनी भन्छन्। ज्येष्ठ नागरिकहरू एक ठाउँमा बसेर धैर्यपूर्वक काम गर्ने भएकाले पनि उद्योग राम्रोसँग चल्न सकेको उनको अनुभव छ।
त्यसैले उनी लामो समयदेखि काम गर्दै आएका आमाहरूलाई टिकाइराख्न कोशिश गर्छन्। उनीहरूले आफ्नो रुचि अनुसार काम गर्छन्। अन्य काममा जस्तो हतारो र दबाब हुँदैन। त्यसैले आमाहरू पनि वर्षौंदेखि काममा रमाइरहेका छन्।