पाकिस्तानमा नयाँ प्रधानमन्त्री चयन गरिँदै
नयाँ प्रधानमन्त्री चयनका लागि पाकिस्तानकाे संसद्मा केहीबेरमा मतदान हुन लागेको छ।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार नयाँ प्रधानमन्त्री चयनका लागि संसद् सञ्चालन हुन लागेको छ। आजै रातिसम्म नयाँ प्रधानमन्त्रीले शपथ लिने तयारी गरिएको जनाइएको छ।
प्रधानमन्त्री इमरान खान दुई दिनअघि पदमुक्त भएका थिए। विपक्ष गठबन्धनले उनीविरुद्ध संसद्मा दर्ता गरेको अविश्वास प्रस्ताव बहुमतले पारित भएको थियो।
त्यसपछि आज नयाँ प्रधानमन्त्री चयनका लागि संसद् बोलाइएको हो। प्रधानमन्त्रीका लागि विपक्षी गठबन्धनबाट शहबाज शरिफ र खानको पार्टी पाकिस्तान तेहरिक-ई-इन्साफ (पीटीआई) का तर्फबाट महमूद कुरैशीले उम्मेदावर छन्। दुवै जनाले आइतबार नामांकन भरेका थिए।
पाकिस्तानको संसद् ३४२ सदस्यीय छ। सरकार गठनका लागि १७२ सांसद आवश्यक पर्छ। शनिबार खानविरुद्धको अविश्वास प्रस्तावमा १७४ सांसदले मतदान गरेका थिए।
चार वर्षअघि भएको निर्वाचनमा प्रधानमन्त्री खानको पार्टी पीटीआई १३३ सिट जितेको थियो। खानले अन्य साना दलसँग मिलेर सरकार गठन गरेका थिए। तर, अहिले साना दल उनको पक्षमा छैनन्।
पाकिस्तान मुस्लिम लिग (नवाज) र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) सहित नौ वटा दलले उनको विपक्षमा छन्। उनीहरू शरिफलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएका छन्।