धनगढीमा हमालसँग कसले गर्ला प्रतिस्पर्धा?
धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेर प्रचारमा जुटेका गोपाल हमालसँग प्रतिस्पर्धा गर्न प्रमुख चार राजनीतिक दलका २० जना नेता टिकटका लागि आन्तरिक लबिङमा लागेका छन्।
व्यवसायी गोपाल हमालले स्वतन्त्र उम्मेदवारी घोषणा गरेसँगै धनगढी उपमहानगरपालिकामा स्थानीय चुनावको माहोल तातेको छ।
अघिल्लो स्थानीय चुनावमा थोरै मतले पराजित भएका हमाल यस पटक भने डेढ महीनाअघि नै चुनावी प्रचारमा खटिइसकेका छन्। उनले भेटघाट अभियान चलाएसँगै राजनीतिक दलका नेता–कार्यकर्ता पनि आन्तरिक तयारीमा जुटेका छन्।
मेयरको टिकटका लागि राजनीतिक दलका नेताले टिकटका लागि लबिङ शुरू गरेका छन्। अहिलेसम्म प्रमुख राजनीतिक दलका २१ जनाको नाम चर्चामा छ।
२०७४ को स्थानीय चुनावमा पनि हमालले स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले ११ हजार ५२७ मत प्राप्त गरेका थिए भने मेयरमा निर्वाचित नेपाली कांग्रेसका नृपबहादुर वडले १४ हजार ३२४ मत पाएका थिए।
यस पटक पनि हमालले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका छन्। उनले विवेकशील साझा पार्टी त्यागेर उम्मेदवारी घोषणा गरेका हुन्। उनी विवेकशील साझाका प्रदेश संयोजक थिए।
अब धनगढीका बासिन्दाले आफूलाई जिताउने हमालको विश्वास छ। “अघिल्लो चुनावमा हारेपछि पाँच वर्ष धनगढीको विकासको लागि योजना बनाउनमै बिताएँ,” उनी भन्छन्, “म प्रण गर्छु, मेयरले लिने सेवा सुविधाको म एक पैसा पनि लिने छैन। गाडी सुविधा पनि लिने छैन।”
धनगढीलाई नमुना शहर बनाउने आफ्नो लक्ष्य रहेको उनी बताउँछन्। त्यसका लागि आफूसँग भिजन रहेको उनको भनाइ छ। एक पटकका लागि मात्रै उम्मेदवार बनेको बताउँदै हमाल भन्छन्, “मेरो एउटै लक्ष्य धनगढी राम्रो शहर बनाउने हो। धनगढीका बासिन्दाले गर्व गर्ने शहर बनाएर देखाउनेछु।”
धनगढीको मेयरका लागि हमाल चुनावी प्रचारप्रसारमा व्यस्त भइरहँदा राजनीतिक दल भित्र भने उम्मेदवार बन्नका लागि लबिङ चलिरहेको छ। अहिले धनगढीको नेतृत्व गरिरहेको नेपाली कांग्रेसमा पाँच जनाले मेयरका लागि दाबी गरेका छन्।
मेयर नृपबहादुर वड दोहोरिने इच्छा देखाएका छन्। कांग्रेस केन्द्रीय सदस्य रहेका वडले त्यसका लागि बलिङ गरिरहेका छन्।
त्यस्तै, उपमेयर एवं केन्द्रीय सदस्य सुशिला मिश्र भट्ट, महाधिवेशन प्रतिनिधि कृष्णबहादुर महरा, पूर्व जिल्ला कमिटी सचिव पूर्ण कुँवर र नेपाल महिला संघकी नगर सभापति जागृति बोगटी दाबेदार रहेका छन्। उनीहरू टिकटका लागि दौडधुपमा रहेको कांग्रेस नगर समिति सचिब दिनेश खत्रीले बताए।
त्यस्तै, नेकपा (एमाले) बाट आठ जनाको नाम सिफारिश भएको छ। एमाले उपमहानगर कमिटीले जिल्ला उपाध्यक्ष दुर्गाप्रसाद जोशी, केन्द्रीय निर्वाचन आयोगका सदस्य रणबहादुर चन्द, प्रदेश कमिटी सदस्य राजेश खाती, जीवन बम, खेमराज पाण्डे, जिल्ला कमिटी सदस्य कमलसिह राना, गोमा अधिकारी र प्रकाश चुनराको नाम सिफारिश गरेको छ।
एमाले सुदूरपश्चिम सचिव धर्मराज पाठकले नेताहरूले आकांक्षा राख्नु स्वाभाविक भए पनि केन्द्रले निर्णय गर्ने भएकाले केही भन्न नसकिने बताए। उपमहानगर कमिटीले गरेको सिफारिशलाई जिल्ला कमिटीले सुझाव सहित प्रदेशमा पठाउनेछ। त्यसपछि प्रदेश कमिटीले केन्द्रीय कमिटीलाई सिफारिश गर्ने पाठकले बताए।
यसैगरी, नेकपा (माओवादी केन्द्र) बाट पाँच जनाको नाम चर्चामा छ। माओवादी प्रदेश कमिटी सदस्य शान्ति अधिकारी, धनगढी-३ का वडाध्यक्ष तथा नगर कमिटी सदस्य बलबहादुर ऐर, पूर्व प्रदेश कमिटी सदस्य रमेश धामी, कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का संयोजक डीएल भण्डारी र नगर अध्यक्ष सुरज खातीको चर्चामा छ।
माओवादीभित्र देखिएका आकांक्षीहरू गठबन्धन हुने वा नहुने निर्णयको पर्खाइमा छन्। जसकारण उनीहरू खुलेर लबिङमा लाग्न सकेका छैनन्।
नेकपा (एकीकृत समाजवादी) का दुई जना मेयरका लागि दाबेदार रहेका छन्। प्रदेश कमिटी सदस्य राजेश भण्डारी र नगर कमिटी अध्यक्ष मदन रेग्मीले मेयरमा उम्मेदवार बन्न लबिङ गरिरहेका छन्। उनीहरू पनि गठबन्धनको निर्णयको पर्खाइमा छन्।
मेयरमा चार महिलाको दाबेदार
२०७४ सालको निर्वाचनमा सबै राजनीतिक दलले धनगढी उपमहानगरपालिकामा महिलालाई उपमेयरको उम्मेदवार बनाएका थिए। त्यतिवेला उपमेयरमा उम्मेदवार बनेका नेत्रीहरू अहिले भने मेयरका लागि दाबी गरिरहेका छन्।
अहिले उपमेयर सुशिला मिश्र भट्टले फेरि उपमेयरमा नलड्ने बताएकी छन्। उनले मेयर वा प्रदेश सभाका लागि दाबी रहेको बताउँदै भनिन्, “सकेसम्म मेयरकै टिकटको लागि लबिङ गरिराखेको छु।” पाँच वर्ष उपमेयरको जिम्मेवारी निर्वाह गर्दैगर्दा आफू मेयरको लागि सक्षम भइसकेको उनको भनाइ छ।
यस्तै, महिला संघकी नगर सभापति जागृति बोगटीले पनि नगर कमिटीमा रहेर धेरै काम गरिसकेकाले अब मेयरको लागि सक्षम रहेको बताइन्। २०४६ सालदेखि पार्टीमा पूर्णकालीन सदस्य भएर काम गरेकी उनले भनिन्, “अघिल्लो चुनावमा पार्टीले महिलालाई मेयरको लागि सक्षम देखेन, तर हामी असक्षम छैनौं, जिम्मेवारी पाएपछि पुरुषले भनदा राम्रो काम गरेर देखाउन सक्छौं।”
त्यस्तै, एमालेबाट गोमा अधिकारीले मेयरका लागि दाबी गरेकी छन्। उनले कैलाली उद्योग बाणिज्य संघको कार्यकारी निर्देशक भएर काम गरिसकेकी छन्। कार्यकारी पदमा रहेर काम गरिसकेकाले पनि उपमहानगरलाई हाक्नसक्ने क्षमता रहेको उनको भनाइ छ।
यस्तै, माओवादीबाट शान्ति अधिकारीले मेयरका लागि दाबी गरेकी छन्। उनी गत निर्वाचनमा उपमेयर उमेदवार थिइन्। लामो समयदेखि राजनीतिमा क्रियाशील रहेका मेयरका लागि सक्षम रहेको उनको भनाइ छ।