इटहरीको मेयरका लागि एमालेका ६ जनाको नाम सिफारिश
इटहरी उपमहानगरपालिकाको मेयर र उपमेयरको लागि नेकपा (एमाले) उपमहानगर कमिटीले नाम सिफारिश गरेको छ।
एमाले उपमहानगर कमिटी बैठकले इटहरीको मेयरका लागि अहिलेका मेयर द्वारिकलाल चौधरीसहित ६ जनाको नाम सिफारिश गरेको हो। जसमा उपमेयर एवं केन्द्रीय सदस्य लक्ष्मी गौतम, प्रदेश सदस्य रामप्रसाद चौंलागाई, उपमहानगर अध्यक्ष यामकुमार सुब्बा, जिल्ला सदस्य रेवती घिमिरे र बन्नुलाल चौधरी रहेका छन्।
त्यस्तै, उपमेयरमा नौ जनाको नाम सिफारिश भएको छ। जसमा अम्बिका चौधरी, विष्णु शर्मा नेपाल, अमला श्रेष्ठ, अनिता शर्मा, संगीता चौधरी, रामचरण चौधरी, गायत्री चौधरी, रूक्मिणी कोइराला र मिथिला पोख्रेल रहेका छन्।
यसअघि एमालेको स्थानीय कमिटीले विराटनगर र धरानका लागि पनि नाम सिफारिश गरिसकेको छ। नगर तहबाट मेयर र उपमेयरका लागि जिल्ला कमिटीमा सिफारिश पठाएको हो। जिल्लाबाट ३० चैतभित्र प्रदेश पठाइनेछ भने प्रदेशले केन्द्रमा पठाउनेछ। एमाले केन्द्रीय कमिटीले वैशाखको पहिलो साता उम्मेदवार तय गर्नेछ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिका र धरान उपमहानगरपालिकामा नेपाली काग्रेसले र इटहरीमा एमालेले जितेको थियो।