धरानको मेयरका लागि एमालेबाट ११ जनाको नाम सिफारिश
नेकपा (एमाले) को धरान उपमहानगर कमिटीले मेयरको उम्मेदवारका लागि ११ जनाको नाम सिफारिश गरेको छ।
आइतबार बसेको एमालेको धरान उपमहानगर कमिटीको पूर्ण बैठकले सहमतिमा उमेदरवार सिफारिश गर्ने प्रयास गरेको थियो। तर, सहमति नजुटेपछि आकांक्षी सबैको नाम सिफारिश गरिएको जनाएको छ।
उपमहानगर कमिटीले केन्द्रीय सदस्य मञ्जु भण्डारी सुवेदी, प्रदेश कमिटी सदस्यहरू मनोजकुमार मेन्याङ्वो, विजय राई, प्रकाश राई, किशोरकुमार कार्की, मोतिराज सुनुवार, दोर्पध्वज राईको नाम सिफारिश गरेको छ। सुवेदी अहिले उपमेयर छिन् भने मेन्याङ्बो पूर्व मेयर हुन्।
त्यस्तै, जिल्ला कमिटी सदस्यहरू मीनकुमार सुब्बा, नारायण सुवेदी र राजमणी निरौला तथा जिल्ला कमिटीका पूर्व सदस्य तीर्थ मास्केको नाम सिफारिश गरिएको एमालेले जनाएको छ। मेयरको उमेदवारको आकांक्षीका रुपमा चर्चामा आएका सांसद जयकुमार राईको नाम भने सिफारिश भएको छैन।
मेयरको उम्मेदवारमा सिफारिश भएका प्रकाश राई २०७६ मंसीरमा भएको उपनिर्वाचनमा मेयरमा पराजीत भएका थिए। विजय राईको नाम उपनिर्वाचनका वेला पनि सिफारिश भएको थियो।
नाम सिफारिश भएकामध्ये दुई जना मिडिया सञ्चालक हुन्। कार्की ब्लास्ट टाईम्स दैनिकका प्रबन्ध निर्देशक हुन् भने सुनुवार औजार दैनिकका प्रबन्ध निर्देशक हुन्।
एमाले उपमहानगर कमिटीले उपमेयरका लागि ६ जनाको नाम सिफारिश गरेको छ। प्रदेश कमिटी सदस्यद्वय शुसिला पहाडी र लहरू जिमी, जिल्ला कमिटी सदस्यहरू पदम इस्वो लिम्बू, सविता चाम्लिङ, इन्द्रकला राई र लिला राईको नाम उपमेयरको उम्मेदवारका लागि सिफारिश भएको हो।