नियामक निकाय बलियो भए अर्थमन्त्री थुनिनु पर्थ्यो: पूर्व अर्थ मन्त्री पाण्डे
नेकपा (एमाले) नेता तथा पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले अर्थ मन्त्री जनार्दन शर्माले एउटा व्यापारीको नाममा विदेशबाट आएको शंकास्पद ४० करोड रुपैयाँबारे अनुसन्धान गर्नु नपर्ने भनेर गलत निर्देशन दिएको बताएका छन्।
मुलुकको आर्थिक अवस्थाबारे पार्टीको धारणा सार्वजनिक गर्न एमालेले आइतबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै पाण्डेले भने, “अर्थ मन्त्रीले लेखेर फलानाको पैसा दे भन्नै मिल्दैन, अर्थ मन्त्री त्यस्तो अधिकार प्राप्त अधिकारी होइन।”
अनुसन्धान गर्ने निकायले काम गरिरहेका वेला अर्थ मन्त्रीले ‘यो पैसा देऊ वा नदेऊ’ भनेर निर्देशन दिनु एक किसिमले अपराधै भएको पाण्डेको भनाइ छ।
“श्रीलंकामा अर्थमन्त्री भाग्ने रे१ भन्ने सुन्दै छु, नेपालमा त्यो दिन त नआओस्,” पाण्डेले भने, “यदि हाम्रा नियामक निकाय दह्रा हुन्थे भने यही केसमा अर्थ मन्त्रीलाई भित्र हालीदिनुपर्ने हो, किन पत्र लेख्यो भनेर?”
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्र ब्यांकले अनुसन्धान गरिरहेकै वेला अर्थ मन्त्री शर्माले अछाम घर भएका पृथ्वीबहादुर शाहको खातामा आएको ४० करोड रुपैयाँ छुटाउन निर्देशन दिएको सार्वजनिक भएको थियो। अमेरिकी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिनसेन) ले नेपाल राष्ट्र ब्यांकलाई पत्राचार गरेर शाह र उनका परिवारका नाममा आएको रकम जफत गर्न भनेको थियो।
कार्यक्रममा पूर्व अर्थ मन्त्रीद्वय विष्णु पौडेल र युवराज खतिवडाले अर्थतन्त्र संकटग्रस्त बनेको र हस्तक्षेप नगर्ने हो भने नेपाल पनि श्रीलंकाकै बाटोमा जाने बताए।