विराटनगरको मेयरमा लालबाबु पण्डितको नाम सिफारिश भएन, यी हुन् एमालेका पाँच दाबेदार
स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको मेयरका लागि नेकपा (एमाले) महानगर कमिटीले पाँच जनाको नाम सिफारिश गरेको छ।
महानगर कमिटिको बैठकले केन्द्रीय सदस्य रामलाल साह, प्रदेश सदस्य पर्शुराम बस्नेत, नगर अध्यक्ष सागर थापा, मोरङ जिल्ला कमिटी उपाध्यक्ष बाबुराम कार्की र महेश भट्टराईको नाम सिफारिश गरेको हो। महानगरको मेयरको चर्चामा रहेका पूर्व मन्त्रीद्वय लालबाबु पण्डित र जीवन घिमिरेको नाम सिफारिश गरिएको छैन।
संघीय सरकारका पूर्व मन्त्री पण्डितले सर्वसम्मत रूपमा मेयर पदका लागि सिफारिश भएको खण्डमा मात्र आफ्नो दाबेदारी रहने बताउँदै आएका थिए। मेयरका लागि अन्यले पनि दाबी गरेका थिए।
त्यस्तै, विमला घिमिरे दाहाल उपमेयरमा सिफारिश भएपछि प्रदेश सरकारका पूर्व मन्त्री जीवन घिमिरे पनि पछाडि हटेका छन्। उनी उपमेयरमा सिफारिश घिमिरेका श्रीमान् हुन्।
एमाले महानगर कमिटीले उपमेयरमा घिमिरेसँगै शिल्पा कार्की र अन्जु उपाध्यायको नाम सिफारिश गरेको महानगर अध्यक्ष सागर थापाले बताए। महानगरले सिफारिशका गरेका नाममध्ये प्रदेश कमिटीले केन्द्रीय कमिटीलाई सिफारिश गर्नेछ। तिनै नाममध्ये केन्द्रीय कमिटीले मेयर र उपमेयरको उम्मेदवार तय गर्नेछ।
त्यस्तै, एमाले महानगर कमिटीले विराटनगर वडा नंं. १०, ११ र १९ का वडाध्यक्षको नाम पनि टुङ्ग्याएको छ। विराटनगर १० मा अर्जुन गिरी, ११ मा तीर्थेन्द्र न्यौपाने र १९ मा श्याम घिमिरेको नाम वडाध्यक्षको उम्मेदवारका लागि सिफारिश भएको छ।
विराटनगरमा १९ वडा छन्। अन्य वडाको चैतभित्रै नाम टुङ्गो लाग्ने अध्यक्ष थापाले बताए।
२०७४ सालको निर्वाचनमा विराटनगरमा कांग्रेसले आठ वटा वडामा जितेको थियो भने संघीय समाजवादी फोरमले ६, एमालेले तीन, नेकपा (माओवादी केन्द्र) ले एक वडामा विजय हात पारेका थिए ।त्यस्तै, एउटा वडामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए।
अघिल्लो पटक कांग्रेस र राप्रपा एक्लै चुनावमा गएका थिए भने एमाले र फोरम लोकतान्त्रिक तथा माओवादी र संघीय समाजवादीबीच गठबन्धन बनेको थियो। त्यस वेला कांग्रेसबाट प्रमुख पदका उम्मेदवार भीम पराजुली २३ हजार ३१ मत ल्याएर विजयी बनेका थिए।
एमाले र फोरम लोकतान्त्रिक गठबन्धनका तर्फबाट चुनावमा उम्मेदवार बनेका एमालेका विनोद ढकालले १७ हजार ३२१ मत प्राप्त गरेका थिए। त्यस्तै, माओवादी र संघीय समाजवादीका तर्फबाट उम्मेदवार बनेका उमेशकुमार यादवले १४ हजार ९५८, राप्रपाका प्रह्लादप्रसाद साहले पाँच हजार ५२४ मत पाएका थिए।