तस्वीरमा सेतो मच्छेन्द्रनाथको रथयात्रा
वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रामा प्रारम्भ भएको छ।
प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि शुरू हुने सेतो मच्छेन्द्रनाथको रथयात्रामा गएराति राष्ट्रपति विद्यादेवी भण्डारीले पूजा आराधना गरेकी छन्। शनिबार राति १० बजे असन पुगेर राष्ट्रपति भण्डारीले दर्शन गरेकी हुन्।
प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन दरबारमार्गस्थित तीनधारा पाठशालाअघिबाट ल्याएको सेतो मच्छेन्द्रनाथको रथ राति असन पुग्दा राष्ट्राध्यक्षले पूजा, आराधना एवं दर्शन गर्ने परम्परा छ।
तीनधारा पाठशालाअघि एक हप्ताअघिदेखि ३२ हात लामो रथ बनाएर चैते दशैंका दिनदेखि तान्ने गरिएको छ। यो रथलाई नागराजको प्रतीक मानिन्छ।
प्रत्येक वर्ष यो जात्रा गरेपछि देशभर वर्षा र सह हुने धार्मिक विश्वास छ। रथ दोस्रो दिन असनबाट वसन्तपुरस्थित कालभैरवअघि लगिन्छ।
तेस्रो दिन वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ। लगनमा सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाउने गरिन्छ। रथ लगेर बिसाएका स्थानमा करुणामय भगवान् लोकेश्वरको पूजा आराधनाका लागि भक्तजनहरु जम्मा हुने गर्छन्।
सेतो मच्छेन्द्रनाथलाई हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले विधिपूर्वक पूजा आराधना गर्छन्। काठमाडौंमा सेतो मच्छेन्द्रनाथको रथयात्रा सकिएपछि ललितपुरमा रातो मच्छेन्द्रनाथको रथयात्रा शुरू हुनेगर्छ।