विद्रोही अफ्रिकी-अमेरिकन गायिका
अमेरिकी स्वेत समाजसँग १२ वर्षकै उमेरमा विद्रोह गरेकी गायिका, गीतकार, संगीतकार तथा नागरिक अधिकार अभियन्ता निना साइमनको यात्रा अनुकरणीय छ।
सिटी क्लबमा गीत गाउँदै गर्दा गायिका युनिस क्याथलिन वेमोनलाई प्रेमी चिकोले नाम दिए- निना। स्पेनिस भाषाको निना शब्दको अर्थ हुन्छ, सानी केटी। “ऊ मलाई सधै निना भनेर बोलाउथ्यो, त्यसरी बोलाएको एकदमै मन पथ्र्यो,” उनले भनेकी छन्।
निनालाई फ्रान्सेली अभिनेत्री साइमन सिग्नोरेट खुब मन पर्थिन्। उनलाई भेटेकी भने थिइनन्। प्रेमीले दिएको नामसँगै उनले साइमन जोडिन् र उनको नाम बन्यो, निना साइमन।
त्यसको ६ वर्षपछि सन् १९५८ मा उनले डोनाल्ड रससँग बिहे गरिन्। तर, आफ्ना पूर्व प्रेमीले दिएको नाम भने छोडिनन्। प्रेमीले दिएको नामबाटै प्रसिद्धि कमाएकी अमेरिकी गायिका, गीतकार, संगीतकार तथा नागरिक अधिकार अभियन्ता निना साइमनको यात्रा भने अनुकरणीय छ।
२१ फेब्रुअरी १९३३ मा नर्थ क्यारोलिना जन्मिएकी निना साइमन आठ सन्तानमध्ये छैटौं सन्तान हुन्। गरिब परिवारकी सदस्य उनी विलक्षण प्रतिभाकी धनी थिइन्। बाल्यावस्थामै पियानो वादनमा सक्रिय निनाले १२ वर्षकै उमेरमा एउटा लाइब्रेरीमा पियानो बजाउने जिम्मा पाएकी थिइन्। उनले आफ्ना आमाबुवालाई अन्तिमको लाइनमा उभ्याएको देखेर उनीहरूलाई बस्न नदिएसम्म आफूले पियानो नबजाउने अड्डी कसेकी थिइन्। यो नै उनको पहिलो विद्रोह थियो, स्वेत समाजसँग।
निना साइमनले क्लासिकल पियानो सम्बन्धी अध्ययनमा लागेकी थिइन्, तर आर्थिक अभावले निरन्तरता दिन सकिनन्। त्यसपछि उनी रात्रिक्लबमा प्रस्तुति दिन थालिन्। त्यससँगै उनले ज्याज, ब्लुज र लोक संगीतमा ढल्किँदै गइन्। सन् १९५७ मा उनको पहिलो अल्कम रिलिज भयो, लिटिल गर्ल ब्लु।
सन् १९६० को दशकमा निनाले नागरिक अधिकार आन्दोलनको अगुवाइ गर्न थालिन्। उनको आवाज सुनिन थाल्यो। त्यससँगै उनले फेसनमा पनि आफ्नो पहिचान विस्तार गरिन्।
तीन वर्षमै पियानो वादक
निना ३ वर्षको उमेरदेखि नै चर्चको समूहमा पियानो सिक्न थालेकी थिइन्। उनको सांगीतिक प्रशिक्षण विथोभेन र ब्राहम्सको लाइनमा शास्त्रीय प्रस्तुतीकरणलाई जोड दियो। पछि गएर पहिलो अफ्रिकी अमेरिकी कन्सर्ट पियानो वादकको रुपमा मान्यता प्राप्त गर्ने ईच्छा व्यक्त गरिन्। संगीत शिक्षकले उनको शिक्षाको लागि लगानी गर्न विशेष कोष स्थापना गर्न मद्दत गरे।
हाइस्कूल पूरा गरेपछि त्यही कोष न्यूयोर्कको प्रसिद्ध जुलियर्ड स्कूल अफ म्युजिकमा तालिम दिन पठाउन प्रयोग गरियो। उनले जुलियर्डमा रहेर पियानो प्रशिक्षकको रुपमा काम पनि गरिन्। तर, आर्थिक अभावमा अचानक स्कूल छोड्नुपर्यो।
त्यसपछि आफ्नो परिवार भएको स्थान फिलाडेल्फिया गइन्। उनको उद्देश्य आर्थिक बचत गरेर संगीत कार्यक्रममा जानु थियो। यस्तैमा उनको करियरले नसोचेको मोड लियो, फिलाडेल्फियाको कर्टिस ईन्स्टिच्यूट अफ म्युजिकले अस्वीकृत गर्यो। पछि उनले अफ्रिकन अमेरिकन भएकै कारणले अस्वीकृत गरिएको दाबी गरिन्।
ज्याज र ब्लुजको यात्रा
आर्थिक अभावले शास्त्रीय संगीबाट टाढा भएपछि उनले अमेरिकन स्टान्डर्डको ज्याज र ब्लुज संगीततिर लागिन्। त्यससँगै गीत पनि गाउन थालिन्। उनको प्रस्तुतिले ह्युजेस, लोरेन, हान्सवेरी र जेम्स बाल्डविन जस्ता लेखकको समेत मन जित्यो। सन् १९५० को दशकको उत्तराद्र्धमा नविनतम शैलीको फयुजनसहित संगीत रेकर्ड गर्न थालिन्। सन् १९५७ मा उनको पहिलो पूर्ण अल्बम आयो, जसमा ‘प्लेन गोल्ड रिङ’ र ‘लिटिल गर्ल’ जस्ता गीत थिए।
त्यसपछि उनले अल्बम निकाल्दै गइन्। ‘द अमेजिङ निना साईमन सिङ्गस ईलिङटन (१९६२)’, ‘वाईल्ड इज द विन्ड (१९६६)’ र ‘सिल्क एन्ड सोल (१९६७)’ मा लोकप्रिय गीत संग्रहित छन्। उनले सिर्जना गरेको संगीतले त्यतिवेलाको स्थापित मानक र परिभाषालाई बेवास्ता गर्यो। उनले संगीतको कुवाबाट गोसपेल पप र लोक संगीतलाई निकालिन्।
निनालाई आत्माको पुजारी पनि भनिन्थ्यो। तर, उनी त्यो निकनेमलाई घृणा गर्थिन। उनी आफूलाई ज्याज गायिकाको ट्याग लगाइदिएको मन पर्दैन्थ्यो। बरु लोक गायिक भन्न रुचाउँथिन्। किनकि, उनले आफ्नो संगीतमा ज्याजभन्दा बढी फोल्क र ब्लुज धुन समावेश गरेकी थिइन्। यो कुरा आफ्नो जीवनीमा पनि लेखेकी छन्।
अधिकारवादी गायिका
सन् १९६० को मध्यबाट निना नागरिक अधिकारको आन्दोलनको आवाजको रुपमा चिनिन थालिन्। सन् १९६३ मा मेडगर इभर्स र बर्मिघंम चर्चमा बम विस्फोटमा चार जना अफ्रिकन अमेरिकन किशोरीको हत्याको विरोधमा ‘मिसिसिपी गोडाम र चार महिला’ लेखिन्।
त्यस्तै उनले एक चौथाइ अफ्रिकी अमेरिकी महिला व्यक्तित्वको जटिल इतिहास, युवा, गिफ्टेड जस्ता सिर्जनाहरू पनि ल्याइन्। ह्याम्सवेरीका नाटकको शीर्षकलाई लिएर गीत बनाइन्। जुन पछि लोकप्रीय राष्ट्रिय गीत बन्यो। सन् १९६८ मा मार्टिन लुथर किङ जुनियरको हत्यापछि निनाका वासवादक ग्रेग टेलरले ‘द किङ अफ लभ ईज डेड’ लेखे जसलाई गायक र उनको ब्यान्डद्वारा वेस्टवेरी संगीत महोत्सवमा प्रस्तुत गरिएको थियो।
निनाको संघर्ष र सम्झना
सन् १९६० को दशक नजिकिदै गर्दा निना अमेरिकी संगीत दृश्य र देशको गहिरो विभाजित जातीय राजनीतिबाट थकित थिइन्। त्यतिवेला उनी न्यूयोर्कमा मालकोम एक्स र वेटी सवाजका छिमेकी भएर बसिन्। पछि उनी लाइबेरिया, स्वीजरल्यान्ड, वार्वाडस लगायत थुप्रै देशमा बसिन्। उनले वर्षौसम्म गम्भिर मानसिक स्वास्थ्य तथा आर्थिक समस्या झेल्नुपर्यो।
उनले आफू घरेलु हिंसामा पनि परेको लेखेकी छन्। उनको व्यवस्थापक तथा रेकर्ड लेवल र आन्तरिक राजश्व सेवाहरूसँग पनि विवाद भयो।
सन् १९७० को मध्यतिर रेकर्डिङबाट ब्रेक लिइन्। सन् १९७८ मा पुनः उनी बाल्टिमोर अल्बममार्फत आइन्। तर, यो अल्बम व्यापारिक हिसाबले त्यति सफल भएन। सन् १९८० मा उनको गीत ‘माई बेबी जस्ट केयर फर मी’ आयो, जुन गीत बेलायतमा सन् १९८५ मा उत्कृष्ट १० गीतमा पर्यो।
उनले अटोबायोग्राफी ‘आई पुट अ स्पेसल अन यू’ लेखिन्, जसको प्रकाशन सन् १९९१ मा भयो। सन् १९९३ मा निनाले ‘अ सिंगल वुमन’ अल्बम ल्याइन्।
उनका कन्सर्टमा मान्छेको खचाखच भीड हुन्थ्यो। सन् १९९८ मा उनी न्यूयोर्क सहित तीन राज्यमा देखा परिन्। जुन पाँच वर्षपछिको यात्रा थियो। नेवार्कको न्यूजर्सी परफर्मिङ आर्ट सेन्टरमा भएको कार्यक्रमको समीक्षा गर्दै न्यूयोर्क टाईम्समा जोन परेलेसले लेखे, ‘साइमनको आवाजमा अझै शक्ति छ र उक्त कार्यक्रममा एक प्रिय आवाज, एक प्रसिद्ध व्यक्तित्व र ती दुवैलाई विशाल बनाउने संगित समूह छ।’ सोही वर्ष उनी दक्षिण अफ्रिकाका नेता नेल्सन मण्डेलाको ८०औं जन्मदिनको उत्सवमा सहभागी भइन्।
स्तन क्यान्सरसँग जुधिरहेकी निनाको ७० वर्षको उमेरमा फ्रान्सको क्यारी ले राउटस्थित निवासमा २१ अप्रिल २००३ मा निनाको मृत्यु भयो। उनी आफ्नो समयकी बहुप्रतिभाशाली कलाकारमध्ये थिइन्। उनका गीत संगीतमा उदासी, क्रोध देखिन्थ्यो। उनका गीत संगीतमा त्यतिवेलाको समाज र परिस्थिति अनि उनले भोगेको जीवन मिसिएको हुन्थ्यो। एटलान्टिक शहरमा शास्त्रीय पियानोवादक बन्ने सपना देखेकी निनाले पश्चिमी संगीतमा नयाँ आयाम भर्ने काम गरिन्।
सन् १९९९ मा पछिल्लोपटक निना आफ्नी छोरी लिसा साइमनको साथमा आयरल्यान्डमा ‘गिनिज ब्लुज फेस्टिभल’मा प्रस्तुत भएकी थिइन्। लिसाले पनि आफ्नी आमाको पदचापलाई पछ्याउँदै केही प्रस्तुति दिइन्। आफ्नो समुदायप्रतिको अन्याय र विभेदलाई चिर्न आवाज दिँदै आएकी निनालाई सधैं सम्झनामा रहिरहनेछिन्।