सांसदको चुनाव लड्दा ६ करोड खर्च भयो: डा. शशांक कोइराला
नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले सांसदको चुनाव लड्दा ६ करोड रुपैयाँ खर्च भएको बताएका छन्।
काठमाडौंमा शनिबार नेपाल विद्यार्थी संघले आयोजना गरेको कार्यक्रममा बोल्दै डा. कोइरालाले चुनावी खर्च घट्दै जानुपर्नेमा बढ्दै गएको बताए। तीन पटक चुनाव लड्दा प्रत्येक पटक चुनावी खर्च बढ्दै गएको उनको भनाइ थियो।
उनी नवलपरासी-१ बाट निर्वाचित सांसद हुन्। उनी पहिलो र दोस्रो संविधान सभामा नवलपरासीबाटै निर्वाचित भएका थिए।
“नवलपरासी १ गैडाकोटबाट तीन चोटी चुनाव लडेँ। पहिलो चुनावमा मेरो खर्च ८० हजार रुपैयाँ थियो,” डा. कोइरालाले भने, “दोस्रो चुनावमा तीन करोड र पछिल्लो चुनावमा ६ करोड खर्च भयो।”
पहिलो चुनावमा नयाँ हुँदा खर्च कम भएको बताउँदै त्यसपछि घट्दै जानुपर्नेमा बढ्दै गएको उनको भनाइ छ। “पहिलो चुनावमा मैले धेरै मान्छेलाई चिन्दैन्थे, मेरो लागि नौलो ठाउँ थियो,” उनले भने, “सात वटा गाविस थिए, हरेक गाविसमा हिडेर जानुपर्नेमा मलाई मान्छेले उठाएर लगेका थिए।”
त्यसपछि मान्छेसँग चिनजान भएको खर्च घट्ला भन्ने सोचेको उनले बताए। तर, खर्च बढ्दै जाँदा चुनाव लड्न गाह्रो हुने अवस्था आएको बताए। “ल भन्नुस् त तपाईहरू कोही चुनाव लड्न चाहनुहुन्छ मेरो क्षेत्रबाट। म छोड्न तयार छु,” डा. कोइरालाले भने।