बागमती प्रदेशमा गाडी भाडा बढ्यो, नयाँ वर्षदेखि लागू हुने
बागमती प्रदेश सरकारले काठमाडौं उपत्यका सहित प्रदेशभर चल्ने सार्वजनिक यातायातका साधनको भाडा बढाएको छ।
बागमतीको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले १ वैशाखदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनको भाडा बढाएको हो। २४ चैतको मन्त्रीस्तरीय निर्णयबाट गाडी भाडा वृद्धि गरिएको मन्त्रालयले जनाएको छ।
प्रदेश सरकारले काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा दुई रुपैयाँ भाडा बढाएको छ। यसअघि न्यूनतम भाडा रु. १८ थियो भने अब रु. २० बनाएको छ।
यसअघि उपत्यकामा २० किलोमिटरभन्दा माथिको भाडा ३५ रुपैयाँ थियो। यसलाई बढाएर ३८ रुपैयाँ बनाएको छ।
त्यस्तै, उपत्यका बाहिर चल्ने सार्वजनिक सवारी साधनको भाडा १० प्रतिशतले बढाएको छ। मालबाहक सवारी साधनमा १५ प्रतिशत भाडा बढाएको मन्त्रालयले जनाएको छ।
पेट्रोलियम पदार्थको मूल्य बढेकाले भाडा समायोजन गरिएको मन्त्रालयको भनाइ छ।