निर्वाचन आचारसंहिता संशोधन हुँदैन, उल्लंघन गर्नेलाई कारबाही हुन्छ: प्रमुख निर्वाचन आयुक्त
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता संशोधन नहुने बरु उल्लंघन गर्नेलाई कारबाही हुने बताएका छन्।
आचारसंहिता लागू गरिएको विषयमा आयोगले गरेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले यसको पालना गर्न सबैलाई आग्रह गरे।
“आचारसंहिता आयोगले बनाएको हो। अहिले आयोग यसलाई संशोधन गर्दैन,” थपलियाले भने, “यसलाई स्पष्टता कायम गर्छ, अझै व्यवस्थित गर्नका लागि निर्णय गर्छ। यसको प्रभावकारिताका लागि के गर्नुपर्ने हो, त्यो गर्छ।”
उनले आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गरिने बताए। “आचारसंहिता उल्लंघन गर्यो भने त्यो निर्वाचन कसूर हुन्छ, निर्वाचन कसूरमा कानून अनुसार कारबाही गर्न आयोग तयार छ,” उनले भने, “कसैलाई छुट हुँदैन, कसैलाई क्षमा हुँदैन।”