चिनियाँ राष्ट्रपति रुस भ्रमणमा
चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार रुसमा भेटवार्ता भएको छ ।
उनीहरूबीच रुसी शहर सेन्ट पिटस्बर्गमा भेटवार्ता भएको समाचारमा जनाइएको छ । चिनियाँ राष्ट्रपति चिनफिङ हाल रुस भ्रमणमा रहेका छन् ।
भेटका क्रममा चिनियाँ राष्ट्रपति सीले उक्त शहरको सुन्दरताको बयान गरेको बताइएको छ ।
उनले रुसको सेन्ट पिटस्बर्ग शहरले रुसका धेरै महत्वपूर्ण व्यक्तिहरू जन्माएको भन्दै रुस र रुसी नागरिकका लागि सो स्थान ठूलो गर्व हो बताएको समाचारमा जनाइएको छ ।
उनीहरूले सो भेटका क्रममा उक्त शहरका साथै रुस र चीनको पर्यटकीय एवम् अन्य विविध स्थान र शहरबारेमा कुराकानी गरेको समाचारमा जनाइएको छ ।
ती शहरहरूको सुन्दरताको बयान गर्दै आपसी हितका विभिन्न क्षेत्रमा दुवै नेताले कुराकानी गरेका थिए । दुई देशका नागरिकबीचको जनसम्पर्क तथा सांस्कृतिक सम्बन्धका बारेमा उनीहरूबीच कुराकानी भएको थियो ।
त्यस भेटका क्रममा रुसी राष्ट्रपति पुटिनले रुसले थप चिनियाँ पर्यटकलाई स्वागत गर्न चाहेको बताएका थिए । चिनियाँ राष्ट्रपति सी सेन्ट पिटस्बर्ग पुगेपछि रुसी राष्ट्रपति पुटिनबीच विभिन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दामा कुराकानी भएको थियो ।
समसामयिक अन्तर्राष्ट्रिय राजनीतिका साथै विविध क्षेत्रीय विषयमा उनीहरूबीच कुराकानी भएको समाचारमा जनाइएको छ । उनीहरूबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा कुराकानी भएको पनि समाचारमा उल्लेख गरिएको छ ।
चिनियाँ राष्ट्रपति सी बिहीबार बिहान सेन्ट पिटस्बर्ग पुगेका हुन् । उनी २३ औँ सेन्ट पिटस्बर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा भाग लिनका लागि यहाँ आएका हुन् ।