जनकपुरधाममा व्यवसायीदेखि सांसदसम्म दाबेदार
मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरको मेयरका लागि व्यवसायीदेखि सांसदसम्म उम्मेदवार बन्न लबिङ गरिरहेका छन्।
स्थानीय तहको निर्वाचन नजिकिएसँगै जनकपुरधाम उपमहानगरपालिकामा पनि उम्मेदवारको चर्चा शुरू भएको छ। प्रमुख राजनीतिक दलका १४ जनाले टिकटका लागि लबिङ थालेका छन्।
मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधामको नेतृत्व लिन जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँगै नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) नेता-कार्यकर्ता तयारीमा जुटेका छन्।
पाँचै पार्टीमा उम्मेदवारका आकांक्षीले लबिङ बताएका छन्। नेकपा (माओवादी केन्द्र) र सीके राउत नेतृत्वको जनमत पार्टीमा भने उम्मेदवारको चर्चा शुरू भएको छैन।
अहिले जनकपुरधाम उपमहानगरको नेतृत्व गरिरहेको जसपाबाट तीन जनाको नाम चर्चामा छ। मेयर लालकिशोर साहले फेरि उम्मेदावर बन्ने तयारी गरेका छन्। “स्वभाविक रुपमा मेयरका लागि मेरो दाबी रहन्छ,” उनले हिमालखबरसँग भने। त्यस्तै, जसपाका नेता विष्णुदेव साह र बजरंग यादवले पनि मेयरका लागि दाबी गरेका छन्।
महन्थ ठाकुर नेतृत्वको लोसपाबाट चार जनाको नाम चर्चामा छ। मधेश प्रदेश सभा सदस्य परमेश्वर साह, जनकपुरधाम-७ का वडाध्यक्ष जानकीराम साह, लोसपा नगर अध्यक्ष मनोज चौधरी र उपमेयर रिता मिश्रले दाबी गरेका छन्।
सांसदले चुनाव लड्ने चर्चा भएसँगै लोसपा कार्यकर्ता उत्साहित भएका छन्। “पार्टीले निर्णय गरेको खण्डमा आफू चुनाव लड्न तयार छु, पार्टीले दिएको जिम्मेवारी पूरा गर्न तयार छु,” साहले हिमालखबरसँग भने।
यसैगरी, कांग्रेसबाट तीन जना दाबेदार देखिएका छन्। पूर्व मेयर बजरंगप्रसाद साह, राकेशविक्रम साह र मनोज साहले दाबी गरेका छन्। राकेशविक्रम कांग्रेसका नगर उपसभापति हुन्। त्यस्तै, मनोज गत निर्वाचनमा कांग्रेसका उम्मेदवार थिए। उनले तयारी गरिरहेको बताए। “गत निर्वाचनको निकटतम् प्रतिद्वन्द्वी रहेकाले यस पटक फेरि मेयर लागि उम्मेदवारी दिने तयारी गरिरहेको छु,” उनले भने, “यद्यपी पार्टीले गर्ने निर्णय मेरा लागि सर्वोपरी हुन्छ।”
एमालेबाट मेयरको उम्मेदवारमा दुई जनाको नाम चर्चामा छ। शिवशंकर साह ‘हिरा’ र उमेश चौधरीले टिकटका लागि लबिङ गरिरहेका छन्। अब युवालाई अवसर दिनुपर्ने र त्यसका लागि आफू तयार रहेको हिराले बताए। उनी जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन्।
त्यस्तै, चौधरीले मेयरका लागि आफ्नो स्वभाविक दाबी रहने बताए। “पछिल्लो निर्वाचनमा पनि मेरो नाम सिफारिश भएको थियो। यस पटक पार्टीले टिकट दिएमा निर्वाचन जितेर देखाउँछु,” उनले भने।
माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले पनि जनकपुरधामको मेयरका लागि तयारी थालेको छ। एकीकृत समाजवादीबाट डा.अजय झाको नाममा चर्चामा छ।
निर्माण व्यावसायी बलराम महतोले जनकपुरधामको मेयरमा उम्मेदवार बन्ने घोषणा गरिसकेका छन्। माओवादीबाट संविधान सभा सदस्यका लागि नाम सिफारिश भएका उनी कुन पार्टीबाट उम्मेदवार बन्ने टुंगा लागेको छैन। उनी निकट व्यक्तिहरूका अनुसार महतोले नेपाली कांग्रेसबाट टिकटका लागि लबिङ गरिरहेका छन्।
अपूरा प्रतिवद्धता
जनकपुरधामका मेयर लालकिसोर साहले २६ वटा प्रतिवद्धता जनाएका थिए। तर, अहिलेसम्म अधिकांश प्रतिवद्धता पूरा भएका छैनन्।
उनले पहिलो नगर सभामा साहले नगर क्षेत्रको पूर्वाधार निर्माण, फोहरमैला व्यवस्थापन तथा ढल निर्माण, नगरभित्र ऐतिहासिक धार्मिक मठमन्दिर व्यवस्थापन, धार्मिक सरोवरहरूको सौन्दर्यीकरण तथा संरक्षणमा विशेष ध्यान दिइने बताएका थिए। त्यस्तै, नगर सुरक्षालाई ध्यान दिदै सडक बत्ती, सीसी क्यामरा, ट्राफिक संकेतको व्यवस्थापनमा गर्ने बताएका थिए।
उनका प्रतिवद्धतामा पर्यटन वेब साइट, पर्यटकीय गाइड बुक तयार गर्ने, प्लाष्टिकजन्य वस्तुको प्रयोगलाई निषेध गरि माटोको भाँडा, कागज र कपडाको झोला तयारीमा अनुदान दिने, सामाजिक समावेशीकरण तथा लैंगिक समानताका दृष्टिकोणले बालमैत्री स्थायि शासन, महिला, दलित, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, अनाथ बालबालिकाको हेरचाहमा जोड दिने उल्लेख थियो।
यस्तै, सिप विकास तथा रोजगार प्रवर्द्धन कार्यक्रममा जोड दिई गरिबी न्यूनिकरण गरिने, सूचना प्रविधिमा आधारित प्रशासन सञ्चालन गर्दै सुशासन, पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व प्रवर्द्धन गर्ने प्रतिवद्धता गरेका थिए।
यससँगै स्मार्ट सिटीको अवधारणालाई अवलम्बन गर्ने, नगर क्षेत्रको सार्वजनिक जग्गाको संरक्षण गर्ने, चक्रपथ निर्माण प्रतिवद्धता पनि अधुरै रहेका छन्।
उपमहानगरले वित्तिय अनुशासन पनि कायम गर्न सकेको छैन। आर्थिक वर्ष २०७४/७५मा .२५ करोड ८४ लाख ७७ हजार बेरुजू देखिएको थियो। बेरुजु रकम बढेर आर्थिक वर्ष २०७६/७७ मा ३५ करोड ५७ लाख ३२ हजार पुगेको छ।