औद्योगिक करिडोरमा १२ घण्टासम्म अघोषित लोडसेडिङ
नेपाल विद्युत् प्राधिकरणले सुनसरी-मोरङ औद्योगिक करिडोरमा दैनिक १२ घण्टासम्म अघोषित लोडसेडिङ गरेपछि उद्योगी समस्यामा परेका छन्।
चर्को मूल्यवृद्धि, महँगो ब्याजदरसँगै नियमित विद्युत् आपूर्तिको समस्याले सुनसरी-मोरङ औद्योगिक करिडोर क्षेत्रका उद्योगीहरू समस्यामा परेका छन्।
सुनसरी-मोरङ औद्योगिक करिडोरमा दैनिक १२ घण्टासम्म अघोषित लोडसेडिङ हुँदै आएको छ। जसका कारण उनीहरूले उद्योगको ५० प्रतिशत उत्पादन कटौती गरेका छन्।
साना-ठूला गरी पाँच सय ६० वटा उद्योग रहेको सुनसरी मोरङ औद्योगिक करिडोरमा दुई सातायता हरेक दिन विद्युत् आपूर्ति रोकिएको छ। हरेक दिन १२ घण्टा लोडसेडिङ हुने गरेको उद्योगी बताउँछन्।
नेपाल जुट संघका अध्यक्ष राजकुमार गोल्छाले उद्योगका लागि बिजुली अनिवार्य भएकाले अहिलेको अघोषित लोडसेडिङका कारण उद्योय सञ्चालन गर्न निकै कठिनाइ भएको बताए।
उनले विशेष गरी जुट उद्योगमा एकै ठाउँमा चार हजार बढी कामदारले काम गर्ने भएकाले १० घण्टा बढी लोडसेडिङ भएका कारण मजदूर कटौती गर्ने अवस्था आएको बताए।
अहिले लोडसेडिङको समयमा जेनेटर चलाएर भए पनि उद्योग सञ्चालन गरिरहेकाले धेरै दिनसम्म यसरी उद्योग चलाउन नसकिने उद्योगी गोल्छाले बताए।
अर्का उद्योगी नन्दलाल राठीले कोरोनाको समस्या लगायत कारण धराशायी बनेको समयमा ऊर्जा संकटले उद्योगीहरू पलायन हुने अवस्था आएको बताए।
“कोरोना कहरसँगै ब्यांकको चर्को ब्याजले थला परेका उद्योगीलाई ऊर्जा सङ्कटले भेन्टिलेटरमा पुर्याएको अवस्था छ,” उद्यमी राठीले प्रश्न गरे, “उत्पादनमूलक उद्योग १२ घण्टासम्म लोडसेडिङको मारमा परेपछि कसरी चलाउनु?” डिजेलका भरमा जेनेरेटरबाट चलाउन सम्भव नभएको उनको भनाइ छ।
अहिलेको अवस्थामा उद्योगको अवस्था निकै नाजुक भएकाले सरकारले समयमै समस्या समाधान नगरेको खण्डमा उद्योगले ७५ प्रतिशतसम्म उत्पादन कटौती गर्ने अवस्था आउने उनको भनाइ छ। त्यति वेला अवस्था विकाराल हुन सक्नेतर्फ सरकारले ध्यान दिनुपर्ने उनले बताए।
औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टासम्म विद्युत् आपूर्ति रोकिने गरेको छ। प्राधिकरणले अघोषित रूपमा लोडसेडिङ गरेपछि औद्योगिक क्षेत्रका उद्योगको ५० प्रतिशत उत्पादन कटौती भएको छ।
यहाँका उद्योगीले दैनिक ७० करोड रुपैयाँ नोक्सानी बेहोर्नुपरेको उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले बताए। अध्यक्ष प्याकुरेलले तत्काल उर्जा सङ्कट अन्त्यका लागि पहल गर्न पनि सरकारसँग आग्रह गरे।
विद्युत् बढी खपत हुने रातको समयमा भारतबाट खरीद गर्दा महँगो पर्ने र महँगोमा प्राधिकरणले बिजुली किन्न नसकेका कारण बाध्य भई औद्योगिक क्षेत्रमा लोडसेडिङ गर्नुपरेको प्राधिकरणका अधिकारीको भनाइ छ।
डिजेल र पेट्रोलको मूल्यवृद्धि भएका कारण जेनेरेटरबाट उद्योग चलाउन नसकिने उद्योगीको निष्कर्ष छ। सरकारले विद्युत् खपत वृद्धि गर्नुपर्नेमा प्रोत्साहन गरे पनि लोडसेडिङका कारण थप समस्या चुलिंदै गएको देखिन्छ। समयमै विद्युत् आपूर्ति सहज नगर्ने हो भने उद्योग कलकारखाना बन्द हुने भन्दै उद्योगीले चिन्ता जनाएका छन्।
उद्योगी तथा व्यावसायीका अनुसार, सुनसरी-मोरङ औद्योगिक करिडोर क्षेत्रमा साना ठूला गरी करीब पाँच सयभन्दा बढी उद्योग सञ्चालनमा छन्। यी उद्योगमा ५० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्।