आधारशिविरबाट शुरू भएको वकालत यात्रा
सगरमाथामा ५ वैशाख २०७१ मा १६ जनाको ज्यान लिएको खुम्बु हिमपहिरोले पासाङकान्छी शेर्पालाई कानून व्यावसायी बनायो।
वसन्त यामको सगरमाथा आरोहणको बाटो बनाउन शेर्पाको टोली खुम्बु आइसफल पुगिसकेको थियो। आधारशिविर पनि खचाखच थियो। माथि उक्लिने तयारी गरिरहँदा बिहान ६ः४५ मा एकाएक हिमपहिरो आयो।
५ वैशाख २०७१ को बिहान खसेको हिमपहिरोले १६ जना शेर्पाको ज्यान गयो। नौ जना घाइते भए। खुम्बु आइसफलमा ज्यान गुमाएका शेर्पाको शव अर्को दिन आधारशिविरमा ल्याइयो।
कक्षा १२ को परीक्षा दिएर काठमाडौंबाट घर फर्केकी पासाङकान्छी शेर्पा पनि आफन्तजनसँगै आधारशिविर पुगिन्। “आफन्तको मृत्युको खबरले शेर्पा स्तब्ध थिए। सगरमाथा आरोहणका लागि आएका आरोही पनि भयभीत थिए,” पासाङ सम्झिन्छिन्।
समुद्री सतहबाट पाँच हजार १६४ मिटरको उचाइमा रहेको गोरकशेपबाट सगरमाथा आधारशिविर पुग्न एक घण्टा हिंड्नुपर्छ। त्यही गोरकशेपमा जन्मे-हुर्केकी पासाङ पनि हिमपहिरो गएको खबर सुनेपछि आधारशिविर पुगेकी थिइन्।
आधारशिविर पुगेका झण्डै ३०० पर्यटक सगरमाथा चढ्न पाइन्छ कि पाइँदैन भनेर चिन्तित थिए। “शेर्पा दाजुभाइ भने शोकमा डुबेका थिएँ,” उनी सुनाउँछिन्।
पीडामा रहेका शेर्पा यो वर्ष आरोहण नगर्ने बताइरहेका थिए। त्यही वेला सरकारले मृतकका परिवारलाई ४० हजार रुपैयाँ राहत दिने घोषणा गर्यो। यसले झन आक्रोश बढायो। ”आधारशिविरमै आरोही र शेर्पाबीच विवाद भयो,” त्यो सब दृश्य नियालिरहेकी पासाङ भन्छिन्, “आरोहीले प्रष्टसँग आफ्ना कुरा राखिरहेका थिए, शेर्पा आफ्नो पीडा र समस्या भन्न सकिराखेका थिएनन्। उनीहरूको पक्षबाट बोलिदिने मान्छे पनि थिएनन्।”
त्यसले पासाङलाई खूबै पिरोल्यो। उनलाई लाग्यो- ज्यानकै बाजी राखेर आरोहीलाई सगरमाथा पुर्याउने शेर्पाको हकअधिकारका विषयमा बोलिदिने, कानूनी लडाइँ लडिदिने मान्छे, उनीहरूको अधिकारबारे जानकारी दिनु जरुरी रहेछ।
त्यो सबै दृश्य देखेर बुबासँगै घर फर्किंदा उनको मनमा नयाँ विचार आयो। उनले बुबा आङछिरिङ शेर्पालाई भनिन्, ‘म कानून पढ्छु। आफ्नो समुदायको पक्षमा वकालत गर्छु।’
त्यसको ठ्याक्कै आठ वर्षपछि गत फागुनमा सगरमाथा फेदकै खुम्बु पासाङल्हामु गाउँपालिकाले एउटा कार्यक्रम आयोजना गर्यो। त्यहाँ पुगेकी उनलाई गाउँपालिकाले खुम्बु क्षेत्रको पहिलो महिला अधिवक्ता भनेर सम्मान गर्यो। “मैले कहिल्यै यस्तो सम्मान पाउँछु वा मेरो क्षेत्रमा म नै पहिलो अधिवक्ता बन्छु भन्ने सोचेर यो विषय पढेको होइनँ,” अधिवक्ता पासाङ भन्छिन्, “गाउँपालिकाले सम्मान गर्न बोलाएपछि मात्र आफू नै पहिलो अधिवक्ता भएको थाहा पाएँ।”
सगरमाथाको त्यो दुःखद घटना देखेर घर फर्किंदै गर्दा पासाङले भनेको कुरामा उनका बुबाले पनि सहमति जनाएका थिए। उनको इच्छा अनुसार नै घरपरिवारले कानून पढाइ हुने कलेजबारे सोधखोज गर्यो। उनका दाइले ‘काठमाडौं स्कूल अफ ल’ मा भर्ना गरेका थिए।
वकील बनेर गाउँमा फर्किंदा पनि उनलाई त्यही घटनाको याद आयो। त्यही घटनाले वकील बनाएको पासाङ बताउँछिन्। भन्छिन्, “भर्खरै १२ कक्षा पढेर घर गएकी थिएँ। त्यसपछि कुन विषय पढ्ने भन्ने टुङ्गो लगाएकी थिइनँ। यो घटनाले मलाई बाटो देखायो, कानून पढ्ने निर्णय गरें।”
गोरकशेपदेखि काठमाडौंको यात्रा
रमाइलो त गोरकशेप नै थियो। सगरमाथा आधारशिविर जानेहरू उनकै गाउँ भएर ओहोरदोहार गर्थे। अझ वसन्त र हिउँदे आरोहणको याममा त गुल्जार नै हुन्थ्यो।
अझ उनका आमाबुबा आङल्हामु शेर्पा र आङछिरिङ शेर्पा हिमालको आडैमा होटल चलाउँथे। त्यसले पनि मान्छेको चहलपहल भइरहन्थ्यो। तर, उनले धेरै समय गोरकशेपमा बिताउन पाइनन्। “नजिकमा विद्यालय थिएन, त्यसैले पढाइका लागि आमाबुबाले काठमाडौं पठाउनुभयो,” उनी भन्छिन्।
उनको गाउँबाट नजिक भनेको खुमजुङ माध्यमिक विद्यालय हो। खुमजुङमा रहेको त्यो विद्यालय पुग्न उनका आमाबुबाको होटल भएको गोरकशेपबाट दुई दिन हिंड्नुपर्छ। “दुई दिन लाग्ने खुमजुङभन्दा काठमाडौं पढाउन राम्रो ठान्नुभयो,” पासाङ सुनाउँछिन्। त्यसैले दाइ र दिदीसँगै उनी पनि सानैमा काठमाडौं आइन्। यतैको वातावरणमा हुर्किइन्, पढिन्।
जेठो दाइ व्यवसाय गर्छन्। सानो दाइ इन्जिनियर छन् भने दिदी चिकित्सक। त्यसैले उनलाई पनि कुनै क्षेत्रमा दक्षता हासिल गर्नुपर्छ भन्ने मनमा रहिरह्यो। पढाइमा अब्बल उनी हिमपहिरो जाँदा सगमारथा आधारशिविर नपुगेकी भए दाइ र दिदीकै बाटो पछ्याउँथिन्। “परिवारकै व्यवसायलाई निरन्तरता दिन त्यसैसँग सम्बन्धित विषय पढ्थें होला,” उनी भन्छिन्।
सबैले हिंडेको बाटोभन्दा फरक बाटोमा हिंड्दा कठिन हुँदो रहेछ भन्ने महसूस गरेकी छन्। “मेरा साथीहरूले कानून पढ्दा शुरूआतमै कुन विषय पढ्ने भन्ने तय गरिसकेका हुन्थे, म भने पढ्दै, उत्तीर्ण हुँदै गएपछि मात्रै तय गर्थें,” उनी भन्छिन्।
सोलुखुम्बु क्षेत्रका मानिस धेरैजसो होटल व्यवसायमा संलग्न छन्। अझ आरोहणमा जाने त परम्परागत पेशा नै भयो। जसले गर्दा अझै पनि लेखपढ गर्ने कमै हुन्छन्। “पहिलेदेखि नै हाम्रा पूर्वजहरू हिमाल चढ्नमै व्यस्त हुने भएका कारण कमै मात्र शिक्षित छन् भने युवा पनि कक्षा १२ मै छोड्ने वा विदेशिने गरेका छन्,” उनी गाउँको अवस्था सुनाउँछिन्।
त्यसैले पनि कानून, अधिकारका कुरामा अनभिज्ञ नै छन्। खुम्बु क्षेत्रमा आपराधिक घटना त विरलै हुन्छन्, तर व्यवसायसँग सम्बन्धित विवाद भने भइरहन्छन्। त्यसमा खुम्बु क्षेत्रका बासिन्दालाई सघाउने उनले तय गरेकी छन्। त्यसैले उनले ल फर्म पनि सञ्चालन गरेकी छन्। “खुम्बु क्षेत्रका विद्यालय र गाउँमा कानून सम्बन्धी जानकारी दिन्छु, उनीहरूलाई कानूनी सहायता दिलाउँछु,” पासाङ भन्छिन्।
भाषाले कठिनाइ
उनलाई अध्ययनका क्रममा भाषाले कठिनाइ भयो। उनको मातृभाषा शेर्पा हो। त्यसमै बोलचाल गर्ने उनले स्कूल चाहिं अंग्रेजी भाषामै पढिन्। “मैले शुरूमै निजी विद्यालयमा अध्ययन गरें, जसमा एउटा विषय मात्र नेपाली हुन्थ्यो,” उनी कानून पढ्दाको कठिनाइ सुनाउँदै भन्छिन्, “कानून पढ्दा सबै विषयको नेपालीमा पढाइ हुन्थ्यो। मैले अंग्रजीमा अनुवाद गरेर पढ्नुपर्यो।”
वकीलको लाइसेन्स लिंदा डराएकी थिइन्। नेपालीसँग अंग्रजीमा पनि प्रश्नपत्र भएकाले सजिलो भएको उनले सुनाइन्। “बोलीचालीको भाषाले लेखाइमा पनि असर गर्ने रहेछ। शेर्पा भाषा बोल्ने भएकाले नेपालीमा समस्या हुन्छ,” उनी भन्छिन्, “नेपाली बोल्दा साथीहरूले जिस्क्याउँथे। तर, यसमा कहिल्यै चित्त दुखाइनँ। म आफ्नो भाषालाई सम्मान गर्छु।”
वकालत गर्दा भाषाको समस्या भए पनि सिक्दै गएको उनले बताइन्। “वकालत गर्दा र कानून पढ्दा नेपाली स्पष्ट हुनुपर्छ, तर मेरो बोलीमा नेपाली भाषा स्पष्ट नहुने तथा पढ्न पनि समस्या हुँदा कठिनाइ हुन्छ, आत्मविश्वास पनि कम हुँदो रहेछ,” उनको अनुभव छ।
शहरमा खट्किएको विभेद
हिमाली क्षेत्रका धेरैजसो पुरुषको पेशा नै हिमाल चढ्ने हुन्छ। पुरुषहरू प्रायः आरोहणमा संलग्न हुने भएकाले घर तथा आर्थिक व्यवस्थापनको पाटो महिलाको हातमा हन्छ।
त्यसले महिलालाई आत्मनिर्भर बनाएको उनी बताउँछिन्। “घरसँगै महिलाले एक्लै होटल व्यवसाय चलाएर बसेका छन्। त्यसैले उनीहरू बढी आत्मनिर्भर छन्,” पासाङ सुनाउँछिन्।
उनको परिवारमा पनि सबै कुरा उनकी आमाकै हातमा हुन्छ। घरकै अनुभव सुनाउँछिन्, “मेरी आमाले नै घर समाल्नुहुन्छ। उहाँले नै होटल शुरू गर्नुभएको हो। हाम्रो पढाइदेखि सबै खर्च आमाले नै बेहोर्नुहुन्थ्यो।”
गाउँमा आत्मनिर्भर महिला देखेकी उनले शहरमा भने फरक देखिन्, भोगिन्। झन् पढाइ सकेर वकालतमा जुटेपछि धेरै विभेद महसूस गरिन्। “महिला भएकै कारण विश्वास नगर्ने गरेको महसूस गरें,” उनी भन्छिन्, “काम गर्न नसक्ने जस्तो व्यवहार गर्दा पीडा हुन्छ। तर, आफूलाई कमजोर महसूस गरेकी छैन।”