दुई वर्षपछि कन्सर्ट गर्दै नेपथ्य ब्यान्ड, नयाँ वर्षको दिन दमकमा प्रस्तुति
कोभिड-१९ को महामारीका कारण दुई वर्ष स्टेज कार्यक्रमबाट टाढिएको लोक-रक ब्यान्ड नेपथ्य फेरि साङ्गीतिक प्रस्तुतिका लागि जुटेको छ। त्यसको शुरूआत ब्यान्डले झापाको दमकबाट गर्दै छ। नयाँ वर्षको दिन १ वैशाखमा नेपथ्यले दमकको सरस्वती माध्यमिक विद्यालयको प्राङ्गण सङ्गीतमय बनाउने भएको हो। यसअघि पनि नेपथ्यले उक्त विद्यालयको चौरमा चार हजारभन्दा बढी दर्शकको उपस्थितिमा कार्यक्रम गरेको थियो।
यस पटक पनि उत्तिकै भव्यताका साथ कार्यक्रम गरेर नेपथ्यप्रेमीलाई नयाँपन महसूस गराउने प्रयास गर्ने ब्यान्डको व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठले बताए। दमकमा यो स्टेज कार्यक्रम नेपथ्यको पाँचौं प्रस्तुति हुनेछ।
पछिल्लो पटक कोभिड-१९ महामारीको ठीक अगाडि नेपथ्यले १७ फागुन २०७६ मा काठमाडौंको भृकुटीमण्डपमा कार्यक्रम गरेको थियो। महामारीको दुई वर्षपछि दर्शक-श्रोतासामु उभिन लागेको ब्यान्डका अगुवा तथा मुख्य गायक अमृत गुरुङले यसबीचको सम्पूर्ण समय कास्कीको अनकन्टार डाँडामा रहेको आफ्नो गोठमा किसान भएर बिताएको र त्यो एकान्तवासमा पनि सङ्गीतको अभ्यास जारी राखेको सुनाए। "महामारीले निम्त्याएको तीतो विगतलाई बिसाउन र नयाँ दिनको स्वागत गर्न नयाँ वर्षको दिन दमकमा हुने कन्सर्ट महत्त्वपूर्ण हुने विश्वास छ," उनले भने। कन्सर्टमा सदा झैं नेपथ्यका सार्वकालिक हिट गीतहरूका साथै केही नयाँ प्रस्तुतिको तयारी भइरहेको उनले बताए।
दमकमा यो कन्सर्ट गर्न स्थानीय ‘नेपाली टच’ र ‘ध्रुवतारा स्पोर्टिङ क्लब’ ले तयारी गरिरहेका छन्। कन्सर्टको टिकटको मूल्य रु. एक हजार राखिएको छ। टिकट बिक्री गर्न दमकका साथै काँकडभिट्टा, बिर्तामोड, गौरादह, दुधे, पथरी, लेटाङ, उर्लाबारी, इटहरी, धरान र विराटनगरमा बिक्री केन्द्र राखिएको स्थानीय आयोजकले जनाएका छन्। आयोजकका अनुसार, अनलाइन टिकट थुप्रै डटकम मार्फत खरीद गर्न सकिने व्यवस्था गरिएको छ।