बार अध्यक्षमा घिमिरे दोब्बर मतले अगाडि, कसको मत कति?
नेपाल बार एशोसिएशनको निर्वाचनमा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहबाट अध्यक्षका उम्मेदवार गोपालकृष्ण घिमिरेले अग्रता कायमै राखेका छन्।
बिहीबार मध्याह्नसम्म ३३ केन्द्रको मतगणना भएको छ। अध्यक्षका उम्मेदवार घिमिरले २२१५ मत पाएका छन्। त्यस्तै, प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका तर्फबाट अध्यक्षका उम्मेदवार विष्णुमणि अधिकारीले ११२२ मत प्राप्त गरेका छन्।
प्रमुख निर्वाचन अधिृकत तथा वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार, अहिलेसम्म ३३ केन्द्रको मतगणना सम्पन्न भएको छ। आजदेखि आठ स्थानमा मतगणना भइरहेको छ।
त्यस्तै, अन्य पदमा पनि घिमिरेकै समूहले अग्रता लिएको छ। महासचिवमा अञ्जिता खनालले १९५१ मत पाएकी छन् भने केदारप्रसाद कोइरालाले १३०० मत पाएका छन्।
कोषाध्यक्षमा भरतबहादुर राउतले २१५१ मत ल्याउँदा अर्का उम्मेदवार जगतबहादुर कार्कीले ११७५ मत प्राप्त गरेका छन्।
मङ्गलबार बिहानदेखि मतगणना शुरू भएको हो। आज बिहान ९ बजेदेखि पुनः मतगणना भइरहेको छ।
१९ चैतमा भएको निर्वाचनमा ७४२९ मत खसेको थियो। शुक्रबारसम्म मतगणना सकिने निर्वाचन समितिले जनाएको छ।