गोविन्द बन्दी कानून मन्त्री बन्ने, बडूलाई उद्योग
प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्री बनाउन सिफारिश गरेका छन्।
अधिवक्ता बन्दीलाई कानून मन्त्री नियुक्त गर्न प्रधानमन्त्री देउवाले राष्ट्रपति समक्ष सिफारिश गरेका हुन्। अधिवक्ता बन्दी सांसद छैनन्।
सांसद नभएको व्यक्तिलाई पनि ६ महीना मन्त्री बनाउन पाउने संवैधानिक व्यवस्था रहेको छ। यसरी नियुक्त मन्त्री ६ महीनाभित्र प्रतिनिधि सभा वा राष्ट्रिय सभाको सदस्य हुनुपर्छ।
त्यस्तै, अहिले कानून मन्त्री रहेका दिलेन्द्रप्रसाद बडूलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिन लागिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ।
आजै पद तथा गोपनीयताको शपथका लागि तयारी गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रपतिको कार्यालयलाई पत्राचार गरेको छ।