बारमा घिमिरे समूहको अग्रता, कसको कति मत?
नेपाल बार एसोसिएशनको निर्वाचनमा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको समूहको अग्रता कायमै रहेको छ।
गएरातिसम्म २५ केन्द्रको ३२०३ मतगणना भएको छ। जसमा अध्यक्षका उम्मेदवार घिमिरेले १९९० मत प्राप्त गरेका छन्। त्यस्तै, अर्का उम्मेदवार प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले १००४ मत प्राप्त गरेका छन्।
बार एसोसिएशनका प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार, २५ केन्द्रको मतगणना सम्पन्न भएको छ। बुधबारसम्म ६ स्थानमा गणना भइरहेको थियो भने आजबाट आठ स्थानमा मतगणना गर्ने तयारी छ।
अहिलेसम्म घिमिरेले नेतृत्व गरेको समूहले नै अग्रता लिइरहेको छ। महासचिवमा अञ्जिता खनालले १७६५ मत पाएकी छन् भने अर्का उम्मेदवार केदारप्रसाद कोइरालाले ११५७ मत पाएका छन्।
त्यस्तै, कोषाध्यक्षमा भरतबहादुर राउतले १९२८ मत र जगतबहादुर कार्कीले १०६६ मत पाएका छन्।
मंगलबार बिहानदेखि मतगणना शुरू भएको थियो। बुधबार राति स्थगन गरिएको मतगणना आज बिहान ९ बजेदेखि पुनःप्रारम्भ गरिने भएको छ। शुक्रबारसम्म सम्पूर्ण नतीज आउने गरी मतगणनाको तयारी भइरहेको प्रमुख निर्वाचन अधिकृत पाठकले बताइन्।
१९ चैतमा भएको बारको निर्वाचनमा ७४२९ जनाले मतदान गरेका थिए। बारमा अध्यक्ष सहित २५ जनाको कार्यसमिति रहने व्यवस्था छ।