कसरी बनाइन्छ काठमा किला नठोकी बिस्केट रथ?
भक्तपुरका बासिन्दा पुरानो काठमा किला नठोकी तथा धातुको प्रयोग नगरी बनाइने बिस्का अर्थात् बिस्केट जात्राको रथ निर्माणमा जुटेका छन्।
भक्तपुरको बिस्का जात्राको मुख्य आकर्षण काठले बनेको प्यागोडा शैलीको भैलखः रथ यो वर्ष २७ चैतबाट तानिने भएको छ। यसको निर्माणमा ४० कटेका ६ जनाको समूह दुई महीनादेखि व्यस्त छ।
भैरवनाथको रथ अर्थात् भैलखः भक्तपुरको मंगलाछें थूचोका प्रेमलाल शिल्पकारको नेतृत्वमा बन्न थालेको धेरै वर्ष भइसकेको छ। भैलखः बनाउन आवश्यक जनशक्ति मिलाउने काम पनि शिल्पकारले नै गर्छन्। समूहको नेतृत्व गरिरहेका शिल्पकार नयाँ पुस्ताको अभावमा काम गर्न गाह्रो भएको सुनाउँछन्।
यो उनको पुर्ख्यौली काम सरह भएको छ। बाजेको पालादेखि नै भैलखः बनाउँदै आएका उनले काम गर्न थालेकै ५० वर्ष नाघिसक्यो। “यो काम थाल्दा ११ वर्षको थिएँ। बा, बाजेहरूसँगै आउँथें,” शिल्पकार सम्झिन्छन्, “मैले काम शुरू गर्दा एक दिनको ज्याला ६० पैसा थियो। पोहोर दिनको १५ सय पाएँ।”
यस वर्ष काम शुरू भए पनि ज्याला भने निश्चित भइसकेको छैन। विगतमा झैं युवा पाइएका छैनन्। तैपनि स्थानीय बासिन्दा भैलखः बनाउन व्यस्त छन्। “पुरानो काठमा काम गर्नुपर्ने हुँदा जोकोहीलाई काम गराउन गाह्रो छ,” उनी भन्छन्, “अनुभवी मान्छे नै चाहिन्छ।”
विगतमा बनाएको अनुभव आवश्यक हुने उनी बताउँछन्। किनभने, सबै नयाँ काठको बनाउने होइन। पुराना काठलाई नै मिलाएर बनाउने हो।
बिग्रेका ठाउँमा मात्र नयाँ थप्ने हो। जोकोहीलाई बनाउन गाह्रै हुन्छ। अहिले बनिरहेको भैलखःमा ६५ वर्ष पुराना काठ पनि छन्।
अहिले त उनी जत्तिको जान्ने मान्छे भक्तपुरमा कोही छैन। छोराहरूले पनि यस काममा रुचि देखाएका छैनन्। आफूले बनाउन नसक्ने दिन आउँदा कसले बनाउला भन्ने चिन्ता छ।
त्यस्तै, भैलखः बनाउने काममा ३० वर्षदेखि लागिरहेका छन्, ७५ वर्षीय लालबहादुर तमखू। पुर्ख्यौली पेशा खेतीकिसानी भए पनि उनी भैलखः बनाउने काम गर्दै आएका छन्।
“वर्षको १० महीना त खेतकै काममा व्यस्त हुन्छु, तर यो दुई महीना भने भैलखः बनाउन आउँछु,” उनी सुनाउँछन्, “देवताकै काम हो। यो गर्दा खुशी पनि लाग्छ, रमाइलो पनि लाग्छ। आफूलाई खर्च पनि आउँछ।”
तीन वर्षदेखि भैलखः बनाउँदै आएका छन्, आशबहादुर लाखे घिसिङ देउ। “म आएको तीन वर्ष भयो,” लाखे भन्छन्, “पुराना काठमा काम गर्न गाह्रै हुन्छ। बाउबाजेदेखिको परम्परा हो, गर्नैपर्यो नि।”
भैलखः बनाउन शिल्पकार, चित्रकार, नकर्मी, मानन्धर समुदाय व्यस्त हुन्छन्। सबैको आआफ्नै काम छ। शिल्पकारले भैलखःको संरचना बनाउँछन्। चित्रकारले रङरोगन गर्छन् भने नकर्मीले छत हाल्छन्। मानन्धरले रथको डोरी बाँध्छन्।
भक्तपुरको बिस्का जात्राको मुख्य आकर्षणका रूपमा रहने भैलखः काठले बनेको प्यागोडा शैलीको रथ हो। काठकै पाङ्ग्रा हुने भैलखः तीन तलाको हुन्छ र करीब ३० फिट अग्लो हुन्छ। यसका ४ वटा काठका पाङ्ग्रा करीब १० फिट अग्ला हुन्छन्।
यसलाई बिस्काको पहिलो दिन र अन्तिम दिन भक्तपुरको पाँचतले मन्दिर ङातापोल्हँ अगाडिको चोकमा राखेर तानिन्छ। जात्रा हेर्न नगरका बाटोभरि हजारौंको भीड लाग्छ। भैलखःकै रथ तानेर शुरू हुने बिस्का यही रथको यात्रा सकिएसँगै अन्त्य हुन्छ। जात्रा नयाँ वर्षको चार दिनअघि र चरा दिनपछिसम्म मनाइन्छ।
यो वर्ष भैलखः २७ चैतबाट तानिने भएको छ। जात्राको पहिलो दिनलाई द्यो क्वबिज्याइगु भनिन्छ। जसको अर्थ देउताको सवारी तलतिर हुन्छ भन्ने हो। भक्तपुर नगरको बीच भागमा रहेको टौमढी ङातापोल्हँ मन्दिर अगाडि बनाइने रथलाई पहिलो दिन तल्लो भागतिर लाने भएकाले देवता तल सवारी हुने भनिएको हो।
तीनतले भैरवनाथको रथ बिस्का जात्राको मुख्य आकर्षण रहेको स्थानीय बासिन्दा रामेश्वर गाइजू बताउँछन्। “यस रथमा कुनै पनि धातुको प्रयोग हुँदैन,” गाइजू भन्छन्, “रथ बनाउँदा कुनै पनि ठाउँमा किलो ठोकिंदैन।” रथ बनाउँदा परम्परागत ढङ्गमा बनाइएका काठलाई एकआपसमा साँचो पारेर जोडिने उनले सुनाए।
धेरै जात्रालु रथमा बस्दा बिग्रने भएकाले १४ जना जति मात्र बस्नुपर्ने शिल्पकार सुझाउँछन्। तीन जना पुजारी, दुई जना अगाडिको देउतासँगै, दुई जना पछाडिको देउता हाक्ने ठाउँमा र दुई-दुई जना भैरवको रथको पाङ्ग्रालाई घचेट्न बस्ने गरिएको छ।
आठ रात र नौ दिनसम्म चल्ने जात्रा हेर्न काठमाडौं उपत्यकाका तीनै शहरका जात्रालु आउँछन्। भैरवनाथको रथ तान्ने बाहेक बिस्काको आकर्षण ५५ हात लामो लिङ्गो तान्नु र ढाल्नु पनि हो। जात्राको क्रममा प्रत्येक वर्ष चैत मसान्तमा भेलुखेलमा लिङ्गो उठाउने र १ वैशाखमा ढाल्ने गरिन्छ।