पेट्रोलियम पदार्थको मूल्य बढ्यो, ग्यासको भाउ १६ सय
सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। खाना पकाउने ग्यासको भाउ एक हजार ६ सय पुगेको छ।
नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रति लिटर थप ५ रुपैयाँ बढाएको हो।
नयाँ मूल्य अनुसार, काठमाडौं उपत्यकामा पेट्रोलको प्रति लिटर १६० रुपैयाँ पुगेको छ। त्यस्तै, डिजेल र मट्टीतेल प्रति लिटर १४३ रुपैयाँ पुगेका छन्। यसअघि पेट्रोल १५५ र डिजेल तथा मट्टीतेल १३८ रुपैयाँ थिए।
सबैभन्दा बढी खाना पकाउने ग्यासको मूल्य बढेको छ। प्रति सिलिन्डर २५ रुपैयाँ बढेको छ। अब ग्यास प्रति सिलिन्डर एक हजार ६ सय रुपैयाँ पुगेको छ।
हवाई इन्धनको मूल्य आन्तरिकमा ५ रुपैयाँ बढाएर प्रति लिटर १५६ रुपैयाँ पुगेको छ। त्यस्तै, अन्तर्राष्ट्रिय रूपमा ५० डलर बढाएर प्रति किलोलिटर एक हजार ४४५ अमेरिकी डलर बनाएको छ।
भारतबाट मूल्य बढेर आएकाले नेपालमा पनि भाउ बढाइएको निगमका सहप्रवक्ता पुष्कर कार्कीले जनाएका छन्। यसअघि निगमले २ चैतमा पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।