नेपालले जित्यो त्रिदेशीय शृङ्खला
घरेलु मैदानमा नेपालले त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृङ्खला जितेको छ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा पपुवा न्यूगिनीलाई ५० रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो। नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याउने क्रममा पपुवा न्यूगिनी १६.१ ओभरमा ११८ रनमै समेटियो।
पपुवा न्यूगिनीका लागि सेसे बउले ५९ र चार्ल्स अमिनीले १५ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए। उनले चार ओभरमा १८ रन मात्रै खर्चिए। त्यस्तै, करण केसीले तीन र सन्दीप लामिछानेले दुई विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ६ विकेटको क्षतिमा १६८ रन बनाएको थियो। नेपालका लागि ऐरीले ३८ बलमा पाँच चौकाको मद्दतले ५४ रन बनाए।
त्यस्तै, करण केसीले १३ बलमा एक चौका र एक छक्काको मद्दतले ३३ रन बनाए। आसिफ शेखले २९, कुशल भुर्तेलले २५ र मोहम्मद आदिल आलमले १५ रन बनाए।
पपुवा न्यूगिनीका लागि सेमो कमियाले तीन, चाड सोपर, कबुआ मोइया र रिले हेकुरले एक-एक विकेट लिए।
फाइनल खेलमा ऐरी प्लेयर अफ द म्याच भएका छन्। उनले ५४ रन बनाएका थिए भने चार विकेट लिएका थिए।
त्यस्तै, प्लेयर अफ द सिरिज पनि उनी नै भएका छन्। उनले प्रतियोगितामा २५५ रन बनाए भने सात विकेट लिए।