बीउ नछर्दै धानको मूल्य निर्धारण
बीउ छर्ने समय नहुँदै पूर्वी नेपालका केही जिल्लामा किसानको सहजताका लागि धानको मूल्य तोकिएको छ।
व्यापारीको दैलोमा धान पुर्याउँदा पनि उचित मूल्य नपाउने किसानका लागि एउटा निजी संस्थाले धान रोप्नु अगावै मूल्य निर्धारण गरेको हो। नेपाल कृषि केयर र आरजु राइस मिलले झापा, मोरङ र सुनसरीका किसानलाई सजिलो पार्न आगामी मंसीरमा पाक्ने धानको मूल्य तोकेको छ।
कृषि केयर र मिलले प्रदेश १ को कृषि मन्त्रालयको सहमतिमा विराटनगरमा एक कार्यक्रम आयोजना गरी आगामी मंसीरमा पाक्ने धानको मूल्य प्रति किलो ३० रुपैयाँ तोकेको छ।
कृषि केयरका सञ्चालक सदस्य रामचन्द्र खनालले चिस्यानको मात्रा १८ प्रतिशतसम्म भएको धानको मूल्य तोकिएको बताए। नेपाल सरकारबाट स्वीकृत राम धान वा तेज गोल्ड गरी दुई जातमा मात्रै यो मूल्य लागू हुने उनले बताए। सरकारले यो धानको मूल्य प्रति किलो २८ रुपैयाँ तोकेको छ। बजार मूल्य कम भए ३० रुपैयाँ दिइने र बजारको मूल्य बढेमा त्यसै अनुसार मूल्य लगाइने खनालले बताए।
धानको बीउ लगाउनुअघि नै किसानलाई धान रोज्न सजिलो होस् भनेर मूल्य तोकिएको उनको भनाइ छ। उनले आगामी वर्ष ११ हजार मेट्रिक टन धान खरीद गरिने जानकारी दिए। यी तीन जिल्लाको तीन हजार बिघाभन्दा बढी क्षेत्रफलमा ११ हजार मेट्रिक टन थान फल्ने अनुमान छ।
“किसानले गल्लामा गएर धान दिंदा जति र जहिले रकम दिए पनि मान्नुपर्ने बाध्यता छ, तर हामी किसानलाई धान दिएको दुई दिनभित्र खातामा रकम जम्मा गरिदिन्छौं,” अर्का सञ्चालक सदस्य पीयूष कायस्थले भने।
धान मिलका महाप्रबन्धक विवेकानन्द झाका अनुसार, नेपालमा वर्षमा करीब दुई खर्ब ५० अर्बको धान उत्पादन हुन्छ। तैपनि अपुग भएकाले ५० अर्ब बराबरको धान आयात हुने गरेको छ।
नेपालमा बढीजसो मोटो धान उत्पादन हुन्छ। उपभोक्ताको माग अनुसारको मसिनो चामल उत्पादन कम हुने भएकाले बाहिरबाट आयात हुने गरेको प्रदेश १ कृषि मन्त्रालयका सचिव मेघनाथ तिम्सिना बताउँछन्। “केही राइस मिलहरूले उत्पादन भइरहेको धानको मूल्य तोक्थे, तर यहाँ बाली लगाउनुअघि नै मूल्य तोकिएकाले अन्यत्रका किसानका लागि पनि सकारात्मक सन्देश गएको छ,” उनले भने।