भाजपाको कार्यालयमा कांग्रेस सभापतिको हैसियतले जानुभएको होः मन्त्री खड्का
परराष्ट्र मन्त्री नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा गएको विषयमा भएको आलोचनाको खण्डन गरेका छन्।
प्रधानमन्त्री देउवा तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्कने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले भने, “प्रधानमन्त्रीज्यू कांग्रेस सभापतिको हैसियतले भाजपा कार्यालय जानुभएको हो, यो कूटनीतिक मर्यादा विपरीत छैन।”
मन्त्री खड्काले नेपाल र भारतबीचको सीमा समस्या संवाद र कूटनीति मार्फत समाधान गर्ने विषयमा कुराकानी भएको बताएका छन्। उनले भने, “दुई प्रधानमन्त्रीबीच सीमा सम्बन्धी विषयहरूमा कुराकानी भएको छ।”
प्रधानमन्त्री देउवाले नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा पनि आफूले यो कुरा उठाएको जानकारी दिएका थिए। यसबारे मन्त्री खड्काले भने, “दुई देशबीच स्थापित संयन्त्रहरू मार्फत सीमा सम्बन्धी विषयहरू संवाद र कूटनीति मार्फत समाधान गर्ने कुराकानी भएको छ।”
दुवै प्रधानमन्त्रीको उपस्थितिमा भर्चुअल माध्यमबाट जयनगर-जनकपुर रेल सेवाको सञ्चालन, भारतीय सहयोगमा नेपालमा निर्माण सम्पन्न १३२ केभी सोलु करिडोर ट्रान्समिसन लाइन, स्वास्थ्य क्षेत्रमा निर्माणाधीन १३२ वटा हेल्थ पोस्ट निर्माण कार्य र नेपालमा एसबीआई ब्याङ्कबाट जारी रुपैयाँ कार्ड सञ्चालन सेवाको उद्घाटन एवं प्रगति अवलोकन भएको मन्त्री खड्काले जानकारी दिए।