भरतपुरको मेयर नछोड्ने कांग्रेस चितवनको निर्णय
आगामी स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर नछोड्ने नेपाली कांग्रेस चितवनले निर्णय गरेको छ।
कांग्रेस जिल्ला कार्यसमितिको बैठकले गठबन्धनमा रहेका दलसँग तालमेल गर्दा भरतपुर महानगरको मेयर नछोड्ने निर्णय गरेको हो। “स्थानीय चुनावमा तालमेल गरेरै जान्छौं। तालमेल गर्दा पनि भरतपुर महानगरको मेयर नछोड्ने निर्णय गरेका छौं,” कांग्रेस चितवनका सभापति राजेश्वर खनालले भने।
सत्तारूढ गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र) ले पनि भरतपुर महानगरमा मेयरको दाबी गरेको छ। अहिले माओवादी नेत्री रेणु दाहाल मेयर छिन्। २०७४ को स्थानीय निर्वाचनमा कांग्रेससँगको तालमेलमा दाहाल मेयरमा निर्वाचित भएकी हुन्।
यस पटक भने कांग्रेस चितवनले उम्मेदवार तय नहुँदै मेयर नछोड्ने निर्णय गरेको छ। कांग्रेसले किन मेयर नछोड्ने निर्णय गर्यो?
“हामीले दुई वटा आधारमा भरतपुरको मेयर नछोड्ने निर्णय गरेका हौं,” कांग्रेस सभापति खनालले हिमालखबरसँग भने, “पहिलो, चितवनमा कांग्रेसको राम्रो पकड छ। दोस्रो, कांग्रेस ठूलो पार्टी हो, तालमेल गर्दा पनि ठूलो पार्टीले प्रमुख पद पाउनुपर्छ।”
जिल्ला कार्यसमितिको बैठकमा सहभागी नेताहरूले अघिल्लो पटक माओवादीलाई छोडेकाले यस पटक कांग्रेसले पाउनुपर्ने जिकिर गरेका थिए। यसका लागि केन्द्रमा पनि दबाब दिन उनीहरू एकमत भएका छन्।
अन्य पदमा भने गठबन्धनमा सहभागी दलसँग मिलेर सहमति गरिने सभापति खनालको भनाइ छ। जिल्लाका अन्य स्थानीय तहमा सहमतिका आधारमा जान सकिने कांग्रेसको निष्कर्ष छ।
सत्तारूढ गठबन्धनमा रहेका दलले स्थानीय आवश्यकताका आधारमा तालमेल गर्ने सहमति गरिसकेका छन्। त्यसका लागि स्थानीय तह र प्रदेशलाई जिम्मेवारी दिइएको छ।
महानगर र उपमहानगरमा भने केन्द्रबाटै तालमेल गर्ने गठबन्धनबीच सहमति छ। सबै पार्टीले महानगर र उपमहानगरमा मेयर र उपमेयरको टिकट केन्द्रबाटै दिने तयारी गरेका छन्।