माधव नेपाल सहित १४ सांसद विरुद्धको मुद्दामा २७ चैतमा सुनुवाइ हुने
माधवकुमार नेपाल सहित १४ सांसद विरुद्ध नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दिएको रिटमाथि २७ चैतमा सुनुवाइ हुने भएको छ।
एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) गठन गर्दा अध्यक्ष ओलीले नेपाल सहित १४ सांसदलाई कारबाही गरेका थिए। त्यसलाई मान्यता दिन सभामुख अग्निप्रसाद सापकोटा समक्ष सिफारिश गरेका थिए। तर, सभामुख सापकोटाले कारबाही गर्न नसकिने जवाफ दिएका थिए।
त्यस विरुद्ध अध्यक्ष ओलीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। २९ फागुनमा त्यसमाथि सुनुवाइ गर्दै ईश्वर खतिवडा र कुमार चुँडालको संयुक्त इजलासले पूर्ण इजलासमा सुनुवाइ गर्न आदेश दिएको थियो।
यो मुद्दा आज सुनुवाइका लागि अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा तोकिएको थियो। तर, यसअघि अन्तरिम आदेश दिने वा नदिने भन्ने सुनुवाइमा आफू संलग्न भएको उल्लेख गर्दै न्यायाधीश सुवेदीले हेर्न नमिल्ने जनाए।
जसका कारण आज यस मुद्दामा सुनुवाइ हुन सकेन। यो मुद्दामा न्यायाधीश सुवेदीले २७ चैतमा अर्को सुनुवाइ तोकेका छन्। यसमा अर्का न्यायाधीश सिन्हाले पनि सहमति जनाएका छन्।
अब नेपाल सहित १४ सांसद विरुद्ध परेको मुद्दामा सर्वोच्चको पूर्ण इजलासमा २७ चैतमा सुनुवाइ हुने भएको छ।