मलेशियासँग खेल्दा घाइते भएका कमल ऐरीको शल्यक्रिया
मलेशियासँगको खेलमा घाइते भएका क्रिकेटर कमलसिंह ऐरीको शल्यक्रिया गरिएको छ।
त्रिदेशीय शृङ्खला अन्तर्गत शनिबार मलेशियासँग भएको खेलमा ऐरी घाइते भएका थिए। उनले मलेशिया विरुद्ध दुई ओभर मात्रै बलिङ गरेका थिए।
उनको आज कलंकीस्थित नेपाल नेशनल अस्पतालमा शल्यक्रिया गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। क्यानले प्रेस नोट जारी गरी उनको देब्रे कुमको हड्डीमा लागेको चोटको शल्यक्रिया गरिएको जनाएको छ।
नेशनल अस्पतालका डा. निरज केसी र डा. निरञ्जन सुवेदीको टोलीले शल्यक्रिया गरेको हो। उपचारमा संलग्न चिकित्सकका अनुसार, उनलाई निको हुन ६ हप्ता लाग्नेछ।
मध्यम गतिका बलर २१ वर्षीय ऐरीले दुई वर्षदेखि राष्ट्रिय टोलीबाट खेल्दै आएका छन्। त्रिदेशीय शृङ्खलामा पनि उनको प्रदर्शन राम्रो रहेको थियो। शनिबारको मलेशिया विरुद्धको खेलमा पनि दुई ओभर बलिङ गर्दै २० रन खर्चेर दुई विकेट लिएका थिए।
अहिलेसम्म उनले राष्ट्रिय टोलीबाट तीन वटा एकदिवसीय र १० वटा टी–२० खेल खेलिसकेका छन्।