आयल निगम र व्यवसायीबीच चार बुँदे सहमति, इन्धन अभाव नहुने
पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीहरू आन्दोलन स्थगन गर्न सहमत भएका छन्।
नेपाल आयल निगमसँग शनिबार साँझ चारबुँदे सहमतिपछि उनीहरू आन्दोलन रोक्न सहमत भएका हुन्। पेट्रोलियम विक्रेता कमिशन र एलपी ग्यासको ढुवानी भाडा समायोजन सम्बन्धी माग एक हप्ताभित्र तथा पेट्रोलियम कारोबार सम्बन्धी मागबारे १५ दिनभित्र निष्कर्षमा पुगिने सहमतिमा उल्लेख छ।
चार बुँदे सहमतिपछि शनिबारदेखि नै लाग हुने गरी सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता भएको राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका प्रवक्ता विश्वप्रसाद अर्यालले जानकारी दिए।
आइतबार बिहान ८ बजेदेखि सम्पूर्ण डिपो कार्यालय सञ्चालन हुने उनले बताए।
इन्धन अभाव हुने देखिएपछि शनिबार पेट्रोल पम्पहरूमा उपभोक्ताको लामो लाइन देखिएको थियो।