घर–घर जाऔं माओवादी जिताऔं कसरी भनौंः शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी चुनावमा तालमेल गरेर जाने निर्णयले कांग्रेसलाई जनताको घर दैलोमा गएर भोट माग्न अप्ठ्यारो भएको बताएका छन्।
प्रजातान्त्रिक विचार समाज कास्कीले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै डा. कोइरालाले विचारै नमिल्नै पार्टीसँग तालमेल गरेर जान खोज्दा अत्यन्त गाह्रो भएको बताएका हुन्।
नेपाली कांग्रेसले घर–घर जाऔं कांग्रेस जिताऔं अभियान सञ्चालन गरेको सन्दर्भमा उल्लेख गर्दै उनले भने, “माओवादीले जितेको पालिका वा वडामा घर–घर जाऔं कांग्रेस जिताऔं भन्ने कि घर-घर जाऔं माओवादी जिताऔं भन्ने?”
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन दलहरूको बैठकमा यसअघि माओवादीले जितेका पालिका यो चुनावमा माओवादीले पाउनुपर्ने माग गरेका थिए। दाहाललाई लक्षित गर्दै कोइरालाले भने, “उहाँले भरतपुरलाई मात्रै दिमागमा राखेर भन्नुभयो होला, यदि त्यस्तो हो भने ७५३ मध्ये ५८५ वटा पालिकाको प्रमुख र उपप्रमुखले कांग्रेसले पाउनुपर्छ, सक्नुहुन्छ दिन?”
स्थानीय चुनावमा माओवादीसँग तालमेल गर्दा कांग्रेसलाई दीर्घकालसम्म घाटा पर्ने उनको निष्कर्ष छ। कोइरालाले कार्यक्रममा भने, “अहिले हँसिया हथौडामा भोट हाल भनेर तिनै मतदातालाई भविष्यमा कसरी फेरि रूखमा भोट दिनुस् भन्ने?”