हृदयेश त्रिपाठीको पार्टीले माग्यो उम्मेदवार बन्न व्यक्तिगत विवरण
हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, नेपालले स्थानीय तहको चुनावमा उम्मेदवार बन्न चाहने जुनसुकै व्यक्तिलाई पनि व्यक्तिगत विवरण पठाउन अपील गरेको छ।
प्रगतिशील पार्टीका महासचिव भरतकुमार थापाले प्रेस विज्ञप्ति जारी गरी उम्मेदवार बन्न चाहने व्यक्तिलाई विवरण पठाउन अपील गरेको हो। प्रगतिशील पार्टीले स्थानीय तहमा दलीय आधारमा चुनाव गर्न नहुने जनाएको छ।
स्थानीय तहमा दलीय आधारमा चुनाव गर्दा सक्षम, क्षमतावान् र इमानदार मान्छे जनप्रतिनिधि हुन कठिन हुने जनाएको छ। त्यसैले यसलाई स्वतन्त्र उम्मेदवार बन्न पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ।
त्यसैका लागि कुनै पनि स्थानीय तहमा सक्षम तथा क्षमतावान् व्यक्तिलाई उम्मेदवार बनाउने प्रगतिशील पार्टीले निर्णय गरेको छ। केन्द्रीय समिति बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तहको कर्मठ, विकासकर्मी र प्रगतिशील विचार बोकेका महानुभावले आफ्नो व्यक्तिगत विवरण सहित पार्टीमा सम्पर्क गर्न यो बैठक अपील गर्छ।’
स्थानीय तहमा उम्मेदवारलाई टिकट प्रदान गर्न प्रगतिशील पार्टीले जिम्मेवारी पनि तोकेको छ। प्रदेश १, मधेश र बागमती प्रदेशमा वरिष्ठ उपाध्यक्ष शिवजी यादवलाई र गण्डकी, लुम्बनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा महासचिव ईश्वर दयाल मिश्रलाई टिकट दिने जिम्मेवारी दिएको छ।