तल्लो मोदी जलविद्युत् आयोजनामा तालाबन्दी, काम ठप्प
कामदार र कर्मचारीले तालाबन्दी गरेपछि परीक्षण उत्पादनको अन्तिम तयारीमा रहेको तल्लो मोदी जलविद्युत् आयोजनाकाे काम अबरुद्ध भएकाे छ।
आयोजनामा कार्यरत ४० कर्मचारीले स्वतः स्थायी गर्नुपर्ने लगायतका माग राखेर कुश्मा नगरपालिका–७ स्थित कार्यालयमा तालाबन्दी गरेका हुन् ।
२० जेठदेखि निर्माणकाे काम बन्द गराएका उनीहरुले तीनदिनदेखि विद्युतगृह, हेडबक्स र सुरुङमा भइरहेको निर्माण कार्यसमेत अबरुद्ध पारेका छन् । गराएका छन् ।
निजी क्षेत्रको मोदी ईनर्जी लिमिटेडले निर्माण गरिरहेको २० मेघावाट क्षमताको आयोजनाले असार पहिलो साता परीक्षण उत्पादन थाल्ने तयारी गरेको थियो ।
आयोजनाको टनेल परीक्षणका क्रममा पानी चुहिएका कारण मर्मत भइरहेको छ । कुश्मा नगरपालिका–७ चुवाको परादीस्थित पावरहाउसदेखि मोदी गाउँपालिकाको पातीचौरसम्म खनिएको चार हजार २०० मिटर लामो टनेलको बीचबीचमा कमजोर भू–भाग भेटिएको थियो ।
तालाबन्दीका कारण मर्मतको काम रोकिएको छ । हेडबक्समा ढोका मर्मत गर्ने र परीक्षण गर्ने काम चलेको थियो भने विद्युत्गृहमा जेनेरेटरलगायतका सामग्री जडान र परीक्षणकै क्रममा थिए । कर्मचारीको आन्दोलनका कारण परीक्षण उत्पादन झन् ढिलाइ भएको आयोजना प्रमुख यादवले बताए ।
२०६९ साउनमा निर्माण शुरु गरिएको आयोजनाको उत्पादन लक्ष्य २०७४ असारमा थियो । आयोजनाले प्राकृतिक, मानवीयलगायत कारण देखाउँदै यसअघि धेरैपटक उत्पादन मिति सारेको थियो ।
अघिल्लो असार मसान्तभित्र उत्पादन गर्ने भनिए पनि पूर्वाधारतर्फ काम नसकिएको र टनेलभित्र केही समस्या आएका कारण ढिलाइ भएको आयोजनाले जनाएको थियो ।
आयोजनामा कार्यरत कामदारले स्वतः स्थायी गर्नुपर्ने, प्रभावित क्षेत्रका बासिन्दालाई नै स्थायी रोजगारीको व्यवस्था हुनुपर्ने र विद्युत गृहलगायतका संरचना निर्माणमा पछिल्लो समय राखिएका कर्मचारी र कामदारलाई स्थायी गर्न नपाउने आयोजनासँग माग राखेका छन् ।
आयोजनाले भने कुनै पनि कर्मचारीलाई स्थायी नगरिएको र विद्युत् उत्पादन थालिएपछि प्रक्रिया पूरा गरेर मात्रै स्थायी गर्ने योजना रहेको जनाएको छ।
आयोजना प्रमुख पवनकुमार यादवका अनुसार अहिले परीक्षण उत्पादनको तयारीमा रहेका बेला केही दक्ष कर्मचारीलाई सहयोगीका रुपमा राखेर काम गराइएको तर स्थायी गरिएको छैन ।