आठ वर्षपछि गुड्यो जयनगर-जनकपुर रेल, ७० रुपैयाँ टिकट
नेरोगेज रेल बन्द भएको आठ वर्षपछि जयनगर-जनकपुरमा ब्रोडगेज रेल चलेको छ। शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चअुल रूपमा हरियो झण्डा देखाएसँगै रेल सञ्चालनमा आएको छ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले नयाँ दिल्लीबाट रेलको उद्घाटन गरेका हुन्। भारतको जयनगरबाट गुडेको रेललाई नेपालको कुर्थामा स्वागत गरिएको छ। रेलको स्वागत गर्न स्थानीय बासिन्दा भेला भएका थिए।
आज उद्घाटन भएको रेल सेवा २० चैतबाट नियमित सञ्चालन हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए। उनका अनुसार, रेल दैनिक दुई पटक ओहोरदोहोर गर्नेछ।
भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३४.९ किलोमिटरमा रेल सञ्चालन हुनेछ। जयनगरदेखि महोत्तरीको बर्दिवाससम्म ६९ किलोमिटर रेलमार्ग तीन खण्डमा बनिरहेको छ।
पहिलो चरणमा जयनगर-कुर्था ३५ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिवाससम्म १७ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालन गर्ने योजना छ।
पहिलो पटक १९९४ सालमा इस्ट इन्डिया कम्पनी सरकारले नेपालको जङ्गलबाट काठ लग्नका लागि रेल सेवा विस्तार गरेको थियो। त्यो वेला कोइलाबाट चल्ने रेल नेपाल भित्रिएको थियो।
पछि भारत सरकारले १८ वटा बगी सहित वाष्प इन्जिन सहयोग गरेको थियो। २०५१ सालदेखि स्टिम इन्जिनयुक्त रेल सञ्चालन भएको थियो। तर, २०७० माघ त्यो पनि बन्द भएको थियो।
पछिल्लो पटक रेलमार्ग विस्तार गरिएको छ। अहिले नेरोगेजबाट ब्रोडगेजमा परिणत गरिएको छ।
यसका लागि २ असोज २०७७ मा भारतबाट ८४ करोड ६५ लाखमा दुई वटा रेल खरीद गरिएको थियो। तर, रेगमार्ग पुनर्निर्माण सम्पन्न नहुँदा र अन्य आवश्यक तयारी नहुँदा डेढ वर्षदेखि सञ्चालन हुन सकेको थिएन। अहिले सबै काम पूरा भएपछि पुरानो प्रविधिको रेल विस्थापित गरेर आधुनिक प्रविधिको रेल सञ्चालनमा ल्याइएको हो।
नेपालको कुर्थाबाट भारतको जयनगरसम्म ३४.५ किलोमिटर यात्राका लागि टिकट दर निर्धारण गरिएको छ। जनकपुरधामबाट यात्रा गर्दा जयनगरसम्म सामान्य सीटको ७० रुपैयाँ टिकट तोकिएको छ। एसी भएको सिटको भने ३७० रुपैयाँ टिकट लाग्नेछ।
भारतबाट आउँदा भने केही महँगो पर्नेछ। सामान्य टिकटको ९० रुपैयाँ र एसी भएको सीटको ४५० रुपैयाँ पर्नेछ।