मलेशिया विरुद्ध नेपालको फराकिलो जित
त्रिदेशीय टी-२० शृङ्खलामा नेपालले लगातार चौथो जित हासिल गरेको छ। यससँगै नेपालले फाइनलमा पपुवा न्यूगिनीसँग प्रतिस्पर्धा गर्नेछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले मलेशियालाई ८५ रनले पराजित गरेको छ। नेपालले दिएको २२४ रनको लक्ष्य पछ्याउने क्रममा मलेशिया १९.५ ओभरमा १३८ रनमै समेटिएको हो।
मलेशियाका लागि विरनदीप सिंहले ४७, अहमद फैजले ३३, ऐनुल हफिजले १८ र स्येद अजिजले १७ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।
नेपालका लागि सन्दीप लामिछानेले तीन, कमल ऐरी र दीपेन्द्रसिंह ऐरीले दुई–दुई तथा कुशल भुर्तेल र रोहित पौडेलले एक-एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पाँच विकेटको क्षतिमा २२३ रन बनाएको थियो। नेपालका लागि ऐरीले सर्वाधिक ११० रन बनाए। उनी प्लेयर अफ द म्याच भए।
उनले ५७ बलमा १० चौका र ६ छक्का प्रहार गरे। यससँगै उनी नेपालका लागि एउटै इनिङमा सबैभन्दा बढी रन बनाउने खेलाडी बनेका छन्। यसअघि ज्ञानेन्द्र मल्लले सन् २०१४ मा १०७ रन बनाएका थिए।
त्यस्तै, रोहित पौडेलले अर्धशतक बनाए। उनले ३४ बलमा पाँच चौकाको मद्दतले ५१ रन बनाएका हुन्। आसिफ शेखले १८, मोहम्मद आदिल आलमले १४ र कुशल भुर्तेलले १२ रन बनाए।
मलेशियाका लागि मोहम्मद वाकिफ, पवनदीप सिंह, स्याज्रुल इद्रुस र मोहम्मद अमीरले एक-एक विकेट लिए।
नेपालसँग फराकिलो अन्तरले हारेसँगै मलेशिया फाइनल पुग्नबाट वञ्चित भएको छ। रेन रेटका आधारमा अगाडि रहँदै पपुवा न्यूगिनी फाइलन पुगेको छ। एक-एक खेल जितेका पपुवा न्यूगिनी र मलेशियाको दुई-दुई अङ्क छ।
चारै खेल जितेको नेपालको आठ अङ्क भएको छ। अब सोमबार नेपाल र पपुवा न्यूगिनी फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।