दीपेन्द्रको शतकमा नेपालले बनायो २२३ रन
दीपेन्द्रसिंह ऐरीको शतकमा नेपालले मलेशिया विरुद्धको खेलमा २२३ रन बनाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पाँच विकेटको क्षतिमा २२३ रन बनाएको हो। नेपालका लागि ऐरीले सर्वाधिक ११० रन बनाए।
उनले ५७ बलमा १० चौका र ६ छक्का प्रहार गरे। यससँगै उनी नेपालका लागि एउटै इनिङमा सबैभन्दा बढी रन बनाउने खेलाडी बनेका छन्। यसअघि ज्ञानेन्द्र मल्लले सन् २०१४ मा १०७ रन बनाएका थिए।
नेपालका लागि रोहित पौडेलले अर्धशतक बनाए। उनले ३४ बलमा पाँच चौकाको मद्दतले ५१ रन बनाएका हुन्।
त्यस्तै, आसिफ शेखले १८, मोहम्मद आदिल आलमले १४ र कुशल भुर्तेलले १२ रन बनाए।
मलेशियाका लागि मोहम्मद वाकिफ, पवनदीप सिंह, स्याज्रुल इद्रुस र मोहम्मद अमीरले एक-एक विकेट लिए।
त्रिदेशीय टी-२० शृङ्खला अन्तर्गत फाइनल प्रवेशका लागि मलेशियाले नेपालसँग प्रतिस्पर्धा गरिरहेको छ। नेपाल यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ।