दीपेन्द्रले बनाए टी-२० मा पहिलो शतक
युवा क्रिकेटर दीपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक बनाएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार मलेशिया विरुद्धको खेलमा उनले शतक प्रहार गरेका हुन्। ऐरीले ५५ बलमा शतक प्रहार गरेका हुन्।
उनी टी-२० शतक बनाउने नेपालका चौथो खेलाडी बनेका छन्। यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले शतक बनाएका थिए।
खड्काले २७ सेप्टेम्बर २०१९ मा सिंगापुर विरुद्ध, मल्लले ५ डिसेम्बर २०१९ मा भुटान विरुद्ध र पौडेलले १९ फेब्रुअरी २०२२ मा फिलिपिन्स विरुद्ध शतक प्रहार गरेका थिए।
आजको खेलमा उनले अर्को कीर्तिमान पनि बनाएका छन्। नेपालका लागि एउटै इनिङमा सबैभन्दा बढी रन बनाउने खेलाडी बनेका छन्। आज उनले ५७ बलमा ११० रन बनाए। जसमा १० चौका र ६ छक्का सामेल छन्।
यसअघि यो कीर्तिमान ज्ञानेन्द्र मल्लको नाममा थियो। उनले कीर्तिपुरमै ५ डिसेम्बर २०१९ मा भुटान विरुद्ध १०७ रन बनाएका थिए।