बङ्गुरबाटै बन्न सकिन्छ मल र मासुमा आत्मनिर्भर
झापाको केर्खास्थित कुलुङ बङ्गुर फार्मकै बाटो पछ्याउँदै अहिले त्यस क्षेत्रमा ६५ वटा फार्म खुलिसके। किसानको यस्तो होस्टेमा सरकारले हैंसे गरिदिए दाना, मल र मासु उत्पादन तथा रोजगारी सिर्जनामा देशले फड्को मार्न सक्छ।
कतारमा केही समय बसेर २०५३ सालमा नेपाल फर्केपछि सञ्जीवकुमार राई कोरिया जाने तयारीमा जुटे। यही मेसोमा उनको तीन लाख रुपैयाँ फस्यो। कोरिया उड्ने सपना पूरा भएन। त्यसपछि उनले यहीं बङ्गुरपालन गर्ने सोच बनाए। उनको त्यही सोच आज मेगा परियोजना बन्दै कुलुङ बङ्गुर फार्मका रूपमा उभिएको छ।
लगानी, व्यवस्थापन, कामदार सङ्ख्या र कारोबारका आधारमा नेपालकै प्रमुख बङ्गुर फार्ममध्ये पर्छ, झापाको केर्खास्थित कुलुङ फार्म। २०६१ सालमा स्थानीय जातका नौ वटा बङ्गुरपालनबाट शुरू भएको फार्ममा हाल ११०० वटा माउ बङ्गुर छन्। सञ्चालक राईको निरन्तरको लगावले नै यो उपलब्धि सम्भव भएको हो। उनको फार्ममा ‘क्रस बिड’ र ‘पियुर बिड’ का ड्युरोक, ल्यान्ड्रेस तथा हेमसायर जातका बङ्गुर छन्।
फार्मले नीरोगी पाठापाठी अनि भालेको ‘सिमेन’ उपलब्ध गराउँदै आएको छ। राईका अनुसार, पाठापाठी तथा ‘सिमेन’ बिक्रीबाट मासिक ६५ लाख रुपैयाँ अनिवार्य जुटाउनैपर्छ नत्र बैंकको किस्ता तिर्न र कामदारलाई ज्याला दिनै पुग्दैन। अहिलेसम्म फार्ममा २५ करोडभन्दा बढी लगानी भइसकेको उनी बताउँछन्।
कुलुङ फार्मकै कारण पछिल्ला दिन पूरै केर्खा क्षेत्र बङ्गुरमय बन्दै गएको आभास हुन्छ। हाल यहाँ साना–ठूला गरी ६५ वटाभन्दा बढी बङ्गुर फार्म छन्। यो कृषि पर्यटनका लागि समेत उल्लेख्य ठाउँका रूपमा विकास हुँदै छ जुन प्रदेश १ का लागि निजी स्तरबाट प्राप्त ठूलो उपलब्धि हो। यसमा प्रदेश सरकारले थोरै लगानीमा होस्टेमा हैंसे मात्रै गरिदिए अझ ठूलो उपलब्धि हासिल गर्न सकिनेछ।
नेपालकै लोकप्रिय पाख्रीबासे कालो जातको बङ्गुरका पाठापाठी समेत निजी फार्मबाट वितरण हुने वातावरण बने सरकारले लक्ष्य गरेको बङ्गुरको स्रोत केन्द्र निर्माणमा धेरै ठूलो उपलब्धि हासिल हुन सक्छ।
बङ्गुरको बडेमाको स्रोत केन्द्र
सरकारले स्थापना गरेको पोखरा मालेपाटन तथा पाख्रीबास कृषि केन्द्रको बङ्गुर स्रोत केन्द्रले माग अनुसार पाठापाठी उपलब्ध गराउन सकेको छैन। यस्तो वेला निजी क्षेत्रबाट स्थापित कुलुङ फार्म लगायतले केही हदसम्म माग धान्नमा सघाइरहेका छन्। यद्यपि उक्त फार्मले बङ्गुरका केही विकासे जात मात्रै वितरण गरिरहेको छ।
नेपालकै लोकप्रिय पाख्रीबासे कालो जातको बङ्गुरका पाठापाठी समेत निजी फार्मबाट वितरण हुने वातावरण बने सरकारले लक्ष्य गरेको बङ्गुरको स्रोत केन्द्र निर्माणमा धेरै ठूलो उपलब्धि हासिल हुन सक्छ। नेपालमा पछिल्लो समय ड्युरोक जातको बङ्गुरका पाठापाठीको माग ज्यादै छ।
यसको अधिक सङ्ख्यामा उत्पादन र वितरण गर्न सकिए निजी क्षेत्र तथा राज्य दुवै पक्षले निकै फाइदा उठाउन सक्छन्। नेपालबाट बङ्गुरको मासु निर्यात गर्न पहिले त गुणस्तरीय पाठापाठी उत्पादन गर्ने भरपर्दो स्रोत केन्द्र चाहिन्छ। कुलुङ बङ्गुर फार्मले त्यसतर्फ आफ्नो क्षमता विकास गरिरहेको छ।
मासु उत्पादनको बृहत् कार्यक्रम
नेपालका बुद्धिजीवीहरूले निकै पहिलादेखि भन्दै आएको विषय हो– आयातमुखी अर्थतन्त्रबाट मुलुक समृद्ध बन्दैन। यसका लागि उत्पादन नै पहिलो प्राथमिकता हुनपर्छ। प्रदेश १ बङ्गुरको मासु उत्पादनका लागि उर्वर क्षेत्र हो। बङ्गुरको मासु उत्पादन गर्न उन्नत प्रविधिबाट पाठापाठी तयार पार्नुपर्छ।
बङ्गुर व्यवसायी संघका अनुसार, पछिल्लो समय नेपालमा बङ्गुरको मासु खपत प्रति वर्ष ४० देखि ४५ हजार मेट्रिक टन छ। जनसङ्ख्याका आधारमा यो एकदमै न्यून हो। सात लाख ८० हजार जनसङ्ख्या रहेको सानो मुलुक भुटानमा वार्षिक २१ हजार टन बङ्गुर मासु खपत हुन्छ। भारतबाट मासु आयात गर्ने भुटान नेपालका लागि समेत ठूलो बजार बन्न सक्छ। अहिलेकै आवश्यकताका आधारमा त्यहाँ बङ्गुरको मासु माग भए त्यसलाई धान्न वार्षिक कम्तीमा एक लाख ४० हजार पाठापाठी उत्पादन गर्नुपर्छ।
ठूलो स्वरूपमा खोलिने बङ्गुर फार्महरूले वैकल्पिक मल उत्पादन गर्न सक्छन्। यस्तो उत्पादन सस्तो बनाउन, खेतबारीसम्म पुर्याउन र कृषकहरूलाई निर्भर बनाउन संयन्त्र निर्माण गरिनुपर्छ।
चीन सबैभन्दा धेरै बङ्गुरको मासु खपत गर्ने मुलुक हो। तिब्बतमा वार्षिक १० लाख टनसम्म खपत हुन्छ। यस अनुसार त्यहाँ वार्षिक ७० लाख वटासम्म पाठापाठी चाहिन्छन् जसको आपूर्ति सानातिना फार्महरूबाट सम्भव छैन। यसका लागि गुणस्तरीय पाठापाठी उत्पादन गर्न सक्ने माउ र भालेको विकास अनि निरन्तरता चाहिन्छ।
कृषिबाली उत्पादनमा मलको आपूर्ति
पछिल्लो समय नेपालमा रासायनिक मलको अभाव बर्सेनि सरकारको टाउको दुखाइ बनिरहेको छ। कृषकका नजरमा सरकारले सम्बोधन गर्न नसकेको यही विषय दलहरूका लागि राजनीतिक दाउपेच बनिरहेको हुन्छ। यस्तोमा विज्ञहरूले रासायनिक मलको विकल्प खोज्न सुझाएका छन्।
ठूलो स्वरूपमा खोलिने बङ्गुर फार्महरूले वैकल्पिक मल उत्पादन गर्न सक्छन्। यस्तो उत्पादन सस्तो बनाउन, खेतबारीसम्म पुर्याउन र कृषकहरूलाई निर्भर बनाउन संयन्त्र निर्माण गरिनुपर्छ। प्रदेश सरकारले इच्छाशक्ति देखाए बङ्गुर फार्मलाई मलको महत्त्वपूर्ण स्रोतका रूपमा अघि बढाउन सकिन्छ।
बङ्गुरपालक कृषकका अनुसार, एउटा वयस्क बङ्गुरले प्रतिदिन दुई किलो मल उत्पादन गर्छ। सबै फार्ममा गरी एक करोड बङ्गुर पालिए दैनिक २ करोड किलो मल उत्पादन हुन्छ। यसबाट प्रदेश १ का तराईका जिल्ला झापा, सुनसरी र मोरङमा धान, मकै, गहुँ, आलु लगायत उत्पादनका लागि पर्याप्त मल जोहो हुन सक्छ। कुलुङ फार्मले यसतर्फ पनि ठूलो सम्भावना देखाएको छ।
दाना उद्योगको विकास
कुलुङ फार्मको भ्रमण गर्ने जोकोहीलाई लाग्छ, यतिका बङ्गुरलाई आवश्यक दाना उत्पादन गर्न छुट्टै उद्योग नै चाहिन्छ। यो सत्य पनि हो। अर्थात्, बङ्गुरका ठूला फार्म स्थापनासँगै ठूलै मात्रामा दाना उत्पादन गर्ने उद्योग पनि नभई हुँदैन। दानाको कच्चा वस्तु उपलब्ध गराउन फेरि मकै, गहुँ वा धानको उत्पादन बढाउनुपर्ने हुन्छ। त्यसका साथै बङ्गुरलाई आवश्यक प्रोटिन प्रशस्त मात्रामा पाइने बालीको खेती गरिनुपर्छ। यसैले बङ्गुरको व्यावसायिक विकासले धेरै क्षेत्रको विकासमा योगदान पुग्छ, रोजगारी समेत सिर्जना गरिदिन्छ।
झट्ट हेर्दा कुलुङ बङ्गुर फार्मले व्यक्तिगत रूपमा सञ्चालक राईलाई मात्र फाइदा भएको देखिन्छ। तर, गहिराइमा गएर केलाउँदा उक्त फार्मले थुप्रै सम्भावना उजागर गर्दै धेरैलाई रोजगारी दिएको छ। उनकै कारणले झापाको केर्खामा ६५ वटा बङ्गुर फार्म सञ्चालनमा छन्। कुलुङ फार्ममा २२ जना नियमित र २० जना आंशिक कामदार छन्।
साथै, उक्त फार्मले बङ्गुरको स्रोत केन्द्र, मासु प्रशोधन उद्योग, विदेश निर्यात, मल तथा दाना उत्पादन केन्द्रसम्मका सम्भावना देखाएको छ। अहिले राई भन्छन्, “कोरिया गएको भए हराइने रहेछ, बङ्गुर फार्मले स्वप्नदर्शी बनायो।”