फाइनल समीकरणका लागि नेपाल र मलेशिया भिड्दै
त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तर्गत आज नेपाल र मलेशिया प्रतिस्पर्धा गर्न लागेका छन्।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज मध्याह्न १२ः३० बजे नेपाल र मलेशियाको खेल हुनेछ। नेपाल लगातार चौथो जितका लागि मैदानमा उत्रिनेछ भने मलेशियाले फाइनल प्रवेशका लागि प्रयास गर्नेछ।
नेपाल, मलेशिया र पपुवा न्यूगिनी सम्मिलित त्रिदेशीय शृङ्खलामा नेपाल फाइनलमा प्रवेश गरिसकेको छ। नेपालले अहिलेसम्म खेलको तीनै खेल जितेर ६ अङ्क बटुलेको छ।
त्यस्तै, मलेशिया तीन खेलमा एक जित र दुई हार बेहोर्दै २ अङ्क सहित तेस्रो स्थानमा छ। पपुवा न्यूगिनी चार खेलमा एक जित र तीन हार सहित दुई अङ्क जोडेर रनरेटका आधारमा दोस्रो स्थानमा छ।
नेपालसँग आजको खेल जितेमा मलेशिया फाइनलमा प्रवेश गर्नेछ। हारेमा भने रनरेटका आधारमा पपुवा न्यूगिनी फाइनलमा नेपालसँग भिड्नेछ।
पछिल्लो पाँच प्रतिस्पर्धामा नेपालले चार र मलेशियाले एक खेल जितेका छन्।