त्रिदेशीय शृङ्खलामा पपुवा न्यूगिनीको पहिलो जित
त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृङ्खलामा पपुवा न्यूगिनीले मलेशियालाई पराजित गरेको छ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पपुवा न्यूगिनीले मलेशियालाई आठ विकेटले पराजित गरेको हो। मलेशियाले दिएको १९७ रनको लक्ष्य पपुवा न्यूगिनीले १७.५ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको छ।
पपुवा न्यूगिनीका लागि टोनी उराले अविजित ८६ तथा कप्तान असाद भालाले अविजित ७४ रन बनाए। उराले ३४ बल खेल्दै १० छक्का र दुई चौका प्रहार गरे।
यस्तै, भालाले ५१ बलको सामना गर्दै एक छक्का र आठ चौका हाने। बलिङतर्फ मलेशियाको फाइनल प्रवेशका लागि मुहम्मद वफिक र स्याज्रुल इद्रुसले एक-एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्ता पाएको मलेशियाले ६ विकेटको क्षतिमा १९६ रन बनाएको थियो। मलेशियाका लागि सैद अजिजले सर्वाधिक ६४ रनको योगदान दिए। उनले ३५ बलमा आठ चौका र तीन छक्का प्रहार गरे।
त्यस्तै कप्तान अहमद फैजले ६३ रनको योगदान दिए। उनले ४३ बल खेल्ने क्रममा पाँच चौका र तीन छक्का प्रहार गरे। जुबैद जुल्किफ्लीले २२ बलमा चार चौका र चार छक्का सहित ४६ रन तथा विरनदीप सिंहले १५ बलमा एक चौका सहित १० रन बनाए।
पपुवा न्यूगिनीका काबुआ मोरेआले चार विकेट तथा चाद सोपर र राइली हेकुरले एक-एक विकेट लिए।
फाइनल प्रवेशका लागि मलेशियाले शनिबार नेपालसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल भने यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ।